आर्थिक क्रियाकलापमा वृद्धि तथा अर्थतन्त्र चलायमान हुनु आर्थिक गतिशीलता हो । यसमा नागरिकको बचतदेखि उपभोगसम्मको अनुपातमा वृद्धि हुन्छ । त्यस्तै वित्त, मौद्रिक, संरचनात्मक र बाह्य क्षेत्रसहित आर्थिक नीतिका चार अंग बीचको सुमधुर सम्बन्ध कायम रहेको हुन्छ । नागरिक र उसको व्यवहार, घरपरिवार, व्यवसाय, वित्तीय क्षेत्र, सरकार र बाह्य क्षेत्रको भूमिका आर्थिक गतिशीलताका लागि महत्त्वपूर्ण हुन्छ । माग र आपूर्ति बीचको सन्तुलन, करका दरको कटौती, सार्वजनिक खर्च विस्तार, न्यून ब्याजदर, व्यवसायमैत्री वातावरण, सामाजिक सुरक्षाका साथै वित्तीय अनुशासन आर्थिक गतिशीलताका लागि आवश्यक तत्त्व हुन् । आर्थिक गतिशीलता वृद्धि गर्ने कार्यमा लघुवित्त र सहकारी संस्थाहरूको योगदान आवश्यक हुन्छ । हाल नेपालमा देखिएका समस्या, समाधान, सुशासन र लघुवित्त सेवाकोे थप प्रवर्द्धनका लागि सरकारकोे भूमिका बारेमा यस आलेखमा चर्चा गरिएको छ ।
आर्थिक मन्दी र प्रभाव
अहिले देशभित्र आर्थिक गतिशीलताको अभाव देखिएको छ । परिवारको मुख्य व्यक्तिदेखि सरकार प्रमुखसम्म, स्तरअनुसार देशभित्र आर्थिक क्षेत्रको नेतृत्व गर्ने सबैको चिन्ता, चासो र छलफलको विषय बनेकोे छ यो समस्या । परिवारमा रोजगारी गुम्यो । व्यापार भएन, उत्पादनले बजार र उपयुक्त मूल्य पाएन । भान्सा महँगो भयो, । व्यक्तिलाई घरखर्च चलाउन र सरकारलाई देश चलाउन बजेट पुगेन । सञ्चालन खर्च वृद्धि हुँदै गएको छ । पूँजीगत खर्च घट्दै गएको छ । वार्षिक बजेटको ठूलो हिस्सा ऋणको ब्याज र दैनिक खर्चको भुक्तानीमा प्रयोेग भएको छ । सरकारले कोभिड बीमाको क्षतिपूर्ति दिन सकेन । निर्माण कम्पनी तथा ठेकेदारहरूले भुक्तानी पाएनन् । भ्रष्टाचार बढ्यो । राजस्वछली तथा तस्करी वृद्धि भयोे । सरकारी सम्पत्तिको हिनामिना बढ्दै गयो । अमेरिका, जापान, रुसलगायतका देशमा अध्ययन, कामदार या कोहीलाई शरणार्थी प्रमाणित गराएर पठाउने काम भएको छ । आर्थिक गतिशीलता घटेका कारण यस्ता आर्थिक तथा सामाजिक समस्या पैदा भएका हुन् । नेपाली सामाजिक वातावरणमा अहिले यिनै कारोबार दैनिक रूपमा धेरै भएको सुन्न, पढ्न र देख्न पाइन्छ । सडकमा जहिले भो आन्दोलन देख्न पाइन्छ । कहिले न्यायको लागि, कहिले कोबाट पीडित, कहिले कोबाट पीडितहरू न्यायका लागि नाराजुलुस, धर्ना गरिरहेका देखिन्छन् ।
कर्जा माफी हुने तथा निर्ब्याजी कर्जा पाइने हल्लाको प्रभावमा परेर सिदासादा ऋणीहरू माफियाहरूकोे पछि लागेका छन् । सहकारी संस्थाहरू राजनीतिक नेतृत्वमा रहेर लुट गर्नेहरूको हातमा पुगेका छन् ।
त्रिभुवन विमानस्थलमा अध्ययन र श्रमका लागि बाहिर जाने ठूलोे भिड लागेकै हुन्छ । उताबाट शवका पोकाहरू आएको देखिन्छ । तिनीहरूलाई गुमाउँदा लालाबाला समातेर परिवारका सदस्यहरूले गरेकोे विलाप, रुवावासीसमेत त्यतिकै देख्न पाइन्छ । शहरमा व्यावसायिक घरसटरहरूमा ‘टु–लेट’ बोर्ड लागेको छ । गाउँका खेतबारी बाँझिएका छन् । देशमा रहेका ठूला उद्योग, कलकारखानाले उत्पादन घटाउँदै लगेका छन् । सरकारले निर्यात गरेर होइन जति सक्दो धेरै आयात गरेर राजस्व आम्दानी गर्ने नीति बनाइरहेको छ । किनेरै खान, लाउन र कमाउन विदेशै जानु परेपछि गाउँमा किन बस्ने भनेर रोजगारीको खोजी गर्दै बजारमा बसाइ सर्ने प्रवृत्ति बढ्दो छ । गाउँ रित्तिदै गएर गाउँका घरमा ताला लाग्न थालेका छन् । काम गर्न सक्ने हातखुट्टा चल्ने, अलिअलि शीप र जाँगर भएका धेरै विदेश गएका छन् । देश त केटाकेटी र बूढाबूढीहरूको आश्रय स्थल जस्तो देखिन थालेको छ । अलिअलि बाँकी रहेका, देशमा केही गरौँ भन्नेले गरेकोे उत्पादनले बजार पाउन सकेको छैन । सरकारको उदारीकरणको नीतिले गर्दा तिनको उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । कृषि उत्पादनका लागि आवश्यक पर्ने बीउ, मल, सिँचाइ समयमा पाइँदैन । कुनै उत्पादनले देश आत्मनिर्भर हुन थाले छिमेकीकोे गिद्धेनजर परिहाल्छ । अनि विभिन्न बहानामा निर्यात बन्द हुन्छ । उत्पादनको बजार र उपयुक्त मूल्यको अभावमा उत्पादन बन्द गरेर विदेशिँदा नै सुरक्षित भइने आभास गरेर युवाशक्ति विदेशिरहेको छ । फलस्वरूप घरपरिवार, समाज तथा देश विप्रेषण आयमा निर्भर छ । वैदेशिक रोजगारीमा आधारित विप्रेषण आयमा निर्भर रहेकोले विश्वका कुनै पनि देशको आन्तरिक प्रभाव नेपालमा तत्कालै देखिन्छ । अनि कसरी आओस् आन्तरिक रूपमा आर्थिक गतिशीलता ? किन नहोस् आर्थिक मन्दी ? जबसम्म आन्तरिक रूपमा आर्थिक गतिशीलता वृद्धि हुँदैन, विप्रेषणमा निर्भर अर्थतन्त्र रहन्छ तबसम्म आर्थिक मन्दीको समस्या कायम रहने देखिन्छ । आर्थिक गतिहीनताको स्थायी समाधान के हुन सक्छ ? आर्थिक गतिशीलताको लागि अचुक अस्त्र के होला त ?
आर्थिक संकटको समस्या
आर्थिक संकटका कारण देशमा गरीबी, बेरोजगारी, गरीब र धनीबीचको अन्तर (जिनी सूचकांक) झनै बढ्दै गएकोे छ । विपन्न र ग्रामीण, दुरदराजका बस्तीको जीवन झनै कठिन भएको छ । परम्परादेखि चल्दै आएका शीप, उत्पादन, सामाजिक सहयोग, एकता तथा सामुदायिकता, सामाजिक विश्वास खलबलिएको छ । समाजमा दण्डहीनता बढेकोे छ । कानूनी शासन हराएकाले सुशासनको अभाव भएको छ । शहर केन्द्रित बसाइसराइले गर्दा ग्रामीण क्षेत्रमा रहेका सरकारी विद्यालयमा विद्यार्थीको अभाव हुन थालेको छ । शहरमा निजी विद्यालयको प्रवर्द्धन उच्च छ, जसले गर्दा शिक्षा महँगो हुँदै गएको छ । स्वास्थ्य क्षेत्रमा पनि यस्तै समस्याले गर्दा स्वास्थ्य महँगो भएको छ । बैंक वित्तीय संस्थाहरूको व्यवसाय खुम्चिएकोले शाखा मर्ज गरेर शाखा संख्या घटाउँदै छन् । गाउँगाउँमा खुलेका लघुवित्त संस्था मर्ज हुँदै शाखा संख्या घट्न थालेको छ । सामाजिक विखण्डनसँगै सामूहिक जमानीमा विनाधितोे कर्जा, बचत, बीमा र विप्रेषणलगायतका वित्तीय सेवाको साथै गैरवित्तीय सेवा दिने अर्थतन्त्रका पूर्वाधार लघुवित्त संस्था, सहकारी संस्थाहरू समस्यामा परेका छन् । यिनी वित्तीय संस्थाले लगानी गरेको कर्जा असुली हुन सकेको छैन । खराब कर्जा वृद्धि हुँदै गएको छ । लगानी अनियन्त्रित भएको छ । सञ्चालक/ व्यवस्थापकहरूको मनोमानी बढेकोे छ । नियामक निकायले समयसापेक्ष नियमन गर्न नसकेको र स्वनियमनमा नचलेको हुनाले लघुवित्त र सहकारी संस्था थला पर्दै गएका छन् । यही कारण आर्थिक क्रियाकलापहरूमा धेरै मन्दी आएको छ । गाउँमा अहिले विपन्न परिवारले कर्जा पाउन छोडेको छ । विपन्नले नखाई नलाई बचत राखेका सहकारी कोही डुबे, कोही डुबाइए, कोही भागे, कोही भगाइए । यसमा बचत गर्नेहरू बिचल्लीमा परेका छन् । यसरी देशमा करिब ६० लाख घरधुरीलाई सेवा पुर्याएका लघुवित्त संस्थाकोे कारोबार सञ्चालनमा बाह्य पक्षले पुर्याएको बाधा, व्यवधान र करिब ९४ लाख जनालाई सेवा पुर्याएका सहकारी संस्थाहरू सञ्चालन र व्यवस्थापनमा लापरवाही देखिएको छ । यही समस्याको कारण देशको आधाभन्दा धेरै समुदायको आर्थिक क्रियाकलापमा आएको समस्याले देश आर्थिक मन्दीको चंगुलमा परेको हो ।
लघुवित्त र सहकारी समस्याको प्रभाव
देशको अर्थतन्त्रको पूर्वाधारको रूपमा आफ्नो पहिचान बनाएर आधाभन्दा धेरै जनसंख्यालाई सेवा पुर्याएर मुलुकमा ५० प्रतिशतकोे हाराहारीमा रहेको गरीबी दर घटाएर करिब २१ प्रतिशतमा आउन तथा ल्याउन लघुवित्त संस्था र सहकारीहरूकोे ठूलो योगदान रहेको छ । देशमा आर्थिक गतिशीलता ल्याउने कार्य यिनीहरूको सेवा प्रवाहमा भर परेको छ । यी दुवैै संस्थाहरू आन्तरिक तथा बाह्य कारणले प्रभावित भएका छन् जसले गर्दा ग्रामीण विपन्न, न्यून आय भएका, ससाना व्यवसाय सञ्चालन गरेर स्वरोजगार हुँदै रोजगारी सृजना गरेका परिवारहरू समस्यामा परेका छन् । गाउँमा सचेतनाको नाउँमा राजनीतिक आवरणधारी अवसरवादीहरूबाट लघुवित्त संस्थाका शाखा कार्यालय, कर्मचारी र तिनका इमानदार सदस्यहरूमाथि हमला गरेका छन् । लघुवित्त कारोबार सञ्चालन गर्ने/गराउनेप्रति सम्मान गर्नुको सट्टा शारीरिक तथा मानसिक रूपमा असुरक्षा र अनुत्प्रेरणाको वातावरण बनाइदिएका छन् । समूहमा आबद्ध भएकालाई विनाधितोे कर्जा दिने लघुवित्त संस्था तथा कर्मचारीहरू आशंकित बनेका छन् ।
कर्जा माफी हुने तथा निर्ब्याजी कर्जा पाइने हल्लाको प्रभावमा परेर सिदासादा ऋणीहरू माफियाहरूकोे पछि लागेका छन् । सहकारी संस्थाहरू देशमा राजनीतिक नेतृत्वमा रहेर ब्रह्मलुट गर्नेहरूको हातमा पुगेको छ । सहकारी सिद्धान्त र मूल्यमान्यतामा नचलेको देखेर पनि नियामक निकाय आँखा बन्द गरेर बसिदिनाले उठ्नै नसक्ने गरी थला परेका छन् । यी नै दुईथरी संस्थाहरूमा परेको समस्याको कारणले नै देशमा आर्थिक मन्दी भएको होे । त्यसैले देशमा आर्थिक गतिशीलता ल्याउन यी संस्थाहरूमा देखिएको समस्याको समाधान नै पहिलो प्राथमिक कार्य हुनुपर्छ ।
समाधानको उपाय
देशमा आर्थिक गतिशीलता ल्याउन, गरीबी न्यूनीकरण गर्न, बेरोजगारी घटाउन देशमा रहेका परम्परागत शीप, उद्यम, पेशा, व्यवसायलाई आधुनिकीकरण र प्रवर्द्धन गर्न आवश्यक छ । देशले अवलम्बन गरेको आर्थिक उदारीकरण स्वरूप विकासको क्रममा विगतमा नेपाल सरकारले नै प्रवर्द्धन गरेर शुरू भएका लघुवित्त र सहकारी संस्थाहरू उद्देश्य अनुरूप सञ्चालन व्यवस्थापन गर्न गराउन नसक्दा यिनको कारोबार देशको लागि बच्चाको हातमा रहेको हतियार जस्तै भएको छ । लघुवित्त संस्था र सहकारी संस्थाको कारोबारकोे कुशल नेतृत्व, व्यवस्थापन, नियमन, संरक्षण, संवद्र्धन र प्रवर्द्धन गर्ने कार्यको शुरुवात तत्कालै गर्न आवश्यक छ । यसो नभएमा देशको अर्थतन्त्रमा महाभूकम्प जान सक्ने देखिन्छ । देशमा हाल विद्यमान आन्तरिक आर्थिक मन्दीको मुख्य कारण लघुवित्त र सहकारी संस्थामा देखिएको समस्या नै हो । यसमा दुविधा नभएकाले बाह्य क्षेत्र तथा विदेशी मुद्रा सञ्चिति राम्रो छ भन्दैमा देशको अर्थनीति क्षणिक भुलभुलैयामा पर्नु हुँदैन । देशमा रहेका बहुजनताको सेवाको लागि, समृद्धि तथा समुन्नतिको लागि धेरै ठूलो संख्यालाई सेवा पुर्याउन सफल लघुवित्त र सहकारी संस्थाको योगदानकोे अध्ययन, विश्लेषण र सही मूल्यांकन गर्न आवश्यक छ । त्यसपछि यिनीहरूको सुरक्षा, संर्वद्धन र प्रवर्द्धन गर्नु पहिलो आवश्यकता हो ।
लघुवित्तको योगदान
लघुवित्त र सहकारी संस्था दूरदराजका विपन्न बस्तीहरूमा पुगेका छन् । विपन्न, बेरोजगार, भूमिहीन, निमुखा जनतालाई सम्झाईबुझाई उत्प्रेरणा गरेर समूहमा आबद्ध गरेर ससानो बचत संकलन, विनाधितो कर्जा , बीमा, विप्रेषणलगायतका वित्तीय सेवाका साथ साथै गैरवित्तीय सेवा प्रवाह गरेका छन् । यसले गर्दा समाजमा वित्तीय पहुँच, वित्तीय तथा व्यावसायिक साक्षरता, महिला सशक्तीकरण, नेतृत्वको विकास, वृद्धि भएको छ । समाजमा लैंगिक हिंसा कम भएको छ । एउटै समूहमा आबद्ध हुँदा जातीय विभेद घटेको छ । शिक्षा र स्वास्थ्यका क्षेत्रमा सचेतना वृद्धि भएको छ । गरीबी घटेकोे छ । सबैभन्दा ठूलो कुरा त पूँजीको अभावमा पनि आफूसँग भएको शीप, क्षमताको उपयोग गर्न नपाएका विपन्न परिवारले सहजै रूपमा घरदैलोमा समूहको जमानीमा विनाधितो कर्जा लिएर आफ्नो ज्ञान, शीप, क्षमता र अनुभवको आधारमा व्यवसाय सञ्चालन गर्न पाएका छन् । यसले गर्दा उद्यमशीलताको विकास भएको छ । रोजगारी र स्वरोजगारमा वृद्धि भएको छ । ग्रामीण उत्पादनमा भएको वृद्धि लघुवित्त र सहकारीको योगदानबाट भएको कुरा धेरै हदसम्म दाबी गर्न सकिन्छ । यसरी अर्थतन्त्रको आधार क्षेत्रमा आर्थिक गतिशीलता ल्याउन लघुवित्त र सहकारीले पुर्याएको योगदानको यथेष्ट अध्ययन, अनुसन्धान, विश्लेषण नियामक निकाय तथा सरकारले गर्न नसकेकोे अवस्था रहेकोे छ । राम्रो कुरालाई गौण बनाएर लघुवित्त र सहकारी क्षेत्रमा देखिएका केही कमीकमजोेरीलाई गलत ढंगले कुप्रचार गरेर अवसरवादी तत्त्वहरूले वितण्डा मच्चाएका छन् । यस्तोमा सरकार मूकदर्शक भई रमिते बनेको छ । त्यसैले ग्रामीण क्षेत्रका वित्तीय सेवाका खम्बाहरू हल्लिन थालेका हुन् । यसबाट समाजमा वित्तीय सेवाको वातावरण धमिलिएको छ । नेपाली समाजका गहना एकता, सहयोग र विश्वासलाई फुटाएर अविश्वासको वातावरण सृजना गरी सामाजिक वातावरण धमिल्याएका छन् । धमिलो पानीमा माछा मार्न पल्किएका अवसरवादीले फ्याँकेको जालमा लघुवित्त र सहकारी संस्था परिसकेका छन् । नियामक निकाय तथा सरकारले जाल फाल्ने शिकारीहरूलाई समयमै कारबाही नगरे सामाजिक वित्तीय सेवाको वातावरण थप बिग्रँदै जाने देखिन्छ ।
लघुवित्त र सहकारी संस्थामा देखिएका समस्या तथा व्यवधानको समाधान गरेर तथा सुशासन प्रवर्द्धन गरेर नै देशमा देखिएकोे आर्थिक मन्दी तथा गतिहीनतारूपी समस्याको समाधान गर्न सकिन्छ । त्यसैले आर्थिक गतिशीलता दिनका लागि लघुवित्त र सहकारी संस्था नै अचुक अस्त्र हुन् ।
नेपाल अतिविपन्न देशहरूको सूचीबाट बाहिर निक्लन खोज्दै छ । देशमा अहिले पनि करिब २१ प्रतिशत जनता गरीबीको रेखामुनि रहेका छन् । उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न नैै समस्या रहेको छ । आम नेपाली बीचमा अझैै पनि परम्परागत तथा आधुनिक बैंकिङ प्रणाली लोकप्रिय छैन । नेपालमा वित्तीय सेवाकोे पहुँच गराएर अधिकांश नेपालीको बचत खाता खोल्ने, खर्च कटाएर न्यून भए पनि खातामा जम्मा गरी बचतको माध्यमबाट उज्ज्वल भविष्यकोे आधार तयार गर्ने अभ्यास लघुवित्त र सहकारीमार्फत नैै भएकोे हो । कर्जाको लागि गाउँघरका साहुमहाजन र आफन्तबाट बाहिर आएर संस्थागत कर्जा उपभोेग गर्ने बानीकोे अभ्यास लघुवित्त र सहकारीले नै गराएका हुन् । विपन्नलाई आफ्नोे ज्ञान, शीप र अनुभवको प्रयोग गरेर उद्यम गर्ने इच्छा जगाएर उद्यमशीलताको बाटोमा डोर्याउने काम लघुवित्त र सहकारीले नै गरेका हुन् । विपन्नलाई समूहमा आबद्ध गराएर अन्यायको विरुद्ध एक हुन समूह केन्द्रकोे नेतृत्वको अभ्यास गराएर महिला नेतृत्वको विकास गराउन लघुवित्त संस्थाहरूकै देन रहेको छ । अर्थात् सामाजिक र आर्थिक क्रियाकलापमा अगाडि ल्याउन महिलालक्षित वित्तीय कारोबारको सञ्चालन लघुवित्त संस्थाले नै गरेका हुन् । विपन्न, गरीब, बेरोजगार, दलितपीडित, एकल महिलाहरूलाई समूहमा आबद्ध गराएर, वित्तीय साक्षरताको तालिम दिएर, विनाधितोे कर्जा दिएर आर्थिक रूपमा सशक्तीकरण गर्ने काम लघुवित्त संस्थाहरूले नै गरेका हुन् ।
यसरी समाजमा रहेका अतिविपन्न, विपन्न, न्यूनमध्यम र मध्यम सबै वर्गलाई समेटेर वित्तीय तथा गैरवित्तीय सेवा प्रवाहको माध्यमबाट सामाजिक एकता, आपसी विश्वास र सहयोगको वातावरण बनाएर समावेशी आर्थिक विकासको शुरूवात लघुवित्त र सहकारी संस्थाले नैै गरेका हुन् । लघुवित्त सेवाले झन्डैै ५० वर्ष र सहकारीले ७० वर्षभन्दा लामोे समयदेखि देशमा आर्थिक विकासका लागि योगदान गरेर समावेशी आर्थिक विकासका खम्बाका रूपमा स्थापित भएका छन् । यसरी समाजमा रहेका बहुजनकोे आर्थिक क्रियाकलापको केन्द्रका रूपमा रहेका लघुवित्त र सहकारी संस्थाहरूको सञ्चालन, व्यवस्थापन र नेतृत्वले गर्ने कार्यमा केही कमीकमजोरी भएकै हो । पछिल्लो समयमा यी संस्थाहरूको उद्देश्यमा केही विचलन आएको हो । नियामक निकायको आँखा नपरेको अवस्थामा समाजमा रहेका अवसरवादीहरूले यी संस्थाहरूमाथि हमला शुरू गरेका हुन् । यी संस्थाहरूको सेवा प्रक्रियामा रहेका केही कमीकमजोरीलाई सच्याएर यिनीहरूलाई आआफ्नो सेवा सञ्चालन गर्न उपयुक्त वातावरण बनाएर लघुवित्त र सहकारी सेवाको प्रवर्द्धन अझै धेरै गर्न आवश्यक रहेको छ । त्यसैले सरकारले सर्वप्रथम समाजमा आर्थिक तथा वित्तीय अनुशासन विपरीत कार्य गर्ने गराउने, दुरुत्साहन गर्ने गराउने सबैलाई कानुनी कठघेरामा ल्याएर वित्तीय अनुशासन कायम गराउँदै लघुवित्त र सहकारी सेवामा रहेको समस्याको समाधान गर्नुपर्छ र यी दुवै सेवाको प्रवर्द्धन गर्नुपर्छ । लघुवित्त र सहकारी संस्थामा देखिएका समस्या तथा व्यवधानको समाधान गरेर तथा सुशासन प्रवर्द्धन गरेर नै देशमा देखिएकोे आर्थिक मन्दी तथा गतिहीनतारूपी समस्याको समाधान गर्न सकिन्छ । त्यसैले आर्थिक गतिशीलता दिनका लागि लघुवित्त र सहकारी संस्था नै अचुक अस्त्र हुन् ।
लेखक लघुवित्त र लघुबीमा क्षेत्रमा लामोे अनुभव प्राप्त अधिवक्ता तथा मेलमिलापकर्ता हुन् ।