काठमाडौं । स्रोत अभावबीच सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट ठूलै आकारको ल्याउने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले नयाँ आवका लागि जेठ १५ गते संघीय संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ ।
अर्थमन्त्री वर्षमान पुनले करीब साढे १९ खर्ब रुपैयाँको बजेट मंगलवार पेश गर्ने गरी तयारी भएको बजेट निर्माणमा सहभागी अर्थ मन्त्रालयका उच्च अधिकारीहरूले आर्थिक अभियानलाई बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले यसअघि १८ खर्ब रुपैयाँको बजेट सिलिङ दिए पनि सरकारले त्योभन्दा ठूलो आकारको बजेट ल्याउने तयारी गरेको हो ।
सत्तारूढ गठबन्धनको न्यूनतम साझा कार्यक्रममा परेकासहित केही लोकप्रिय र महत्त्वाकांक्षी योजना तथा कार्यक्रम समेटेर मन्त्री पुनले बजेट सार्वजनिक गर्ने अर्थका ती अधिकारीको भनाइ छ । केही वर्षयता सरकारले बजेटको मध्यावधि समीक्षा गर्दा विनियोजित बजेटको आकार नै घटाउने गरेको छ । लक्ष्यअनुसार राजस्व नउठ्ने र खर्च पनि गर्न नसक्ने हुँदा बजेटको आकार संशोधन गर्ने गरिएको छ । चालू आव २०८०/८१ मा १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याइएकोमा सरकारले पुससम्मको अवस्था हेरेर उक्त विनियोजन २ खर्ब २० अर्ब रुपैयाँ जतिले घटाएर १५ खर्ब ३० अर्ब रुपैयाँ कायम गरेको थियो । आइतवारसम्म १२ खर्ब रुपैयाँ पनि बजेट खर्च नभएको महालेखा नियन्त्रकको कार्यालयले बताएको छ ।
देशको अर्थतन्त्रमा शिथिलता छाएका बेला सरकारले राजस्व पनि लक्ष्यअनुसार उठाउन सकेको छैन । बजेटको मध्यावधि समीक्षामा राजस्व लक्ष्य १४ खर्ब २२ अर्ब रुपैयाँबाट घटाएर १२ खर्ब २ अर्ब रुपैयाँ कायम गरेको छ । अर्थतन्त्रमा शिथिलतासँगै आयातमा आएको कमीका कारण भन्सारबाट प्राप्त हुने राजस्वमा असर परेको छ । आन्तरिक आर्थिक गतिविधिबाट प्राप्त हुने राजस्व पनि प्रभावित भएको छ । चालू आवमा ३ दशमलव ९ प्रतिशतले अर्थतन्त्र विस्तार हुने सरकारको अनुमान छ ।
अर्थतन्त्र शिथिल भएका बेला ठूलो आकारको बजेटले आर्थिक बोझ मात्रै थपिने पूर्वमुख्यसचिव विमल कोइराला बताउँछन् । ‘पहिले म पनि बजेटको आकार बढ्दै जानुपर्छ भन्ने मान्यता राख्थें, तर अहिले देशको अर्थतन्त्रको अवस्था हेर्दा र लगानीकर्ताको आत्मबल नै कमजोर बनेका बेलामा पोहोरकै हाराहारीमा बजेट ल्याउनु उपयुक्त हुन्छ,’ कोइरालाले भने ।
अर्थतन्त्र सुस्त भएका बेला सरकारी खर्च बढाएर अर्थतन्त्रलाई गति दिन बजेटको आकार बढाउने गरिन्छ । तर, सरकारले भएको बजेट पनि खर्च गर्न नसकिरहेको पृष्ठभूमिमा ठूलो बजेट ल्याउँदैमा त्यसले अर्थतन्त्र सुधारमा मद्दत गर्छ भन्ने नभएको कोइरालाले बताए ।
लक्षित राजस्व उठाउन संघर्षरत सरकारले सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति लिने सरकारी अधिकारीले बताएका छन् । तर, खर्च कटौती कार्यक्रम पनि देखाउनका लागि मात्र ल्याए जस्तो देखिएको छ । सरकारले विगतमा खर्च कटौतीका कार्यक्रम सार्वजनिक गरे पनि त्यसबाट देखिने नतिजा आएको छैन । बरु अनावश्यक खर्च कटौती गर्ने भनेको सरकारले अनावश्यक नियुक्तिलगायत ढुकुटीको पैसा खर्च हुने कामहरू गरेको देखिन्छ ।
सरकारले लोकरिझ्याइँका कार्यक्रमलाई पनि निरन्तरता दिने सम्भावना छ । बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुन: संरचना गरेर अघि बढाउने, आगामी वर्ष सातै प्रदेशमा रोजगार मेला सञ्चालन गर्ने, प्रधानमन्त्री छोरी कार्यक्रमलाई समेत बजेटमा स्थान दिइने अर्थका अधिकारीले बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सञ्चालन हुने प्रधानमन्त्री छोरी कार्यक्रमका लागि पनि ठूलो बजेट दिनुपर्ने छ । सरकारले राष्ट्रिय गौरवका र रूपान्तरणकारी योजनालाई बजेटमा प्रमुख प्राथमिकता दिँदै छ भने आयोजना बैंकलाई कडाइका साथ लागू गर्ने घोषणा पनि बजेटमा गर्ने तयारी छ । यो वर्ष कायम रहेको स्रोतको दबाबलाई दृष्टिगत गर्दै कर्मचारीको तलब वृद्धि नगर्ने बरु महँगी, प्रोत्साहन भत्ता बढाएर उनीहरूको गुनासो सम्बोधन गर्न खोजिएको स्रोतले बतायो ।
अर्थ मन्त्रालयका अनुसार संसदीय क्षेत्र विकास कार्यक्रमकै ढर्रामै आआफ्नो निर्वाचन क्षेत्रमा संसद्हरूको सिफारिशमा खर्च गर्ने गरी बजेट छुट्ट्याइँदै छ । यसअघि संसदीय क्षेत्र विकास कार्यक्रम लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । वृद्धभत्ता प्राप्त हुने उमेर ६८ बाट ७० वर्षसम्म पुर्याउन, सय वर्ष पुगेका ज्येष्ठ नागरिकलाई हाल पाइरहेको सुविधाभन्दा बढी दिनेबारे रातिसम्म अर्थ मन्त्रालयमा छलफल भएको थियो ।
अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार सरकारले करको दायरा विस्तार गर्ने तयारी गरेको छ । डिजिटल प्लेटफर्ममार्फत भइरहेको व्यापारलाई करको दायरामा ल्याउने र विलासी वस्तुमा कर बढाउने सरकारको तयारी छ । मदिरा तथा सुर्तीजन्य वस्तुदेखि विद्युतीय गाडीमा सीमा तोकेर कर बढाउनेबारे अर्थ मन्त्रालयमा अबेरसम्म छलफल चलेको थियो । नयाँ क्षेत्रअन्तर्गत हरित करदेखि सूचनाप्रविधि (आईटी) उद्योगलाई सहुलियत घोषणासम्म गरिँदै छ । स्टार्टअप सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई निरन्तरता दिँदै त्यस्तालाई आयकरमा छूटको व्यवस्था बजेटले गर्दै छ । नयाँ उद्योग दर्तामा सहजीकरण गर्न हाल रहेको एकद्वाार प्रणालीलाई थप व्यवस्थित गर्ने, देशका विभिन्न ठाउँमा सेज स्थापनादेखि औद्योगिक ग्राम स्थापना गर्नेबारे विषयलाई बजेट सम्बोधन गर्न लागेको बजेट निर्माणमा सहभागी उच्च अधिकारीहरूको दाबी छ ।
बजेटमा सहकारी तथा लघुवित्तका समस्या हटाउन कोष स्थापना गर्नेदेखि ऋण लिएकालाई समेत केही सहुलियतको व्यवस्था गर्न खोजिँदै छ । सीमा तोकेरै सहकारी तथा लघुवित्तबाट लिएको ऋण मिनाहा गर्ने विषय बजेटमा राख्नेबारे पनि अबेरसम्म छलफल भएको बजेट निमार्णमा सहभागी सरकारी अधिकारीले बताए ।
यस्तो छ बजेटको इतिहास
बजेटको इतिहास हेर्ने हो भने प्रधानमन्त्री मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारको पालामा तत्कालीन अर्थमन्त्री सुवर्णशमशेर राणाले ५ करोड २५ लाख २९ हजार रुपैयाँको पहिलो बजेट ल्याएका थिए । नेपालको बजेट शुरू गरेका पहिलो अर्थमन्त्री सुवर्णशमशेरले आयकर, सम्पत्ति करजस्ता सरकारी आम्दानीको स्थायी स्रोतको व्यवस्था गरेका थिए । उनले नेपालको आफ्नै मुद्रा चलाउने, विनिमय दर निर्धारण गर्ने, शैक्षिक क्रान्तिका लागि एकै वर्षमा मुलुकभर १ हजार ६ सयभन्दा बढी विद्यालय स्थापना गर्न बजेटमार्फत रकम व्यवस्था गरेका थिए ।
नेपालमा पछिल्ला वर्षहरूमा ठूलो बजेट बनाउने होड चलेको छ । बजेटमा कार्यक्रम राखिए पनि तिनको सही कार्यान्वयन हुने गरेको छैन । ठूलो आकारको बजेट बनाउने होड हेर्ने हो भने पछिल्ला १२ वर्षलाई मात्रै नियाल्दा पुग्छ । आव २०६८/६९ का लागि तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले २०६८ असार ३१ गते ३ खर्ब ८४ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । आव २०७५/७६ मा बजेटको आकार बढेर १३ खर्ब १५ अर्ब तथा २०७९/८० मा १७ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको थयो । चालू आव २०८०/८१ को बजेट भने अघिल्लोभन्दा सानो छ । यो वर्ष सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । बजेटको आकार बढे पनि खर्चको अनुपात त्यति बढ्न सकेको देखिँदैन ।