काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ सूचीकृत भएको छ । आईएमई लाइफ इन्स्योरेन्सको कुल ४ करोड कित्ता र नेपाल रिपब्लिक मिडियाको ९६ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब दुवै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवारदेखि कारोबारमा आउनेछ ।
आईएमई लाइफले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूलाई निष्कासन गरेको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २ करोड ८० लाख कित्ता गरेर कुल ४ करोड कित्ता साधारण शेयर सूचीकृत गराएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १७६ दशमलव ५३ देखि ५२९ दशमलव ५९ सम्म ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको स्टक सिम्बोल आईएलआई रहेको छ । साथै कम्पनीले सूचीकरणपश्चात दिनुपर्ने आरटीएस सेवा ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट हुने पनि जानकारी दिएको छ ।
नेपाल रिपब्लिक मिडियाको नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ८४ दशमलव ४७ देखि २५३ दशमलव ४१ सम्म ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूलाई निष्कासन गरेको ४३ लाख ५३ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ५३ लाख २२ हजार कित्ता गरेर कुल ९६ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको छ । कम्पनीको स्टक सिम्बोल एनआरएम रहेको छ । साथै कम्पनीले सूचीकरणपश्चात दिनुपर्ने आरटीएस सेवा एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंबाट हुने जानकारी गराएको छ ।