वीरगञ्ज । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समृद्धिका लागि निजीक्षेत्रमा देखिएको निराशा हटाउनुपर्ने बताएका छन् ।
वीरगञ्जमा आइतबार नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा महतले आर्थिक विकासको उद्देश्य पूरा गर्न व्यापार व्यवसायमा लागेका समुदायको मनोबल बढाउनुपर्ने बताएका हुन् ।
‘वित्तीय क्षेत्रका नियामक नियकाले प्रभावकारी काम गर्दा अर्थतन्त्रका सरोकारहरुको आत्मविश्वास बढ्न सक्छ । यसले अर्थतन्त्रलाई लय दिन्छ,’ नेता महतले भने । वित्तीय क्षेत्रमा प्रभावकारी नियमन नहुँदा अहिले समस्या देखिएको भनाइ उनको थियो ।
वित्तीय क्षेत्रबाट गएको ऋणको प्रतिफल नआएको भन्दै महतले थपे, ‘बैंकबाट लिनेले ऋण लिए, दिनेले दिए । अहिले तिर्न सकेको छैन ।’ अहिले नयाँ लगानीमा जाने थोरै भएकाले बैंकबाट नयाँ कर्जा नगएको उनले बताए । नयाँ कर्जा नगएपछि लगानीमा असर परेको महतको भनाइ थियो ।
बजेट विनियोजनमा अनुशासन नभएकाले बालुवामा पानी खन्याएजस्तो भएको उनले बताए । प्राथमिकीकरण नगरी बजेट विनियोजन गर्ने परिपाटीले वित्तीय अनुशासन कायम हुन नसकेको भन्दै उनले लगानीको परिणामका लागि यसको प्राथमिकीकरण नगरी नहुने स्पष्ट पारे । सीमित स्रोतलाई प्राथमिकताका आधारमा खर्च गर्नुपर्ने उनले बताए ।
वित्तीय अनुशासनकै लागि संघीय सरकारले ३ करोड रुपैयाँभन्दा कम बजेटको योजना नल्याउने मन्त्रिपरिषद्बाट निर्णय गरे पनि आफूहरु सत्ताबाट बाहिरिएपछि अहिले जथाभावी भएको दाबी उनको थियो । ‘सरकारी खर्च संरचनालाई अनुशानसमा राख्नु पर्दछ । अर्थमन्त्रीले आर्थिक अनुशासन र प्रथाकिमतालाई हेरेर खर्च गर्नु पर्दछ । यसो भएमात्र विनियोजनको प्रभाव देखिन थाल्छ,’ उनले भने ।
अनावश्यक ऋण लिँदा त्यस्तो ऋण समयमा खर्च नहुने अवस्था आएको भन्दै महतले अयोजनाको प्रतिफल हेरेरमात्र विनियोजन गर्नुपर्ने बताए । बीआरआईलगायत द्विपक्षीय ऋणमा बढी शर्त हुने भएकाले त्यस्तो ऋण लिन हुने उनको तर्क थियो । ‘बहुपक्षीय निकायको ऋण त प्रयोग हुन सकेको छैन भने अन्य देशसँग ऋण लिन हुन्न,’ उनले भने ।
वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनमा सरकारले अपेक्षित सहयोग र सहजीकरण किन नगरेको भन्ने प्रश्नमा महतले बन्द उद्योगहरु निजीक्षेत्रले नै चलाउनुपर्ने बताए । जग्गाजमीन सरकारको अधीनमा राखेर निजीक्षेत्रलाई सञ्चालनको मोडालिटी बनाइनुपर्ने उनले बताए । तर, कृषि औजार कारखानाका सन्दर्भमा नियमकानूनले मिल्नेसम्म राज्यले सहयोग गर्नुपर्ने पनि उनले स्पष्ट पारे ।