काठमाडौं । फागुनमा २० मध्ये १९ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर यथावत् राखेका छन् । ग्लोबल आइएमई बैंकबाहेक अन्यले माघकै ब्याजदरलाई फागुनमा समेत निरन्तरता दिएका छन् ।
ग्लोबल आइएमई बैंकले भने माघमा निक्षेपको अधिकतम ब्याजदर ५ दशमलव ७५ प्रतिशत रहेकोमा शून्य दशमलव २५ प्रतिशत बिन्दुले बढाएर ६ प्रतिशत पुर्याएको हो । पुसमा पनि अधिकांश बैंकले ब्याजदर यथावत् राखेका थिए । वित्तीय प्रणालीमा पर्याप्त तरलता भएकै अवस्थामा बैंकहरूले निक्षेपको ब्याजदर यथावत् राखेको पूर्वबैंकर पर्शुराम कुँवर बताउँछन् ।
केही महीनादेखि निक्षेपको ब्याजदर यथावत् राख्दै आएका बैंकहरूले अझै केही समय ब्याजदर नबढाउने अनुमान कुँवरको छ ।
अहिले बैंकहरूमा साढे ६ खर्ब रुपैयाँभन्दा बढी कर्जा दिने क्षमता रहेको अवस्थामा तत्काल निक्षेपको ब्याजदर बढ्न नसक्ने भनाइ पूर्वबैंकर कुँवरको छ । कर्जाको ब्याजदर पनि घट्दो क्रममा रहे पनि कर्जा विस्तार हुन नसक्दा बैंकहरूमा तरलता उच्च हुन पुगेको हो । अर्थतन्त्रले गति लिन नसक्दा कर्जाको माग बढ्न नसकेको बैंकरहरूले बताउँदै आएका छन् । विगतमा तरलता संकुचनमा पर्दा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर १२ प्रतिशतमात्र दिने भद्र सहमति बैंकहरूले गरेका थिए ।
नेपाल बैंकर्स संघले आर्थिक वर्ष (आव) २०८०/८१ को साउनदेखि भद्र सहमति अन्त्य गर्दै आफूखुशी ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेको थियो । त्यसपछि वाणिज्य बैंकहरूको ब्याजदर घट्दो क्रममै रहेको देखिन्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले मासिक रूपमा ब्याजदर सार्वजनिक गर्ने गरेका छन् । बैंकहरूले हरेक महीना लागू हुने ब्याजदर अघिल्लो महीनाको अन्तिम दिन सार्वजनिक गर्नुपर्ने प्रावधान छ । ब्याजदर निर्धारणसम्बन्धी राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले प्रत्येक महीना ब्याजदर परिवर्तन गर्दा साविकको ब्याजदरमा १० प्रतिशत मात्र घटबढ गर्न पाउँछन् ।
फागुनका लागि निरन्तरता दिइएको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर एन.आई.सी. एशिया र एनएमबि बैंकको बढी छ ।
यी दुवैले व्यक्तिगत मुद्दती निक्षेपमा समान दर अर्थात् अधिकतम ६ दशमलव ६ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका हुन् । एन.आई.सी. एशियाले निर्धारण गरेको ६ दशमलव ६ प्रतिशतको अधिकतम ब्याजदर ५ वर्षभन्दा बढी समयका लागि मुद्दती निक्षेपमा रकम जम्मा गरेको खण्डमा प्राप्त हुनेछ ।
२० वाणिज्य बैंकमध्ये नेपाल एसबिआई बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर सबैभन्दा कम छ । यो बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५ दशमलव ५० प्रतिशत ब्याजदर कायम गरेको छ ।
बैंकले कायम गरेको अधिकतम यो ब्याजदर ३ वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा मात्र लागू हुनेछ । यी बैंकहरूले संस्थागत मुद्दती निक्षेपमा भने व्यक्तिगत मुद्दती निक्षेपको भन्दा १ प्रतिशत बिन्दु कम अधिकतम ब्याजदर तय गरेका छन् ।