अमेरिका । नवनियुक्त अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले इजरायल र इजिप्टबाहेक अन्य देश तथा अन्तरराष्ट्रिय संगठनहरूलाई दिंदै आएको विदेशी सहायता तथा अनुदानका नयाँ कार्यक्रमहरू रोक्का गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको निर्देशनमा आपतकालीन खाद्य कार्यक्रमबाहेकका अन्य सहायता कार्यक्रमहरूलाई रोक्का गरिएको जनाइएको छ ।
यो निर्णयले स्वास्थ्य सेवा प्रदान गर्ने महत्वपूर्ण कार्यक्रमहरूलाई असर गर्ने देखिएको छ। रोक्का हुनेमा प्रमुख स्वास्थ्य सेवाहरू रहेका छन् । एचआईभी विरोधी कार्यक्रम र अन्य जीवन रक्षक सेवाहरूलाई समेत यस रोक्का अन्तर्गत राखिएको बताइएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उच्च अधिकारीहरूलाई 'कानुनले अनुमति दिएको हदसम्म कुनै पनि नयाँ दायित्व पूरा नगर्न निर्देशन दिएका छन्। यो निर्देशनपछि मानवीय संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्। अक्सफाम अमेरिकाका प्रमुख एबी म्याक्सम्यानले भने, "ट्रम्प प्रशासनले यो निर्णयमार्फत संकटमा परेका समुदायहरूको जीवनलाई खतरामा पारेको छ र द्विदलीय सहायताका नीतिहरूलाई कमजोर बनाएको छ।"
यो स्थगन राष्ट्रपतिको एड्स राहतका लागि आपतकालीन योजना (पेप्फर) मा पनि लागू हुनेछ। सन् २००३ मा शुरु भएको यो कार्यक्रमले हालसम्म २५ लाखभन्दा बढी मानिसको जीवन बचाउन सहयोग गरेको छ। यसको कोष मार्च २०२५ सम्मका लागि मात्र विस्तार गरिएको थियो । ट्रम्प प्रशासनको यो निर्देशनले थप प्रभाव पार्ने देखिन्छ।
इजरायल र इजिप्टलाई छूट, युक्रेनमाथि दबाब बढाइने
ट्रम्प प्रशासनको निर्देशनले इजरायल र इजिप्टलाई सहायता रोक्काबाट अछुतो राखिएको छ। यी देशहरूले अमेरिकी सैन्य सहायता प्राप्त गरिरहनेछन् । तर, यी देशहरूलाई मानव अधिकार सुधारका लागि निरन्तर दबाब दिइने पनि बताइएको छ।
रुसको आक्रमण प्रतिरोध गर्न अमेरिकी हतियार सहायता प्राप्त गर्दै आएको युक्रेनलाई भने यस निर्णयले प्रत्यक्ष असर गर्ने कुनै संकेत देखिएको छैन। सन् २०२३ मा अमेरिकाले ६० अर्ब डलरभन्दा बढी वैदेशिक सहायता खर्च गरेको भए पनि यो अमेरिकी सरकारको कुल खर्चको केवल १ प्रतिशत हो । यो निर्णयका कारण विश्वभरका सहायता परियोजनाहरू प्रभावित हुने र धेरै मानिसहरूको जीवन संकटमा पर्ने बताइएको छ।
पूर्व यूएसएआईडी अधिकारी जेरेमी कोनिन्डिकले यो निर्णयलाई "पागलपन" को संज्ञा दिँदै भनेका छन्, "यदि यो निर्णय लागू गरियो भने, यसले धेरै मानिसहरूको मृत्यु निम्त्याउनेछ।" एजेन्सी