काठमाडौं। कुमारी क्यापिटल लिमिटेडको निष्कासन तथा विक्री प्रबन्धकत्वमा आईसिएफसि फाइनान्स लिमिटेडको ७ वर्ष अवधि भएको तथा वार्षिक ९ प्रतिशत ब्याजदरको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ ऋणपत्र आइतवार बाँडफाँट गरिएको छ । प्रति इकाई रू. १ हजार अंकित दरको ३ लाख कित्तामध्ये १ लाख ८० हजार कित्ता ऋणपत्र परिपत्र विधिबाट र १ लाख २० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक प्रक्रियाबाट निष्कासन तथा विक्री खुला गरिएको थियो ।
परिपत्र विधिमार्फत १ लाख ८० हजार कित्ता ऋणपत्र निष्कासन गरिएकोमा प्राप्त आवेदकबाट ३ लाख कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएकोमा समानुपातिक रूपमा ऋणपत्र बाँडफाँट गरिएको बताइएको छ । त्यस्तै सर्वसाधारणतर्फको १ लाख २० हजार कित्तामध्ये सामूहिक लगानी कोषको लागि छुट्ट्याइएको ६ हजार कित्ता बाँडफाँट गरी बाँकी रहेको १ लाख १४ हजार कित्ता ऋणपत्र सर्वसाधारणमा बाँडफाँट गरिएको बताइएको छ ।
गत माघ ९ देखि १३ गतेसम्म विक्री खुला गर्दा सर्वसाधारणतर्फ ७ हजार २४७ आवेदकबाट ६ लाख ३१ हजार ३५७ कित्ता ऋणपत्रको लागि आवेदन पर्न आएकोमा गोला प्रथा विधिद्वारा ४ हजार ५६० आवेदकलाई १ लाख १४ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको बताइएको छ ।