साउन १, काठमाडौं । मुलुकको ऊर्जा सङ्कट समाधान गर्ने ध्येय राखेर सरकारले चालु आवका लागि बजेट प्रस्तुत गरेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले स्वागत गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा इपानका अध्यक्ष खड्गबहादुर विष्टले ऊर्जा क्षेत्रमा रू. ३७ अर्बको बजेट विनियोजन हुनु खुसीको विषय हो भन्दै आगामी दिनमा ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण बन्ने विश्वास व्यक्त गरे ।
आगामी तीन वर्षभित्र विद्युत्भार कटौती गर्ने प्रतिबद्धता बजेटमा आएकामा सन्तोष व्यक्त गर्दै इपानले सो अवधिमा सरकारले ५ सय ६० मेगावाट र निजी क्षेत्रबाट ६ सय २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र त्यसमा प्रमुख रूपमा निजी क्षेत्रलार्ई नै राखेकाले जिम्मेवारी थप भएको जानकारी दिएको छ ।
ऊर्जा क्षेत्रसँग रहेका नीतिगत तथा कानूनी व्यवधान एवम् अवरोध हटाई विद्युत् ऐन एवम् विद्युत् नियमावली संशोधन गर्न बजेटमा गरिएको प्रतिबद्धता स्वागतयोग्य रहेको इपानले जानकारी दिएको छ । इपानले प्रतिमेगावाट रू. ५० लाखका दरले अनुदान दिने तथा आव २०७९÷८० सम्म विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आयोजनाको आयकर छुट दिने भन्ने व्यवस्था जायज रहेको बताए ।
प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदै इपानले मुआब्जालगायत विषयमा तत्काल वैज्ञानिक विकल्प खोज्न आग्रह गरेको छ । निकट भविष्यमा हुन लागेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको अवसरमा जलाशययुक्त आयोजना निर्माणका लागि आग्रह गर्नुपर्ने माग इपानको छ । यस्तै विद्युत् खरिद सम्झौता (पिपिए)का सम्बन्धमा देखिएका समस्या समाधान गरी समयानुकूल बनाउन र बजेटमा तोकिएको उद्देश्य पूरा गर्नका लागि कार्यान्वयनमा विशेष ध्यान दिन इपानले सरकारसँग आग्रह गरेको छ । रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.