काठमाडौं। टिकटकले आफ्नो सेफ्टी एम्बासडर कार्यक्रम अन्तर्गत ‘नेपालमा डिजिटल सुरक्षा’ विषयक सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा ओशिन सिटौला, पराक्रम राणा, मञ्जिता मानन्धर (माइ डार्लिङ फुड), सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सेना, श्री पाण्डेलगायत नेपालका चर्चित कन्टेन्ट क्रियटर सहितको प्यानल छलफल प्रस्तुत गरिएको बताइएको छ ।
प्यानलका सदस्यहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगी लगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षबारे छलफल गरेका थिए । सो अवसरमा आकर्षक कन्टेन्ट सृजना गरेर कसरी राम्रो कन्टेन्ट क्रियटर बन्न सकिन्छ भन्नेबारे सुझाव र दिशानिर्देश पनि दिइएको थियो ।
यो अभियान टिकटकको जीवन्त र विविधतायुक्त कम्युनिटीका लागि सुरक्षित र स्वागतयोग्य प्लेटफर्म निर्माण गर्ने लक्ष्यको एक हिस्सा भएको बताइएको छ । ‘सेफर टुगेदर’ पहलमार्फत टिकटकले प्रयोगकर्ताले प्लेटफर्ममा उपलब्ध विभिन्न इन–एप सुरक्षा सुविधाको फाइदा कसरी लिन सक्छन् भन्नेबारे जागरुकता सृजना गर्ने लक्ष्य राखेको बताइएको छ ।
टिकटकसँग अनुपयुक्त सामग्री र व्यवहारलाई मध्यस्थता गर्न सामुदायिक दिशानिर्देशनको बलियो सेट रहेको र सामुदायिक दिशानिर्देशन उल्लंघन गर्ने कुनै पनि सामग्री वा अन्य प्रयोगकर्ताविरुद्ध हिंसालाई उक्साउने हानिकारक सामग्रीको लागि शून्य सहनशीलताका साथ टिकटकले आफ्ना प्रयोगकर्ताको सुरक्षा र कल्याण सुनिश्चित गर्ने बताइएको छ ।