काठमाडौं । चितवनको एक अडिट फर्मले आन्तरिक राजस्व विभागको करदाता पोर्टलमा अनधिकृतरूपमा 'लग-इन' गरी राजस्व रकममा हेरफेर गरेको पाइएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी उपरीक्षक सुदीप राज शाहीका अनुसार काठमाडौंमा रहेको एक कम्पनीको भ्याट इन्ट्री गर्ने उक्त अडिट फर्मले राजस्व रकममा करोडौंको हेरफेर गरेको हो । ‘कुनै फर्मको ६ करोड रुपैयाँ राजस्व बुझाउनुपर्नेमा १३ करोड रुपैयाँ बनाएको पाइयो,’ प्रहरी उपरीक्षक शाहीले भने ।
उक्त अडिट फर्मले काठमाडौंको कम्पनीको ‘युजर नेम’मा एउटा लेटर चेन्ज गरी अर्को करदाताको सिस्टममा छिरेको अनुसन्धानबाट देखिएको कार्कीले बताए । ‘एउटा लेटर ‘चेन्ज’ हुँदाखेरी अर्काे करदाताको सिस्टममा छिर्याे । र, म्यानुपुलेट गर्यो,’ उनले घटनाबारे सुनाए ।
त्यसपछि वास्तविक करदाताले कर अपडेट गर्न नसकेको र यसको जाँचबुझका लागि निवेदन दिएको उनले बताए ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उक्त अडिट फर्ममा कार्यरत दुई जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक शाहीका अनुसार पक्राउ पर्नेहरूमा सन्तोष पराजुली र पुरिन पाण्डे छन् । उनीहरूलाई दुई दिनअघि पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।