काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्षको सोही अवधिसम्म ९६ प्रतिशतभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष ११ करोड ९६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २३ करोड ४७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको कुल आम्दानी २२ प्रतिशतभन्दा बढी र कुल खर्च १८ प्रतिशतभन्दा बढी भएको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो भने २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी कुल खर्च गरेको हो ।
दोस्रो त्रैमाससम्म कम्पनीको कुल बीमाशुल्क आम्दानी गत वर्षभन्दा १२ प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आम्दानी गरेको कम्पनीले यस वर्ष २ अर्ब १० करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको हो ।
कुल दाबी भुक्तानी भने गत वर्षभन्दा करीब ४८ प्रतिशत बढी भएको छ । गत वर्ष ६३ करोड २९ लाख रुपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष ९३ करोड ४४ लाख रुपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ छ । शेयर प्रिमियममा १ अर्ब ५३ करोड ३४ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निङ ८५ करोड २ लाख रुपैयाँभन्दा बढी छ । अदर इक्वीटी रकम भने ५५ करोड ३६ लाख रुपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७७ रुपैयाँ २७ पैसा छ ।