काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सर्वसाधारणमा आईपीओ विक्री गरी असार ३० गते बाँडफाँट गरेको कम्पनीले शेयर व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्य गर्न शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
कम्पनीले असार २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि ९६ लाख कित्ता आईपीओ विक्री गरेको थियो । सर्वसाधारणतर्फको आईपीओ ९ लाख ६० हजार आवेदकहरूले १० कित्ताका दरले प्राप्त गरेका छन् । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको छ ।
सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १३६ रुपैयाँ ९१ पैसा थप गरी प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा आईपीओ विक्री गरेको हो । कर्मचारीहरूमा भने कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमै आईपीओ विक्री गरेको छ ।
जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओेमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ ।
उल्लेखित सम्पूर्ण कित्ता शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउनेछ । विक्री प्रबन्धकको समन्वयमा दोस्रो बजारमा शेयर सूचीकृत प्रक्रिया पूरा गर्ने जानकारी कम्पनीले दिएको छ ।