काठमाडौं। अपोलो टायर्स र म्यानचेस्टर युनाइटेडबीचको सहकार्यमा युनाइटेड वी प्ले (यूडब्ल्यूपी)को चौथो संस्करण सम्पन्न भएको छ । युनाइटेड वी प्लेमार्फत नेपालका युवा फुटबल खेलाडी भक्तबहादुर परियारले म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा प्रशिक्षणका साथै फुटबल लेजेन्डहरूसँग खेल्ने अवसर पाएको अपोलो टायर्सले बताएको छ ।
एसिया प्यासिफिक र मिडल इस्ट एन्ड नर्थ अफ्रिका (मेना) क्षेत्रका एक हजार पाँच सय प्रतिस्पर्धी यो अवसरका लागि प्रतिस्पर्धामा थिए । सहभागीमध्ये नेपालका परियारसहित भारत, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई)का ६ जनाले मात्रै यो अवसर पाएको कम्पनीले बताएको छ ।
भक्तबहादुर परियारसँगै भारतका पीसी लालछुआनवमा, श्रीजल किस्कु मोहम्मद अयान, थाइल्यान्डका चानसन चैयाथम र यूएईका शायन नबिलले यो अवसर पाएका हुन् । उनीहरूले खेल्ने र म्यानचेस्टर युनाइटेड सकर स्कुलका प्रशिक्षकहरूसँगै प्रशिक्षण गर्ने मौका पाएका थिए । यस्तै, म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी एवं आइरिस फुटबल प्रशिक्षक जोन ओुसियालगायतसँग भेट्ने अवसर पनि पाएको बताइएको छ ।
अपोलो टायर्सले म्यानचेस्टर युनाइटेडसँगको सहकार्यमा युवा फुटबल खेलाडीलाई प्रोत्साहन गर्न यो युनाइटेड वी प्ले कार्यक्रम शुरू गरेको थियो । कम्पनीले यसलाई ‘वान्स–इन–अ–लाइफटाइम’ अवसर भनेको छ । अपोलो टायर्सका मार्केटिङ, खेलकुद एवं सामुदायिक प्रमुख रेमस डी क्रुजले युवाका लागि यो फुटबलमा मात्र नभएर जीवनलाई नै सही स्थानमा राख्न सिकाउने अवसर भएको बताए ।