स्वदेशी सिमेण्ट उद्योगलाई प्रोत्साहन
असार २९, काठमाडौं । सरकारले व्यक्तिगत आयकर छूटको सीमालाई वृद्धि गरी व्यक्तिका लागि रु. २ लाख ५० हजार र दम्पत्तिका लागि ३ लाख रुपैयाँ पुर्याएको छ । यसअघि यस्तो सीमा क्रमशः २ लाख र २ लाख ५० हजार थियो ।
त्यस्तै, सरकारले स्वदेशी सिमेण्ट उद्योगलाई प्रोत्साहन दिने गरी तयारी सिमेण्ट तथा क्लिङ्कर दुवैको आयातमा भन्सार दरबन्दी बढाएको छ । सिमेण्टको क्लिङ्कर आयातमा यसअघि प्रतिमेट्रिक टन २ हजार २ सय रुपैयाँ भन्सार लाग्दै आएकोमा अबदेखि २ हजार ४ सय लाग्ने छ । त्यस्तै, तयारी सिमेण्टको आयातमा यसअघि ३ हजार ७ सय ५० रुपैयाँ भन्सार रहेकोमा अहिले ४ हजार ५० पुर्याइएको छ । त्यस्तै, सिमेण्ट उत्पादनमा प्रयोग हुने फलामको स्ल्यागमा यसअघि ५ प्रतिशत भन्सार लाग्दै आएकोमा त्यसलाई प्रतिमेट्रिक टन १ हजार रुपैयाँ पु¥याइएको छ । यसले आयातित सिमेण्टको मूल्य वृद्धि हुनेछ भने आयातित क्लिङ्करमा आधारित उद्योगको उत्पादन लागतसमेत बढ्नेछ ।
यसअघि जस्तै सरकारले सूर्तिजन्य पदार्थ र मदिराको भन्सार तथा अन्तःशुल्क दुवै बढाएको छ । २५ यूपीको (४२.८ प्रतिशत अल्कोहलको मात्रा भएको) मदिराको अन्तःशुल्क प्रतिलिटर रू. ४ सय ९७ बाट रू. ५ सय ३८ पु¥याइएको छ । त्यस्तै, ३० यूपीको मदिराको (३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको) अन्तःशुल्क प्रतिलिटर रू. ४ सय ६४ बाट रू. ५ सय १ पुगेको छ ।
यी मदिराको भन्सार दर प्रतिलिटर ८ सय रुपैयाँबाट १ हजार पु¥याइएको छ । बियर, वाइनलगायतका अन्य मदिराको पनि भन्सार तथा अन्तःशुल्क दुवै बढेको छ ।
त्यस्तै, चुरोट सुर्ती, पान, मसला, गुड्खा, बिडी, पाइप सुर्ती, सिगारमा पनि भन्सार तथा अन्तःशुल्क दुवै बढाइएको छ । ७० मिमिसम्मको फिल्टर भएको चुरोट प्रतिएम अन्तःशुल्क रू. ५ सय ९७ बाट रू. ६ सय ५७ पु¥याइएको छ । त्यस्तै, चुरोटको भन्सार दर प्रतिहजार खिल्ली ३ हजारबाट ३ हजार ५ सय रुपैयाँ पुर्याइएको छ ।
त्यस्तै, सरकारले गाडीको सीट तथा विभिन्न किसिमका कुर्सीहरूमा ३० प्रतिशत भन्सार लगाएको छ । सवारीसाधनको भन्सारदरमा भने कुनै परिवर्तन गरिएको छैन ।