काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
फागुन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ छ । सोही रकम बराबरको हकप्रद शेयर नयाँ आयोजनामा लगानी र पुरानो आयोजनाका लागि लिएको कर्जा घटाउने प्रयोजनका लागि निष्कासन गर्ने निर्णय कम्पनीले गरेको हो ।
कम्पनीले मातृभूमी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालिले विकास गरेको १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्ने तथा ८ दशमलव ५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजनको निर्माण गर्दा लिएको ऋण घटाउने योजना बमोजिम हकप्रद शेयर निष्कासनको प्रस्ताव अघि सारेको हो ।
प्रस्तावित हकप्रद शेयर विद्युत नियमन आयोगले स्वीकृति दिएमा नेपाल धितोपत्र बोर्डमा प्रक्रिया अघि बढ्ने छ । साथै कम्पनीको वार्षिक साधारण सभाले समेत उक्त प्रस्ताव पारित गर्नुपर्नेछ ।