काठमाडौं। होटेल सारथी प्रालिले साधारण शेयर (आईपीओ) निष्कासन प्रक्रिया शुरू गरेको छ । होटेलले त्यसका लागि विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आईपीओ जारी गर्ने उद्देश्यले नियामकको स्वीकृति लिने प्रक्रिया थालनी तथा निर्गमन प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ । होटेल सारथी धुलिखेलमा आयोजित सम्झौता कार्यक्रममा होटेलका कार्यकारी अध्यक्ष प्रह्लादप्रसाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा होटेलका सञ्चालकहरू, महाप्रबन्धक, विभागीय प्रमुख तथा अन्य कर्मचारी र क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख समीक्षा नेपाल पनि उपस्थित थिइन् । होटेल निकट भविष्यमै पब्लिक कम्पनीमा रूपान्तरण भई जारी पूँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर जारी गर्ने बताइएको छ । आईपीओ जारीपश्चात् कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ पुग्ने बताइएको छ । सम्झौतासँगै होटेल आर्थिक वर्ष २०८२/८३ भित्र पूँजी बजारमा सूचीकृत हुनेछ । यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउने कम्पनीको अपेक्षा छ ।
२०७२ सालमा स्थापना भएको होटेल सारथी तीनतारे होटेल हो । यो निकट भविष्यमै चारतारेमा स्तरवृद्धि हुन लागेको बताइएको छ । होटेलमा एउटा प्रेसिडेन्सियल, ६ ओटा सुइट, ५० ओटा प्रिमियम डिलक्स, २३ ओटा डिलक्स गरी ८० ओटा कोठा रहेको बताइएको छ ।