उद्योग मन्त्रालयले विशेष आर्थिक क्षेत्र (सेज) को कार्यान्वयन गठन अध्यादेशमार्फत गर्ने भएको छ । यसका लागि मन्त्रालयले विशेष आर्थिक क्षेत्र विकास समिति गठन आदेशको मस्यौदा मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ । विकास समितिमार्फत सेज सञ्चालन गर्न अर्थ मन्त्रालय पनि सहमत भएपछि यस्तो प्रक्रिया अघि बढाइएको उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले अभियानलाई बताए । ‘सेज गठन आदेशको मस्यौदा अध्ययन र सुझावका लागि कानून मन्त्रालयमा पठाएका छौं,’ उनले भने, ‘कानूनबाट फिर्ता आउनेबित्तिकै त्यसलाई मन्त्रिपरिषद्मा पठाउनेछौं ।’ कानून मन्त्रालयले सेज गठन आदेशको मस्यौदाबारे छलफल भइरहेको जनाएको छ । ‘अर्थ मन्त्रालयबाट यससम्बन्धी सुझाव पाइसकेका छौं,’ कानून मन्त्रालयका सहसचिव दुर्गा ढुङ्गेलले भने, ‘थप छलफल गरी अध्यादेशको मस्यौदा छिट्टै उद्योग मन्त्रालयमा फिर्ता गर्नेछौं ।’संसद् नभएकाले सेजसम्बन्धी ऐन ल्याउन नसकिएको तथा भैरहवाको सेज सञ्चालन गर्न यसै वर्षभित्र अध्यादेश ल्याउने सम्भावनासमेत नभएकाले सेज सञ्चालनका लागि विकास समितिको अवधारणा ल्याइएको सचिव ज्ञवालीले बताए । ‘हामीले गठन आदेशको मस्यौदा सेजको पहिले नै बनेको मस्यौदामा आधारित भएर तयार गरेका छौं,’ उनले भने, ‘पहिल्यै तयार पारिएको मस्यौदामा सेजभित्र स्थापना हुने उद्योगलाई दिने भनिएका सुविधाहरू अहिलेको गठन आदेशको मस्यौदामा समेत व्यवस्था गरिएको छ ।’
वर्ष ८, अंक ८८, शुक्रवार २९ मङ्सिर, २०६९