वीरगञ्ज । मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यले बद्नियतवश पर्यटकलाई दुःख दिने प्रहरीलाई कारवाही गर्ने बताएका छन् । उनले प्रहरीलाई पर्यटनकमैत्री बन्न निर्देशन दिएका छन् ।
वीरगञ्जमा आयोजित ‘पर्यटन सुरक्षामा पर्यटक प्रहरीको भूमिका’ विषयक अन्तरक्रियामा उठेको सवालको जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा सरोकारवालाहरूले सीमावर्ती नाकाहरूमा भारतीय पर्यटक चढेका गाडी रोकेर प्रहरीले अनावश्यक हैरानी दिने गरेको गुनासो गरेका थिए । डिआइजी आचार्यले भने, ‘कहीँ कसैले भारतीय पर्यटकका सवारी साधनलाई गलत नियत राखी दुःख दिएको भेटिए तुरुन्तै कारवाही हुन्छ ।’
उनले पर्यटक प्रहरीलाई पर्यटकले सहजीकरण महसुस गर्ने गरी काम गर्न पनि निर्देशन दिए । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जजका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा होटल तथा पर्यटन व्यवसायीले सो क्षेत्रका समस्या समाधानका आग्रह गरेका थिए ।