- बजार बियरिश रहेको एडी रेसियोको सङ्केत
- खरीद चाप उच्च
- ७१ कम्पनीको मूल्य घट्यो
- छानेरै लगानी गरिरहेका छन् लगानीकर्ता
साउन ३१, काठमाडौं । नेप्से आफ्नो ‘अल टाइम हाइ’ रेकर्डभन्दा मात्र ६३ अङ्कको दूरीमा आइपुगेको छ । अन्य दिनहरूमा राजनीतिक अस्थिरताले नेप्से परिसूचकमा प्रभाव पर्ने विश्लेषण गर्दै आइएको भए पनि आइतवार ‘नेपाल बन्द’ हुँदा पनि नेप्सेले फेरि नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसूचकले २०६५ भदौ १५ गते बनाएको आफ्नो ‘अल टाइम हाइ’ रेकर्ड १ हजार १ सय ७५ विन्दुलाई पछ्याउँदै १ हजार १ सय १२ विन्दुसम्मको यात्रा तय गरेको छ । यो अघिल्लो दिनको विन्दुभन्दा करीब २४ अङ्क बढी हो । नेप्से हाल आइपुगेको स्थान २०६५ भदौ १७ यताकै उच्च विन्दु पनि हो ।
बन्दको दिन पनि बजारमा ९८ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बजार बुलिश प्रवृत्तिमा रहेकाले खरीदकर्ताको सङ्ख्या बढेको छ । कारोबारमा आएका १ सय ३३ कम्पनीमध्ये ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने ७१ कम्पनीको घटेको छ । यसको अर्थ बजारमा लगानीकर्ता अन्धाधुन्ध लगानी गरिरहेका छैनन् भन्ने पनि देखिएको छ । त्यस्तै, १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यो दिन एडी रेशियो शून्य दशमलव ६७ रहेको छ । यसले बजार बुलिश हुन नसकेको सङ्केत गर्छ । यो रेसियो १ भन्दा बढी भएमा बजार बुलिश प्रवृत्तिमा रहेको देखिन्छ । नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) अहिले ओभर बट जोन अथवा ७४ दशमलव ७६ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद चाप उच्च रहेको देखाउँछ ।
बजार हालसम्मकै उच्च विन्दुमा पुगेकाले लगानीकर्ताले ध्यान दिन भने जरुरी रहेको केही विश्लेषकहरू बताउँछन् ।
उनीहरूका अनुसार बजारमा भएका कम्पनीहरूको राम्ररी अध्ययन गर्नु आवश्यक छ । बिहीवार सबै कम्पनीको मूल्य नबढ्नुले पनि लगानीकर्ता त्यसमा सचेत भएको देखिएको छ । कम्पनीको हालको नाफा, प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपातलगायत हेरेर लगानी गर्नु भने जरुरी हुन्छ ।
बजारमा अहिले कम्पनी र शेयर सङ्ख्या २०६५ यता निकै बढेकाले पनि अहिलेको ‘भोलुम’अनुसार नेप्सेको वृद्धिमा डराउनु पर्ने अवस्था नरहेको कतिपयको धारणा छ । लगभग १ सय ६ को डिम्याट कारोबार अनिवार्य भइसकेकाले सीडीएस एण्ड क्लियरिङ लिमिटेड सञ्चालनसँगै कारोबारको आधारमा उल्लेख्य वृद्धि हुने भएकाले पनि बजारले नयाँ उचाइ लिनेमा लगानीकर्ताहरू आशावादी बनेका छन् । अहिले बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको चुक्तापूँजी वृद्धि हुने खबरले पनि बजारलाई नयाँ उचाइ नजीक धकेलिरहेको छ । बजारले जहिले पनि पुरानो उचाइ काटेपछि अर्काे निश्चित उचाइ बनाउनेमा दुईमत नरहे पनि निश्चित विन्दुपछि पुरानो चक्र अपनाउने धेरैको विश्लेषण छ ।
आइतवार माछापुच्छ्रे बैङ्कको रू. ११ करोड ८१ लाखबराबरको शेयर किनबेच भएको छ । नेपाल इन्भेष्टमेण्ट बैङ्कको शेयर मूल्य १० प्रतिशतले बढ्यो । बैङ्किङ समूहका कम्पनीको मात्रै ७५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी, कालिञ्चोक डेभलपमेण्ट बैङ्कको शेयर मूल्य ८ दशमलव ३३ प्रतिशतले घटेको हो । केही लगानीकर्ताले टेलिकमको मूल्यमा समेत खेलको आशङ्का गरे पनि कम्पनीको नाफा १६ प्रतिशतले बढेपछि पनि आकर्षण बढेको हुनसक्ने बजार स्रोत बताउँछ ।