चितवन। विद्युतीय कार जिकर एक्सको चितवनस्थित आधिकारिक डिलर युनाइटेड अटो कन्सर्नले शनिवार भरतपुरमा जिकर ब्रान्ड सार्वजनिक गरेको छ । जिकर चीनको गिली होल्डिङ ग्रुपको उत्पादन लक्जरी इलेक्ट्रिक गाडीको ब्रान्ड हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरे लगायतले स्मार्ट प्रविधियुक्त प्रिमियम डिजाइनको जिकर एक्सको अनावरण गरेका हुन् ।
शक्तिशाली पर्फर्मेन्स र अत्याधुनिक सुविधासहित इलेक्ट्रिक एसयुभी सेगमेन्टमा चर्चित प्रतिस्पर्धी ब्रान्डको रूपमा स्थापित जिकरको जिकर एक्स स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट पायोनियर मोटो कर्पले नाडा अटो सो २०२४ मा सार्वजनिक गरेको हो । पायोनियर मोटो कर्पका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले बितेका १५ महीनामा २२ हजारभन्दा बढी जिकर एक्सको विक्री भएको बताए ।
जिकर एक्समा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टेलिजेन्ट ककपिट’ को पनि सुविधा रहेको बताइएको छ, जसमा १४ दशमलव ६ इन्चको एचडी टचस्क्रिन डिस्प्ले, ८ दशमलव ८ इन्चको एचडी इन्स्ट्रुमेन्ट प्यानलसहित २४ दशमलव ३ इन्चको ‘अगमेन्टेड रियालिटी हेड–हप डिस्प्ले’ समावेश रहेको छ । जिकर एक्समा ६६ किलोवाट आवरको लिथियम–आयन ब्याट्री छ । पछाडिको चक्कामा २ सय किलोवाट (२७२ हर्सपावर) र ३४३ न्युटन मिटरको इलेक्ट्रिक मोटर रहेको कम्पनीले जानकारी दिएको छ ।