प्रत्येक व्यक्ति एउटा इतिहास हो । त्यस इतिहासको रूपरेखा उसैले कोरेको हुन्छ । त्यही रूपरेखा समाजको पनि र देशको पनि हुन्छ । डा. यादवप्रसाद पन्तको यस्तै इतिहास छ, जुन देशको गतिसँग अघि बढेको छ । देशको यात्रामा व्यक्ति गौण ठानिन्छ । तर व्यक्तिविना देश हुँदैन । त्यसैले पन्तको इतिहास देशको इतिहास हो । इतिहास कसैको पनि मर्नु हुँदैन, चाहे त्यो व्यक्ति होस्, समाज होस् वा राष्ट्र । इतिहास अभिलेखित हुन्छ लिखित मुद्रित सामग्रीबाट । त्यसैले त्यस्तो सामग्री संरक्षण गर्ने र तिनलाई जोगाएर राख्ने गर्नु इतिहासलाई बचाउनु हो । अर्थविद् पन्तको जीवनको समग्र यात्रा र उपलब्धिलाई समेटेको एउटा अभिलेख बनेको छ व्यक्ति एक : दृष्टि अनेक । यो कृतिलाई स्मृतिगन्थ्रकै निरन्तरता वा दोस्रो खण्ड भने हुन्छ । किनभने यसमा समाविष्ट रचना र अभिलेखहरू पहिलो खण्डमा छुटेर बेग्लै महत्त्वसहित समेटिएका छन् ।
स्मृतिग्रन्थमै अटाउनुपर्ने कुरा बेग्लै कृतिमा राख्नुको प्रयोजन त्यसलाई बोझिन नबनाउनु हो कि भन्ने देखिन्छ । विसं १९८२ मा जन्मिएर २०६४ मा यस धर्तीबाट बिदा लिएका डा. पन्त बहुमुखी व्यक्तित्व हुन् । आधुनिक बजेट प्रणालीको विकासमा होस् कि नेपाल राष्ट्र बैंकको संस्थागत सबलीकरण, प्राध्यापन होस् कि प्रशासनिक सबै क्षेत्रमा पन्त विशेष रहे । पन्तको व्यक्तित्वलाई केदार आचार्यले स्मृतिग्रन्थभित्रका डा. पन्त समीक्षात्मक आलेखमा राम्ररी केलाएका छन् । उनका जीवनमा विविध सन्दर्भमा लेख यसमा संलग्न गरिए पनि मूलत: उनको जीवनका प्रमुख घटना, उपलब्धि आदिका कागजी सामग्रीलाई यसमा सजाइएका छन् । समवेदना सन्देश, पत्रपत्रिकामा प्रकाशित श्रद्धाञ्जलि, पन्तले प्राप्त गरेका प्रमाणपत्र, उपहार र राष्ट्र बैंकमा गभर्नर रहँदा उनको हस्ताक्षरमा निष्कासित नोटहरू यस कृतिमा समेटिएका छन् ।
डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानले विविध कार्यक्रम गरी पन्तको योगदानलाई सम्झने र निरन्तरता दिने काम गरिरहेको छ । त्यसैको निरन्तरता हो यो कृति प्रकाशन । यसमा उनलाई भोलानाथ श्रेष्ठले बैंकिङ विकासमा उनको विशेष योगदान रहेको ठम्याएका छन् । आर्थिक अभियानको प्रकाशन अर्थान्तरमा छापिएको राधेश पन्तको आँखामा उनको बुवाको स्मरण पनि यसमा समावेश गरिएको छ नित्यराज पाण्डेदेखि वाङ्मय पुरुष सत्यमोहन जोशीसम्म गरी यसमा १९ जनाका छोटा संस्मरण छापिएका छन् ।
३४४ पृष्टको यस कृतिमा २६२ पृष्ठ स्क्यान गरिएका विभिन्न दस्तावेज परेका छन् । यादव पन्तको अभिलेखीकरण भएकाले उनको जीवनकालको अध्ययन गर्न चाहनेका लागि यो कृति उपयुक्त देखिन्छ ।