यूरोलेक्स ग्रूप एण्ड सेल्स प्रालिले दुई ब्राण्का वाटर प्युरिफायर मेशिन विक्री गर्दै आएको छ । कम्पनीले अक्वा ड्रप र रोटेक ब्राण्डका वाटर मेशिन विक्री गर्दै आएको ग्रूपका सञ्चालक जुगलप्रसाद चौधरीले बताए । कम्पनीले अक्वा ड्रप ब्राण्डको मेशिन भारत र चीनबाट आयात गर्ने गरेको छ । रोटेक ब्राण्ड भने ताइवानबाट आयात गर्ने गरेको छ । यूरोलेक्स ग्रूप एण्ड सेल्स प्रालि अक्वा ड्रप र रोटेक ब्राण्डका वाटर मेशिनको नेपालका लागि आधिकारिक विक्रेता हो ।
चौधरीका अनुसार चीन र भारतबाट आयात गरिने मेशिनको तुलनामा ताइवानको मेशिन गुणस्तरीय तथा टिकाउयुक्त हुन्छ । ताइवानको मेशिनको न्यूनतम आयु ६ वर्ष हुने गरेको छ । त्यस्तै, चीन तथा भारतबाट आयात गरिएका मेशिनको अवधि भने २ वर्षभन्दा बढी नहुने उनको भनाइ छ । कम्पनीले ताइवानको आरओटेक वाटर सिष्टम कम्पनी प्रालिले उत्पादन गर्ने मेशिन विक्री गर्दै आएको छ । यस्ता मेशिनको मूल्य भने मेशिनमा प्रयोग गरिएको पम्प कण्ट्रोलिङ सिष्टम र काट्रिजअनुसार फरक पर्छ । नेपालमा प्रायः घरायसी प्रयोजनका लागि यस्ता मेशिन प्रयोग हुने गर्छन् ।
विशेषगरी काठमाडौंमा पाइने पानी पिउनयोग्य नहुने कारणले गर्दा मेशिनको प्रयोग बढ्दो छ । त्यस्तै, मानिसमा स्वास्थ्यप्रति बढ्दै गएको चेतनाले गर्दा पनि मेशिनको माग बढिरहेको हो । चौधरीका अनुसार विगतको तुलनामा अहिले करीब ३० देखि ३५ प्रतिशतसम्म यस्ता मेशिनको माग बढिरहेको छ । घरायसी प्रयोजनका लागि विशेषगरी आठदेखि १५ लिटर प्रतिघण्टा क्षमताको मेशिनको माग हुने उनको अनुभव छ । उक्त मेशिनको मूल्य करीब १२ हजार रुपैयाँभन्दा बढी पर्छ । त्यस्तै व्यावसायिक प्रयोजनका लागि ५ सयदेखि ५ हजार प्रतिघण्टा क्षमताको मेशिनको माग हुने गरेको छ ।
त्यस्ता मेशिन व्यावसायिक पानी उत्पादन कम्पनी, फर्मास्युटिकल तथा उद्योगमा बढी खपत हुने गरेका छन् । साथै, यस्ता मेशिनबाट शुद्धीकरण गर्ने पानी नै किड्नी सफा गर्ने डाइलोसिस प्रविधिमा समेत प्रयोग हुने गरेको उनले बताए । यूरोलेक्सले स्वचालित तथा म्यानुअल दुवै प्रकारका ताइवानी मेशिन विक्री गर्छ । यो अमेरिकन प्रणालीको रिभर असमोसिस (आरओ) अनुसार पानी शुद्धीकरण गर्ने मेशिन हो । आरओले पिउने पानी मात्र छानेर राख्छ र फोहर पानीलाई छुट्टै पठाउने गर्दछ ।
नेपालमा कम्पनीले ५ हजारदेखि ८ हजार लिटर प्रतिघण्टासम्मको क्षमता भएका मेशिन पनि विक्री गर्छ । त्यस्ता मेशिनको मूल्य क्षमताअनुसार फरक पर्ने चौधरीले बताए । ग्राहकले माग गरेमा त्योभन्दा बढी क्षमताका मेशिन पनि उपलब्ध गराउने उनको भनाइ छ ।
यूरोलेक्सले विक्री गर्ने प्रत्येक मेशिनमा १ वर्षको वारेण्टी दिएको छ । त्यस्तै, मेशिन खरीद गर्ने ग्राहकको घरमै निःशुल्क मेशिन ढुवानी तथा जडान सुविधा पनि प्रदान गर्ने गरेको छ । मेशिन मर्मतका लागि आवश्यक सम्पूर्ण स्पेयर पार्ट्स पनि यहाँ उपलब्ध छन् । कम्पनीले पुरानो मेशिनको प्रतिस्थापनमा नयाँ मेशिन साटिदिने गरेको उनले बताए । हाल कम्पनीले काठमाडौं, पोखरा, वीरगञ्ज र बिर्तामोडमा आधिकारिक डिलर स्थापना गरेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.