काठमाडौं । पछिल्लो समय नेपालको आन्तरिक तथा बाह्य उडानमा यात्रु सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । नेपालको पर्यटन क्षेत्रमा भएको सुधारले अन्तरराष्ट्रिय उडानमा यात्रुको सङ्ख्या बढेको सम्बद्ध स्रोतले बताएको छ । आन्तरिकतर्फ हवाई यात्रुको सङ्ख्या बढ्नुमा भने सडकको अवस्था राम्रो नहुनु पनि एक भएको बताइएको छ । सन् २०१७ जनवरीमा २ हजार ६ सय ६७ उडानबाट ३ लाख १८ हजार ८ सय ३८ यात्रुले अन्तरराष्ट्रिय उडानबाट यात्रा गरेका थिए ।
यो सङ्ख्या अप्रिल महीनामा आइपुग्दा २ हजार ८ सय ७ उडानबाट ३ लाख ५६ हजार २ सय ६२ जना पुगेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द पाण्डेले जानकारी दिए । जनवरीको तुलनामा अप्रिलको अन्तरराष्ट्रिय उडानमा झण्डै ३८ हजारभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् ।
यसैगरी आन्तरिक उडानतर्फ पनि यात्रुको सङ्ख्या उल्लेख्य वृद्धि भएको विमानस्थलले बताएको छ । जनवरीदेखि मार्चसम्मको तथ्याङ्कअनुसार ३ महीनामा १९ हजार ३ सय ३४ उडानबाट झण्डै ५ लाख यात्रुले यात्रा गरेका छन् । विमानस्थलका अनुसार जनवरीमा १ लाख ४८ हजार ६ सय ८६ जना, फेब्रुअरीमा १ लाख ५३ हजार ८ सय ५५ र मार्चमा १ लाख ९३ हजार आन्तरिक यात्रुले हवाई यात्रा गरेका छन् । यो सङ्ख्या २०१६ को सोही अवधिमा ३ लाख ३७ हजार १ सय २६ मात्र थियो । सन् २०१६ को पहिलो ३ महीनाको तुलनामा सन् २०१७ को सोही अवधिमा यात्रा गर्ने आन्तरिक हवाई यात्रुको सङ्ख्या १ लाख ५८ हजार ६ सय ८४ बढी छ ।
पछिल्लो समय विभिन्न जिल्ला जाने सडकको अवस्था राम्रो नभएकाले सर्वसाधारणले बाध्य भएर हवाई यात्रा गर्नुपरेको छ । साथै, आन्तरिक उडानमा विमान कम्पनीहरू थपिनु र भएका कम्पनीहरूले सेवा विस्तार गर्नुका अतिरिक्त नेपालीको क्रयशक्ति बढेका कारण पनि आन्तरिक उडानमा यात्रु सङ्ख्या बढेको हुनसक्ने महाप्रबन्धक पाण्डेले बताए । उनका अनुसार पछिल्लो केही समयदेखि देशलाई राजधानीसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको नारायणगढ–काठमाडौं सडकखण्डअन्तर्गत काठमाडौं–मुग्लिङ सडकखण्डको स्तरोन्नति गर्ने काम भइरहेकाले जाम तथा पछिल्लोपटक निरन्तर गइरहेको पहिरोका कारण पनि हवाईयात्रुको चाप बढेको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.