भारतीय आयल निगम (आईओसी) ले अमलेखगञ्ज–रक्सौल पाइपलाइन बुट मोडलमा बनाउने प्रस्ताव गरेको छ । ३ महीनाअघि पठाएको सो प्रस्ताव निर्णयका लागि अहिले मन्त्रिपरिषद्को पूर्वाधार समितिमा पुगेको वाणिज्य तथा आपूर्ति सचिव लालमणि जोशीले अभियानलाई बताए ।
‘आईओसीले पाइपलाइन निर्माण गर्न १ अर्ब ६ करोड भारतीय रुपैयाँ लाग्ने अनुमान गरेको छ,’ उनले भने, ‘बुट मोडलअनुसार पाइपलाइन निर्माण, सञ्चालन र त्यसपछि हस्तान्तरण गर्ने कार्य हुन्छ ।’ सो पाइपलाइनको दूरी ४१ किलोमिटर रहेको छ । त्यसमध्ये ३९ किलोमिटर नेपालतर्फ पर्छ ।
अहिले नेपालले अधिकांश पेट्रोलियम पदार्थ भारतबाट रक्सौल नाका हुँदै ल्याउने गरेको छ । सरकारले २०६६ माघमा सो पाइपलाइन निर्माण गर्ने निर्णय गरेको थियो । त्यसयता नेपाल र भारतले संयुक्त लगानीमा निर्माण गर्ने वा आफ्नो मुलुकमा पर्ने पाइपलाइन आफैले निर्माण गर्ने भन्ने विषयमा द्विपक्षीय छलफल भए पनि निर्णय हुन सकेको थिएन । भारतबाट पाइपलाइन हुँदै तेल नल्याएमा आपूर्ति गर्न सक्ने अवस्था नरहेकाले आईओसीको प्रस्ताव उपयुक्त देखिएको जोशीको भनाइ छ । मन्त्रिपरिषद्मा दुई हप्ताअघि पठाइएको सो प्रस्तावबारे चाँडै निर्णय हुन सक्ने उनले जानकारी दिए ।
वर्ष ८, अंक ८४, बुधवार २७ मङ्सिर, २०६९