काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बिहीवारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासनमा ल्याउने गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको हो ।
कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरले हुन आउने २ लाख २५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा आमसर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । बाँकी रहेको शेयरमध्ये कम्पनीका कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई १ लाख १२ हजार ५०० कित्ता बाँडफाँट गरी १८ लाख ४५ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।
सर्वसाधारण लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागबमोजिम आवेदन प्राप्त नभएमा भने चैत ७ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा जारी भएको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको छ । यस आधारमा कम्पनीको आईपीओ फागुन २६ गतेसम्म मात्र निष्कासनमा रहने निश्चित छ ।
लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकको कार्यालयसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत समेत आवेदन दिन पाउने व्यवस्था छ ।
साथै मेरो शेयर अनलाइनसमेत आवेदनका लागि प्रयोग गर्न सकिनेछ । कम्पनीको आईपीओ निष्कासन प्रयोजनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी रेटिङ्ग प्रदान गरेको छ । रेटिङले कम्पनी वित्तीय रूपमा कति बलियो छ भन्ने संकेत गर्छ । इक्रा नेपाललले इक्रा एनपी इस्यूअर त्रिपल ए देखि इक्रा एनपी इस्यूअर डीसम्मको रेटिङ प्रदान गर्दै आएको छ । जसमा इक्रा एनपी इस्यूअर त्रिपल ए रेटिङले बलियो आधारको संकेत गर्छ भने इक्रा एनपी इस्यूअर डी रेटिङले कमजोर आधारको संकेत गर्छ ।
कम्पनीको परिचय :
कम्पनी ऐन, २०६३ बमोजिम यो कम्पनी २०७९ पुस १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रूपमा दर्ता भएको थियो । लघु जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका लागि बीमा ऐन, २०७९ तथा बीमा नियमावली, २०४९ अनुसार भने २०७९ चैत २८ गते कम्पनीले लघु जीवन बीमा कम्पनीको लाइसेन्स प्राप्त गरेको हो ।
नेपाल बीमा प्राधिकरणले लघु जीवन बीमा कम्पनीको लाइसेन्स प्रदान गरेपछि २०८० जेठ ८ गतेदेखि यो कम्पनीले औपचारिक रूपमा कारोबार सञ्चालन गर्दै आएको छ । कम्पनीको रजिस्टर्ड कार्यालय वीरेन्द्रनगर, सुर्खेत जिल्लामा रहेको छ । केन्द्रीय कार्यालय सुर्खेत जिल्लामा रहेको कम्पनीको ललितपुर जिल्लामा प्रादेशिक कार्यालयसहित २३ ओटा शाखा तथा उपशाखा कार्यालयमार्फत नेपालभर आफ्नो सेवा विस्तार गरेको छ ।
पूँजी संरचना :
अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँ छ । कम्पनीले नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स प्राप्त गर्दाको समयमा सर्वसाधारणका लागि ३० प्रतिशत आईपीओ जारी गर्ने शर्त राखेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी ५२ करोड ५० लाख रुपैयाँ छ । संस्थापकतर्फ ७० प्रतिशत पूँजी कायम गरि अघि बढेको कम्पनीले दोस्रो वार्षिक साधारण सभा गर्नुअघि नै सर्वसाधारणमा आईपीओ जारी गरिसक्नुपर्ने बाध्यात्मक अवस्था छ ।
कम्पनी सञ्चालनको करीब दुई वर्ष हुन लाग्दा सर्वसाधारणतर्फको पूँजी कायम गराउने तयारीमा कम्पनी जुटेको हो । सर्वसाधारणतर्फको सम्पूर्ण कित्ता आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी प्राधिकरणले तोकेबमोजिम ७५ करोड रुपैयाँ कायम हुनेछ ।
आईपीओबाट प्राप्त पूँजी कम्पनीले सरकारी ऋणपत्र तथा बचतपत्र, बैंक तथा वित्तीय संस्थाबाट जारी भएको ऋणपत्र, बण्ड, साधारण शेयरसँगै नागरिक लगानीकोष, म्युचुअल फण्ड र मुद्दती निक्षेपमा लगानी गर्ने बताएको छ ।
वित्तीय अवस्था :
यो कम्पनी नाफामै सञ्चालनमा रहेको छ । आर्थिक वर्ष ०७९/८० को वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ३९ लाख ५२ हजार रुपैयाँ सञ्चित नाफामा रहेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८६ पैसा र प्रतिशेयर आम्दानी ८६ पैसा छ ।
गत आर्थिक वर्ष ०८०/८१ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित मुनाफा ८८ करोड ५५ लाख रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षभित्र भने कम्पनीले २ करोड ६९ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । करीब दुई वर्षको सञ्चालन अवधिका कम्पनीले आफूलाई लघु बीमा बजारको क्षेत्रमा प्रतिस्पर्धीहरूबीच सबल कम्पनीको रूपमा उभ्याउन सफल बनेको छ । कुल लघु बीमा बजारको करीब ५८ प्रतिशत हिस्सा यस कम्पनीले ओगट्न सफल बनेको उल्लेख गरेको छ ।
सञ्चालक समिति :
कम्पनीको नियमावलीमा संस्थापकतर्फबाट चार जना र सर्वसाधारणतर्फबाट २ जनासँगै एक जना स्वतन्त्र सञ्चालक गरी कुल ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ । सर्वसाधारणतर्फको स्वामित्व कायम गर्न बाँकी रहेको अवस्थामा हाल कम्पनीमा पाँच सदस्यीय सञ्चालक समिति रहेको छ ।
ऋषि राज मोर अध्यक्ष रहेको कम्पनीमा सञ्चालकहरूमा भने मुदुला सरिया, रोहित करण बैद्य, विदुर पुरी र पवित्र लाल चुक्रे रहेका छन् । पवित्र लाल चुक्रे भने स्वतन्त्र सञ्चालकका रूपमा रहेका हुन् । कम्पनीको उच्च व्यवस्थापनतर्फ प्रमुख कार्यकारी अधिकृतमा प्रताप मान श्रेष्ठ र नायब प्रमुख कार्यकारी अधिकृतमा अभिजित केसी रहेका छन् । प्रमुख वित्तीय अधिकृतको जिम्मेवारीमा भने मनोज पन्थ रहेका छन् ।
पहिलो कारोबार मूल्य कति ?
प्राथमिक बजारमा लगानीकर्ताहरूले प्रतिकित्ता १०० रुपैयाँमा खरीद गर्न पाउने कम्पनीको आईपीओ दोस्रो बजारमा कारोबारयोग्य भएपछिको मूल्य भने धितोपत्र दोस्रो बजार सञ्चालकले निर्धारण गर्नेछ ।
हाल नेपालमा एकमात्र धितोपत्र दोस्रो बजार सञ्चालकको रुपमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालनमा रहेको छ । नेप्सेले हालको व्यवस्था बमोजिम कुनै पनि कम्पनीको आईपीओ सूचीकृतपछि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबार मूल्य तोक्ने गर्दछ । नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो कारोबारका लागि तोक्ने गरेको छ ।
यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८६ पैसा रहेको छ । यस आधारमा दोस्रो बजारमा सूचीकृतपछिको कम्पनीको पहिलो कारोबार मूल्य प्रतिकित्ता १०० रुपैयाँ ८० पैसादेखि अधिकतम ३०२ रुपैयाँ ५८ पैसासम्मको मूल्य रेञ्ज कायम हुनेछ । पहिलो कारोबारपछिको मूल्य भने बजारमा लगानीकर्ताको माग र आपूर्तिका आधारमा निर्धारण हुनेछ ।