काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले पुस २९ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली ब्यांक्वेट, भटभटेनी, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले कर समेत ६ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रूपैयाँको आधारमा नगद लाभांश वितरण गर्न लागेको हो । नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
कम्पनीले गत वर्षको भन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उल्लेखित प्रस्तावसँगै सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिला सहित ३ जना सञ्चालकको निर्वाचन पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।