काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म खुद नोक्सानीमा रहेको समाज लघुवित्त वित्तीय संस्था लिमिटेड दोस्रो त्रैमाससम्म खुद नाफा गर्न सफल भएको छ ।
पहिलो त्रैमाससम्म ४२ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको यो कम्पनीले दोस्रो त्रैमाससम्म भने १२ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा ५१ लाख ३० हजार रुपैयाँ थियो ।
यस वर्ष कम्पनीको सम्भावित जोखिम शीर्षकमा १ करोड ३७ लाख रुपैयाँभन्दा बढी रहेको छ । यो रकम गत वर्ष यस अवधिसम्म ३ करोड ३१ लाख रुपैयाँभन्दा बढी थियो । गत वर्ष दोस्रो त्रैमाससम्म २ करोड ३० लाख रुपैयाँभन्दा बढी सञ्चालन घाटामा रहेको कम्पनीको यो घाटा ९५ लाख ३१ हजार रुपैयाँमा खुम्चिएको छ ।
हाल यो कम्पनीको चुक्तापूँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ छ भने जगेडा कोष रकम २ करोड ७८ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २७ करोड १८ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ४४ करोड ३७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म १३ करोड ३७ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।
निष्क्रिय कर्जा गत वर्ष ४ दशमलव ४८ प्रतिशत रहेकोमा यस वर्ष ४ दशमलव ९० प्रतिशत कायम भएको छ । यो कम्पनीको प्रतिशेयर नेटवर्थ भने २२२ रुपैयाँ २ पैसा छ । कम्पनी ५ पैसा प्रतिशेयर नोक्सानीमा रहेको देखिन्छ ।