नेपालको संविधानअनुसार नेपालमा स्थापित सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, वाणिज्य इजलास, विशेष अदालत, राजस्व न्यायाधिकरण आदि पूर्ण न्यायिक निकायहरू हुन । कम्पनी ऐन, २०६३ को दफा १६९ (३) र (६) ले कम्पनी सल्लाहकार बोर्डर बैङ्क तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ अन्तर्गत स्थापित ऋण असुली न्यायाधिकरण पनि जिल्ला अदालतसरह न्यायिक निकाय हुन् । तर नेपालका केही ऐनहरूले नेपाल सरकारका विभाग अथवा कार्यालयहरूलाई सम्बन्धित कानूनअन्तर्गत निकायहरूलाई दर्ता गर्ने वा लाइसेन्स दिने र सम्बन्धित कानूनबमोजिम कार्य गरे नगरेको बारे अनुगमन गर्ने तथा गलत कार्य गरेमा जरीवाना गर्ने, दर्ता वा लाइसेन्स निलम्बन गर्ने वा खारेज गर्ने, अथवा सम्बन्धित अदालतमा मुद्दा चलाउने आदिजस्ता अधिकार प्रदान गरेको छ । यस्ता निकायलाई नै नियमनकारी निकाय अथवा अर्धन्यायिक निकाय भनिन्छ । यस्ता नियमनकारी निकायलाई निम्न प्रकारले विभाजन गर्न सकिन्छ :
दर्ता गर्ने तथा नियन्त्रण गर्ने
कम्पनी ऐन, २०६३ ले कम्पनी रजिस्ट्रारको कार्यालयलाई, कम्पनी, सहकारी ऐन, २०७४ ले सहकारी विभागलाई, सहकारी संस्था, साझेदारी ऐन, २०२० ले वाणिज्य विभागलाई, घरेलु तथा ग्रामीण उद्योग विभाग वा उद्योग विभागले साझेदारी फर्म, दर्ता गर्ने र ती निकायमाथि नियन्त्रण गर्ने अधिकार प्रदान गरेको छ ।
लाइसेन्स दिने तथा नियन्त्रण गर्ने
खानी विभागले खानी उत्खनन्को लाइसेन्स दिने, नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्त कम्पनीहरूलाई वित्तीय कारोबार गर्न लाइसेन्स दिने, नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार गर्ने संस्थालाई लाइसेन्स दिने, बीमा समितिले सङ्गठित संस्थाहरूलाई जीवन वा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने लाइसेन्स दिने, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स ऐन, २०५३ अन्तर्गत लेखा व्यवसाय गर्ने व्यक्तिलाई लाइसेन्स दिने, आदि अधिकार प्रदान गरेको छ । आन्तरिक राजस्व विभाग तथा यसका कार्यालयहरू, भन्सार विभाग तथा यसका कार्यालयहरूले आयकर, मू.अ.कर, अन्तःशुल्क, भन्सार महशुल आदि निर्धारण गर्ने तथा असुलउपर गर्ने अधिकार पाएको छ ।
सम्बन्धित ऐनहरूले उपर्युक्त वर्णित नियमनकारी निकायहरूलाई आफूले नियन्त्रण गर्ने निकायहरूमाथि सम्बन्धित ऐन नियमबमोजिम र लाइसेन्समा उल्लेखित शर्तबमोजिम कार्य गरे नगरेको अनुगमन गर्ने, जरीवाना गर्ने, निलम्बन गर्ने वा लाइसेन्स खारेजसमेत गर्ने र साथसाथै ती निकाय तथा सोका व्यवस्थापकलाई झिकाउने, बयान गराउने, प्रमाण बुझ्ने र लिखतहरू पेश गर्न लगाउनेसम्बन्धमा प्रचलित कानूनबमोजिम अदालतलाई भएसरहको अधिकार प्रदान गरेको छ ।
दर्ता गर्ने अथवा लाइसेन्स दिने अधिकार नभए पनि नियमनकारी निकाय
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ ले राजस्व अनुसन्धान विभागलाई राजस्व सम्बन्धित अनुगमन गर्न तथा कारबाही चलाउन अधिकार सुम्पेको छ । त्यस्तै प्रकारले भ्रष्टाचार निवारण ऐन, २०५९ र नेपालको संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कुनै पनि निकायमा भएको भ्रष्टाचारको जाँच तथा कारबाही गर्ने अधिकार प्रदान गरेको छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुसन्धान गर्ने, कसूर स्थापित गर्ने, पक्राउ गर्ने तथा अदालतमा मुद्दा चलाउने अधिकारसमेत प्रदान गरेको छ । साथसाथै यस ऐनले अन्य नियमनकारी निकायहरूलाई पनि यस ऐनअन्तर्गत आ–आफ्ना सदस्य वा लाइसेन्स दिएका निकायहरूमाथि कारबाही चलाउने, जरीवाना गर्ने अथवा लाइसेन्स वा सदस्यता निलम्बन गर्ने वा रद्द गर्नेसम्मको अधिकार प्रदान गरेको छ ।
नियमनकारी निकायको न्यायिक प्रक्रिया
अदालतहरूले संक्षिप्त कार्यविधि ऐन, २०२८ अनुसारको न्यायिक प्रक्रिया अँगाल्नुपर्ने हुन्छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सम्बन्धित ऐनमा व्यवस्था भएअनुसार दोषीमाथि कारबाही चलाई धरौटी लिई अथवा नलिई सक्षम अदालतमा मुद्दा चलाउने अधिकार छ । सक्षम अदालतले, दोषीले सम्बन्धित ऐनको जुन दफा तथा दफाहरूअनुसारको अपराध गरेको छ, सो ऐनमा सो दफा अथवा दफाहरूको उल्लङ्घन गर्दा तोकिएको सजायको सीमाभित्र रही, दोषको गहनताअनुसार सजाय मुकरर गर्ने गरेका छन् । अर्थात्, अदालतहरू ऐन नियमबाट निर्धारित प्रक्रिया र स्पष्ट–उल्लेखित–सीमामा बाँधिएका छन् ।
उपर्युक्त ऐनहरू नियमनकारी निकायहरूले दोष तथा सजाय निर्धारण गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे मौन छन् । सम्बन्धित ऐनहरूले एउटै दफाअन्तर्गत सबै किसिमका अपराधलाई समेटेको हुन्छ र सजायको एउटा ठूलो परिधि जस्तै, लिखित रूपमा सचेत गराउनेदेखि अनुमतिपत्र, इजाजतपत्र वा दर्ता खारेज गर्नेसम्मको सजाय तथा १० लाखदेखि ५ करोड रुपैयाँसम्मको जरीवाना गर्न सक्ने अधिकार ती नियमनकारी निकायका पदाधिकारीको स्वविवेकमा नै छोडिदिएको छ । नियमनकारी निकायले आफ्ना सदस्यहरूको अनुमतिपत्र, इजाजतपत्र वा दर्ता निलम्बन गर्ने वा खारेज गर्ने अधिकारको प्रयोग किटानीका साथ कुन अवस्थामा मात्र गर्न पाइनेसम्मको पनि व्यवस्था छैन । उदाहरण, एउटा सूचक संस्थाको कर्मचारीले कुनै व्यक्तिको परिचयपत्रमा फोटो टाँस गर्न छुटाएमा वा परिचयपत्र नै हराइदिएमा सम्बन्धित नियमनकारी निकायलाई यस्तो सूचक संस्थाको अनुमतिपत्र, इजाजतपत्र वा दर्ता निलम्बन वा खारेजसम्म गर्न सक्ने तथा ५ करोड रुपैयाँसम्म जरीवाना गर्न सक्ने अधिकार छ ।
नियमनकारी निकायहरूका न्याय गर्ने अधिकारी वा न्याय गर्ने समितिका सदस्यहरूमा न्यायिक प्रक्रियामा संलग्न हुँदा हुनुपर्ने तल उल्लेखित न्यूनतम गुणहरू पनि विद्यमान छ अथवा छैन भन्नेबारे ती कानून बनाउँदा विचार पनि गरिएको छैन ।
- समन्यायको सिद्धान्त पालना गर्न सक्ने
- शुद्ध अन्तःस्करण भएका
- प्राकृतिक न्यायका सिद्धान्तहरूको ज्ञाता तथा सोको पालनाप्रति कटिबद्ध
- सम्बन्धित कानून र सोअन्तर्गतका नियमहरूको ज्ञाता र कसूरको मात्रा वा गाम्भीर्यताअनुरूप तुलनात्मक रूपमा अनुपातिक र उचित सन्तुलन कायम गर्न सक्ने । (ने.क.पा. २०७३ भाग ५८ अङ्क ५)
लेखक सीए हुन् ।