चितवन। श्रीलंकाको कोलोम्बोमा सम्पन्न अन्तरराष्ट्रिय जेम्स एण्ड ज्वेलरी एक्स्पो (पत्थर र गहनाको प्रदर्शनी)मा नेपालको प्रतिनिधित्व गर्दै चितवन चेम्बर अफ कमर्स सहभागी भएको छ । चेम्बरका तर्फबाट उपाध्यक्ष व्यवसायी रुविन रामुदामु, ईश्वरलाल रामुदामु लगायत व्यवसायीको सहभागिता थियो । जनवरी ४ देखि ६ सम्म भएको ३१औं जेम्स एण्ड ज्वेलरी एक्स्पोमा रामुदामुले चितवन चेम्बर अफ कमर्सको तर्फबाट नेपालको प्रतिनिधित्व गरेका हुन् । नारायणगढस्थित जय सन्तोषी माँ सुनचाँदी पसलका सञ्चालक समेत रहेका उनले एक्स्पोमा नेपालको सुनचाँदी व्यवसायको अवस्थाबारे जानकारी गराएका थिए । एक्स्पोमा आधुनिक डिजाइनका सुनचाँदीका गहनाको प्रदर्शनी गरिएको जानकारी दिँदै उनले एक्स्पोबाट सिक्ने अवसर पाएको बताए ।
श्रीलंका जेम्स एण्ड ज्वेलरी एशोसिएशनको आयोजना तथा नेशनल जेम्स एण्ड ज्वेलरी अथोरोटी र एक्सपर्ट डेभलपमेन्ट बोर्डसँगको सहकार्यमा भएको उक्त एक्स्पो श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दासानायकेले उद्घाटन गरेका थिए । एक्स्पोमा नेपाल, चीन, भारत, संयुक्त राज्य अमेरिकासहित युरोपेली र अन्य देशका व्यवसायीको सहभागिता रहेको थियो । एक्स्पोमा श्रीलंकाका रतनपुर, इलाहारा, बेरुवाला, इन्लियोगटा, गाला, कोलम्बो क्षेत्रबाट स्थानीय उत्पादनका रूपमा आकर्षक पत्थर तथा गहना प्रदर्शनीमा राखिएको थियो ।