आर्थिक संकटमा फस्दै गएको दक्षिण अफ्रिकी राष्ट्र स्वाजील्यान्डमा बजेटघाटा कम गर्न एक अनौठो प्रस्ताव अगाडि सारिएको छ । अफ्रिकाको अन्तिम राजतन्त्रात्मक मुलुकका रूपमा पनि चिनिएको स्वाजील्यान्डको संसदमा एक सांसदले पेश गरेको प्रस्तावअनुसार धामीझाँक्रीसँग सरकारले लिने करको दर बढाइनुपर्छ । स्वाजील्यान्डमा धामीझाँक्रीले परम्परागत रूपमा नै कर तिर्दै आएका छन् । स्वाजी भाषामा ‘सान्गोमास’ भनिने ती धामीझाँक्रीले सरकारलाई १० इमाललगेनी (त्यहाँको स्थानीय मुद्रा) अथवा १ डलर १५ सेन्ट लाइसेन्स शुल्कबापत बुझाउँदै आएका छन् । तर, सांसद माजाहोद्धा खुमालोले भने उनीहरूले ग्राहकसँग लिने शुल्क पछिल्ला केही वर्षमा चार गुणाले बढे पनि त्यसअनुसारको कर नतिरेको आरोप लगाउँदै यस्तो प्रस्ताव ल्याएका हुन् । बहुसंख्यक स्वाजी जनता रोग निको पार्न र औषधि उपचार गर्न धामीझाँक्रीसँग परामर्श र सेवा लिने गर्छन्, तर उनीहरूले सेवाबापत तिरेको शुल्कबाट राम्रो आम्दानी कमाउनेहरूले भने राज्यलाई कर तिर्दै तिर्दैनन् अथवा निकै थोरैमात्र तिर्छन् । यदि उनीहरूलाई करको दायरामा ल्याउन सकिए सरकारको आम्दानी बढ्ने उनको दाबी थियो ।
वर्ष ८, अंक ८३, मङ्गलवार २६ मङ्सिर, २०६९