मुलुकमा आर्थिक विकास समृद्धिको लागि पहिले प्रविधिको विकास चाहिन्छ, प्रविधिको विकासका लागि आविष्कारको विकास चाहिन्छ, आविष्कारको विकासका लागि बौद्धिक सम्पत्ति संरक्षण प्रणालीको विकास चाहिन्छ । तर, राजनीतिक पदाधिकारीहरूको सलहको जस्तो फौज र तिनमा व्याप्त भ्रष्टाचार, आविष्कार गर्ने तथा प्रविधिको विकास गर्ने प्रतिभाहरूको व्यापक विदेश पलायन र त्यसमा कुनै सोच नभएको सरकार, बौद्धिक सम्पत्तिको संरक्षण र व्यवस्थापन सम्बन्धमा महेन्द्री कानून र व्यवस्थापन प्रणलीबाट एक इन्च अगाडि टसमस गर्न नसक्ने नालायक अस्थिर सरकारहरूबाहेक केही दिन नसक्ने यस राजनीतिक प्रणलीमा जनताको आर्थिक विकास समृद्धिको चाहना ‘उडायो सपना सबै हुरीले’ भन्नुबाहेक हाललाई केही हातलागी हुने देखिँदैन । तर, परिस्थिति सधैं एकनास कहीँ रहँदैन । परिवर्तन अवश्यंभावी भएकाले नेपाली जनता स्वदेश विदेश जहाँ रहे पनि आर्थिक विकास समृद्धिका लागि प्रयत्नशील रहनैपर्छ । यसै सन्दर्भमा प्रस्तुत लेखमा आविष्कारवारे चर्चा गरिँदै छ ।
आविष्कारको सामान्य अर्थ कुनै नौलो विषयको जानकारी पत्ता लगाउनु हो । यो कुनै प्राविधिक समस्या समाधान गर्ने नौलो उपाय पनि हो । यस्तो जानकारी हाम्रो ज्ञानेन्द्रिय र मस्तिष्कको सहायताले पत्ता लगाउन सकिन्छ । यसमा या त पहिले नबनाएको वस्तु बनाइन्छ अथवा पहिले प्रयोग नगरेको विधि पत्ता लगाइन्छ । यसलाई मान्छेको रचनात्मकता र अन्तर्दृष्टि प्रयोग गरेर तथा अध्ययन अनुसन्धान गरेर मानव जीवनोपयोगी प्रविधिको विकास गर्न अथवा सुधार गर्न सकिन्छ । यदि त्यस्तो कामबाट कुनै प्राविधिक समस्या हल हुने गरी कुनै नौलो कार्य पद्धतिको विकास वा कुनै नौलो वस्तुको सृजना हुन्छ भने त्यो आविष्कार हो ।
केही शतक पहिलेसम्म प्रतिभाहरूका आविष्कारजस्ता बौद्धिक सम्पत्तिको उचित संरक्षण नहुँदा कयौं प्रविधिहरू प्रतिभाहरूको मृत्युसँगै समाप्त भएका धैरै उदाहरण छन् । अतः कालान्तरमा विश्वले बौद्धिक सम्पत्ति संरक्षण गर्नुपर्ने अभ्यास प्रारम्भ गरिएको हो । कसैले कुनै नयाँ सृजनशील काम गरेर देखाउँछ भने त्यस्तो कामलाई कुनै न कुनै बौद्धिक सम्पत्तिका रूपमा संरक्षण गर्न सकिने सम्भावना हुन्छ ।
उहिले पाषाण युगमा मान्छेले बनाएका ढुंगाका औजारलाई प्रथम आविष्कार मान्न सकिन्छ । क्रमैसँग थपिँदै गएर अहिले लाखौं आविष्कार भएका छन्, जस्तो बिजुली, इन्जिन, बिजुलीको बल्ब, चलचित्र, कागज, कलम, टेलिफोन, रेडियो, टीभी, कम्प्युटर, मोबाइल आदि । आविष्कारले मानव जीवनमा सुविधा र समृद्धि थप्दै गएका छन् ।
आविष्कारका लागि पर्याप्त स्रोत, साधन, सुझबुझ र समर्पणको खाँचो पर्छ । प्रतिभाहरूले आविष्कार जस्ता युगप्रवर्तक बौद्धिक सम्पत्ति नहिचकिचाई सार्वजनिक गरून् र समाजले पनि लाभ उठाउन सकोस् भनेर मुनासिव अवधिका लागि राज्यले संरक्षण प्रदान गर्छ । कसैले कुनै नयाँ सृजनशील काम गरेर देखाउँछ भने त्यस्तो कामलाई कुनै न कुनै बौद्धिक सम्पत्तिको रूपमा संरक्षण गर्न सकिने सम्भावना हुन्छ । संरक्षण दिने भनेको त्यो अवधिभित्र उनीहरूको स्वीकृति लिएर मात्र उद्योग व्यवसायीहरूले आविष्कार चलन गर्न पाउने भनेको हो । सबैभन्दा धेरै आविष्कार गर्ने पाँच मुलुकमा क्रमशः अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया र ताइवान पर्छन् ।
बौद्धिक सम्पत्ति संरक्षणका धेरै उपायमध्ये आविष्कारलाई तीन विधिबाट संरक्षण गर्न सकिन्छ– पेटेन्ट अधिकार, व्यावसायिक गोपनीयता (ट्रेड सिक्रेट) र उपयोगी नमूना (युटिलिटी मोडेल) । यी तीनओटै बुझ्नका लागि पहिले आविष्कार बुझ्न आवश्यक छ । त्यो चर्चा भइसक्यो । पेटेन्ट अधिकार आविष्कारलाई संरक्षण दिने मुख्य तरीका हो ।
साधारण मान्छेले सामान्य अर्थमा पेटेन्टलाई कुनै बौद्धिक सम्पत्तिमाथिको एकलौटी अधिकार प्राप्त गर्ने अभ्यासको रूपमा बुझेका हुन्छन् । तर, बौद्धिक सम्पत्तिका विज्ञहरूले आविष्कारको चरण भएको नौलो रहेको र व्यावहारिक उपयोगिता भएको आविष्कारकलाई राज्यले सीमित अवधिका लागि प्रदान गर्ने एकलौटी कानूनी अधिकारका रूपमा बुझेका हुन्छन् । यसको अर्थ हो, सबै पेटेन्टहरू आविष्कार हुन् तर सबै आविष्कार पेटेन्ट होइनन् । परीक्षणबाट योग्य भएमा पेटेन्ट संरक्षण दुवै उत्पादित वस्तु वा उत्पादन प्रक्रियासँग सम्बद्ध आविष्कारलाई प्रदान गरिन्छ । कसैको आविष्कार पेटेन्ट हुनका लागि राइट ब्रदर्शले जस्तै हवाईजहाज वा डायमलरले जस्तै मोटरकार नै निर्माण गर्नुपर्छ भन्ने होइन । तिनमा जडित यन्त्र, उपकरण, पार्टपुर्जा आदिमा भएका सानातिना सुधार वा परिवर्तन पनि पेटेन्ट गर्नलायक हुन सक्छन् । पेटेन्टबारे धेरै लेख पहिले पनि प्रस्तुत भएका छन् र पछि पनि हुनेछन् ।
विभिन्न बौद्धिक सम्पत्तिमध्ये पेटेन्टको विशेष महत्त्व छ । ट्रिप्स सम्झौताअन्तर्गत पर्ने आठ प्रकारका बौद्धिक सम्पत्तिमध्ये प्रविधि विकासका लागि पेटेन्ट एक प्रमुख बौद्धिक सम्पत्ति हो । औद्योगिक राष्ट्रहरूले आजभन्दा ५०० वर्ष अघिदेखि यसको महत्त्व बुझेर आविष्कारलाई कानूनी संरक्षण प्रदान गर्दै आएका हुन् । प्रविधिको सुधार एवम् विकासबाट औद्योगिक उत्पादकत्व वृद्धिका लागि यसको प्रयोग गर्दै गएकाले आज औद्योगिक राष्ट्रको स्थान आर्थिक समृद्धिमा अग्रगण्य रहेको हो । नेपाल जस्तो अल्पविकसित राष्ट्रमा पेटेन्ट संरक्षणलाई सम्पत्ति निर्माणको अवसरको रूपमा भन्दा बढी अन्तरराष्ट्रिय दायित्व निर्वाहको रूपमा हेरिन्छ ।
व्यावसायिक गोपनीयता (ट्रेड सिक्रेट) भनेको सार्वजनिक नगरिएको, गोपनीय राख्न पर्याप्त व्यवस्था गरिएको कुनै व्यावसायिक महत्त्व तथा मूल्य भएको जानकारी हो । त्यस्ता जानकारीमा व्यावसायिक महत्त्वका धेरै प्रकारका जानकारी हुन सक्छन् । तीमध्ये कुनै आविष्कार पनि हुन सक्छन् । माथिका तीनओटै शर्त पूरा हुन सम्भव भएका थोरै आविष्कार संरक्षणको दायरामा पर्छन् र अन्य विषय आविष्कार इतरका जानकारी हुन्छन् । गोपनीयता निर्वाहका लागि उद्योगको कामदार, कर्मचारी वा सरोकारको व्यक्तिले करारनामा अनुसार गोप्य राख्नुपर्ने विषयवस्तुको चुहावट वा सार्वजनिकीकरण गर्न पाउँदैनन् र चुहावट गरेमा ठूलो हर्जाना राशी तिर्नुपर्छ । धेरैजसो आविष्कारलाई यो विकल्प उपयुक्त हँदैन र फेरि कुनै तेस्रो पक्षको व्यक्तिले प्रतिलोम विधिबाट प्रविधि विन्यास गरी गोपनीयता पत्ता लगाएमा संरक्षण समाप्त हुने भएकोले जोखिम धेरै हुन्छ । त्यसैले यसको संरक्षण अवधि भेद नखुल्दासम्म हो, निश्चित अवधि हुँदैन ।
उपयोगी नमूना भन्नाले विद्यमान प्रविधिमा गरिएको सामान्य सुधारका लागि ऐनबमोजिम प्रदान गरिने एकाधिकार हो । कुनै नवीनता र औद्योगिक प्रयोजन भएको आविष्कार उपयोगी नमूनाका रूपमा दर्ता गर्न सकिन्छ । आविष्कारको चरण पूरा नभए पनि उपयोगी नमूनाका रूपमा दर्ता हुन बाधा पर्दैन । आविष्कारकले आफ्नो आविष्कार कुनै एक तरीकाले मात्र संरक्षण गर्न पाइन्छ । दर्ता संरक्षण सम्बन्धमा पेटेन्टका लागि लागू हुने अन्य व्यवस्था शब्दहरूको आवश्यक हेरफेरसहित उपयोगी नमूनाका लागि समेत लागू हुन्छ । पेटेन्टजस्तै उपयोगी नमूना पनि आविष्कार संरक्षणका लागि दिइन्छ । विश्वमा जहाँ यो दर्ता गरिन्छ त्यहाँ पेटेन्टका लागि चाहिने सबै आवश्यकता र शर्त पूरा नगरेका तर उपयोगिताको हिसाबले उपयुक्त रहेका केही सानातिना आविष्कारहरू दर्ता गरिन्छ । उपयोगी नमूनाको उदाहरण कुनै उपकरण र उत्पादन विधिमा गरिने सानातिना हाते उपकरण र तिनमा सुधार, कृषि उपकरण, घरभान्साका सामान, फलफूल ग्रेडिङ उपकरण, बोतल सफा गर्ने उपकरण आदि छन् ।
उपयोगी नमूनाले पनि पेटेन्टको जस्तै आविष्कारको संरक्षण गर्ने भए पनि यी दुईमा केही फरक छ– जस्तो पेटेन्टले नवीनता, उपयोगिता र आविष्कारको चरण भएका आविष्कारको संरक्षण गर्छ भने यसमा आविष्कारको चरण आवश्यक पर्दैन, अन्य दुई शर्त पूरा भए पुग्छ । पेटेन्ट ठूलो आविष्कार हो भने यो तुलनात्मक रूपले धेरै सानो आविष्कार हो, पेटेन्टको पूरा संरक्षण पाउन सक्ने अवधि २० वर्ष हुँदा यसको मुलुकअनुसार ७ देखि १५ वर्षसम्मको हुन्छ ।
पेटेन्टमा भन्दा यसमा दर्ता शुल्क र खर्च लागत धेरै कमले पुग्छ, पेटेन्ट गर्दा आविष्कारको खोजतलास, परीक्षण जस्ता धेरै कार्यविधि पूरा गर्नुपर्छ यसमा पर्दैन । पेटेन्टको अन्तरराष्ट्रिय दर्ता पनि हुन्छ भने यो प्रायः सम्बद्ध मुलुकभित्र मात्र दर्ता गरिन्छ । पेटेन्टको प्रावधान सबैजसो मुलुकमा हुन्छ तर यसको कुनैकुनै मुलुकमा मात्र हुन्छ, पेटेन्टबाट पाउने संरक्षण दरिलो हुन्छ तर यसबाट पाउने केही कमजोर खालको हुन्छ ।
संरक्षण प्रदान गर्ने भनेको आविष्कार धनीको पूर्वस्वीकृतिविना अन्य व्यक्तिले आफ्नो व्यवसायमा प्रयोग गरी आर्थिक लाभ लिन नपाउने र त्यसको प्रत्याभूति राज्यको कानूनले गर्ने भनेको हो । त्यस किसिमको आविष्कारलाई समाजसामु सार्वजनिक रूपमा खुला गरेबापत राज्यले केही वर्षका लागि पुरस्कार स्वरूप एकाधिकार दिएर आविष्कारकलाई संरक्षण गरेको मात्र हो । यसरी उजागर गरेको आविष्कारको ज्ञान उद्योग व्यवसाय, अनुसन्धानमूलक संस्था, विश्वविद्यालय प्रविधिज्ञहरू, विद्यार्थी तथा शिक्षक सबैका लागि ज्यादै उपयोगी र महत्त्वपूर्ण हुन्छ । संरक्षित आविष्कार अध्ययन अनुसन्धानका लागि जसले पनि उपयोग गर्न पाउँछ, एकलौटी अधिकारले असर पार्दैन तर कुनै आर्थिक लाभका लागि वा औद्योगिक व्यापारिक प्रयोजनका लागि उत्पादन प्रविधिमा प्रयोग गर्न भने सम्बद्ध धनीको स्वीकृति लिनैपर्छ ।
धेरै पाठकलाई शुरूमा कुरोको चुरो नबुझ्दासम्म संरक्षण दिएको वा एकलौटी अधिकार दिएको कुरा चित्त बुझ्दैन । उनीहरूले तर्क गर्छन्— सबैले प्रयोग गर्नु राम्रै त हो, एकजनालई मात्र एकाधिकार किन दिने ? वास्तवमा आजको विज्ञानको युगमा सञ्चार, यातायात, चिकित्सा शास्त्र, कृषि, औद्योगिक प्रविधि, विद्युतीय उपकरण आदि क्षेत्रमा जे जति उन्नति प्राप्त गरेका छौं, जेजति सुविधा उपयोग गर्न सकेका छौं ती सबै कुनै न कुनै प्रतिभाशाली व्यक्तिबाट गरिएको आविष्कारको प्रतिफल हो । त्यस्ता आविष्कारलाई पेटेन्ट वा व्यावसायिक गोपनीयता वा उपयोगी नमूनाको विधिबाट संरक्षण गर्ने सहुलियत पनि नदिएर व्यक्तिसँग भएका खुबी खुलासा नहुँदै तिनको मृत्युसँगै स्वाहा भएको भए के मानव समाजले आज यी सुविधा उपयोग गर्न पाउने थियो त ?
संरक्षणको अवधि भुक्तान भएपछि त आविष्कार उद्योग व्यापारका लागि चलन गर्न कसैसँग सोध्नु पर्दैन, जनताको सम्पत्ति हुन्छ । यस्तो संरक्षण सहुलियत त एक किसिमले आविष्कारकको दिमागभित्र बन्द भएको अमूल्य ज्ञानलाई मानव कल्याणको लागि स्वस्फूर्त रूपमा खुलासा गर्न लगाउने उपाय मात्र हो । आविष्कारकले मानवसमाजलाई लगाएको यति ठूलो गुनको तुलनामा यस्तो सहुलियत ठूलो कुरा होइन । वास्तवमा यो न्यायोचित नै हुन्छ । पेटेन्ट कुनै नौलो वस्तुको पनि हुन सक्छ अथवा कुनै नौलो प्रक्रियाको पनि हुन सक्छ । आविष्कारकबाट कुनै प्रविधिमा गरिएको सानै सुधार पनि पेटेन्ट गर्नलायक हुन सक्छ । संरक्षण दिने पद्धतिबाट राष्ट्र र समाजलाई पनि धेरै फाइदा हुन्छ । जस्तै यसबाट प्रतिभाहरूको सम्मान हुन्छ, सृजनात्मक कार्यलाई प्रोत्साहन हुन्छ, अनुसन्धान र विकासलाई प्रोत्साहन हुन्छ, प्रविधिको विकास हुन्छ, उपभोक्ताका लागि नयाँ वस्तु र सुविधाको पहुँच वृद्धि हुन्छ र उद्योगको प्रतिस्पर्धी क्षमताको विकास हुन्छ ।
आगामी दिनहरूमा यसको मर्म बुझ्न सकेमा र आविष्कारको सृजना, संरक्षण र उपयोगको सन्तुलन कायम गर्न सकेमा मुलुकको सामाजिक, आर्थिक तथा प्राविधिक विकासमा यसबाट ठूलो योगदान पुग्न सक्छ । जस्तो आविष्कारले नयाँ प्रविधि जन्माउँछ र नयाँ प्रविधिको उपयोगबाट नयाँ वा सुधारिएको वस्तु प्राप्त हुन्छ, मुलुकमा थप उन्नत प्रविधिको विकास गर्न सकिन्छ, प्राविधिक सम्झौता गरेर औद्योगिक राष्ट्रबाट सुधारिएको प्रविधि आयात गर्न सकिन्छ । आविष्कारको प्रभावकारी संरक्षण भएमा मात्र वास्तविक अर्थमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण हुन सक्छ । औद्योगिक उत्पादन प्रणालीमा नयाँ प्रविधिहरू प्रयोग गर्दा समय र लागतको बचत हुने र सुधारिएको वस्तु प्राप्त हुने हुँदा अधिकतम आर्थिक मुनाफा आर्जन गर्न सकिन्छ । अध्ययन, अनुसन्धान र सृजनशील कार्यमा लागेका व्यक्तिहरूले आविष्कारको संरक्षणबाट प्रोत्साहित भएर झन् नयाँ कुराहरू आविष्कार गर्छन् ।
आफ्नो मुलुकभित्र पनि लगानीकर्ताले आविष्कारको धनीसँग फ्रेन्चाइजिङ गरेर तथा इजाजत प्राप्त गरेर नयाँ प्रविधि उपयोगमा ल्याउने अवसर प्राप्त गर्न सक्छन् । सर्वसाधारण जिज्ञासुका लागि अमूल्य प्रविधि र ज्ञानको भण्डार उजागर हुन्छ । आविष्कारबाट प्रविधिको विकासमा टेवा पुग्छ र प्रविधिको विकासबाट यातायात, सञ्चार, चिकित्सा क्षेत्रलगायत कृषि र उद्योगको विकासमा टेवा पुग्छ । आविष्कारलाई संरक्षण दिँदा निजीक्षेत्रको विकासमा टेवा पुग्ने भएकाले यसले समग्रमा राष्ट्रको विकासमा मद्दत पुर्याउँछ । यसको संरक्षण पद्धतिबाट वैज्ञानिक खोज, अनुसन्धान, परीक्षण जस्ता क्रियाकलाप प्रोत्साहित हुन्छन् र नयाँ प्रविधिको विकास, नयाँ वस्तुको विकास, नयाँ चिन्तनको व्यावहारिक उपयोगजस्ता सृजनशील कार्यहरू सार्वजनिक रूपमा उजागर हुन्छन् र समाज समुन्नत र सभ्य हुँदै जान्छ ।
आज हाम्रो समाजमा रहेका जेजति वैभव र सुविधाहरू छन् ती सबै आविष्कारका उपज हुन् । यदि यस्ता आविष्कारको संरक्षण गर्ने पद्धतिको विकास नभएको भए स्रष्टाहरू उदासीन हुन्थे, साधन सुविधाको अभाव हुने थियो र आफ्नो अध्ययन अनुसन्धान सञ्चालन गर्न समर्थ हुने थिएनन् । फलस्वरूप नयाँ आविष्कारहरू उजागर हुन सक्ने थिएनन् र हाम्रो समाज आदिमकालीन नै रहने थियो । त्यसैले आविष्कारलाई संरक्षण दिने पद्धति आर्थिक सामाजिक विकास र आधुनिकीकरणको ऊर्जा हो ।
(लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका अध्यक्ष हुन् ।)