काठमाडौं। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा शनिवार तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ । सभाले वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।
सभामा ५६ प्रतिशत शेयर सदस्यको उपस्थिति थियो । राष्ट्रियस्तर कार्यक्षेत्र भई ४४ जिल्लामा कार्यक्रम विस्तार गरेको लघुवित्तको चुक्ता पूँजी ७० करोड ८ लाख ५८ हजार ३४५ रुपैयाँ रहेको बताइएको छ । संस्थाको पूँजीकोष ८ दशमलव १५, खराब कर्जा ४ दशमलव ८०, इपिएस १० रुपैयाँ ४८ पैसा, खुद नाफा ७ करोड ३४ लाख २१ हजार ९० रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले जानकारी दिए । १५५ शाखा रहेको संस्थाका १ लाख ७७ हजार ९ सय २ जना सदस्य रहेको बताइएको छ । सभाबाट संस्थापक निर्देशक (प्रोमोटर डाइरेक्टर)मा अर्जुनकुमार सिंह, हरिप्रसाद डुम्रे, जिवमूर्ति पन्त, प्रदिप सिग्देल शर्मा निर्वाचित भएका छन् । यस्तै सर्वसाधारणतर्फ भेषराज रोकाया र विनोद तामाङ चयन भएका छन् ।
साधारणसभामा शेयर सदस्यहरूले राखेको जिज्ञासाका बारेमा संस्थाका अध्यक्ष कृष्णबहादुर थापा तथा कम्पनी सचिव पवनकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत पौडेलले प्रष्ट पारेका थिए ।