काठमाडौं । शेयर बजार परिसूचक नेप्से सोमवार पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से ७.७५ अंकले घटेर २ हजार ६९८.२८ विन्दुमा झरेको हो ।
गत बिहीवार २७ सय विन्दुमाथि पुगेको नेप्से तेस्रो दिनमै उक्त विन्दुभन्दा तल झरेको हो ।
आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७७ करोडको कारोबार भएको छ ।
शेयर कारोबारका आधारमा आज नेप्सेमा ‘डोजी’ आकृतिको रातो मैनबत्ति चित्र बनेको छ । यसले लगानीकर्ता बजारप्रति अनिश्चय रहेको संकेत देखाएको जानकार बताउँछन् । साथै बजारले दिशा परिवर्तन गर्ने सम्भावनाको पनि संकेत उक्त चित्रले देखाएको छ ।
आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ को घटेको छ । यस्तै, एक कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
१३ ओटा समूहगत सूचकमध्ये ६ समूहको सूचक बढेको छ भने ७ ओटाको घटेको छ । तीमध्ये जलविद्युत समूहको सर्वाधिक ०.७७ प्रतिशत बढेको छ । यस्तै, व्यापार समूहको सर्वाधिक १.५२ प्रतिशत घटेको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समान ९.९९ प्रतिशत बढेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ ।
आज ङादी ग्रुप पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक कारोबार गर्ने सूचीमा दोस्रोमा युनिभर्सल पावर कम्पनी लिमिटेड छ ।