काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच आज भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा उनीहरुबीच भएको भेटवार्ताका क्रममा नेपाल र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ ।
फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतापत्रमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्याण्डका राजदूत रीना रिक्का हेइकाले हस्ताक्षर गरेका छन् ।
उक्त परियोजनामार्फत नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तिय परिचालन गर्ने लक्ष्य राखिएको छ । अनुदान प्राप्त परियोजनाहरूमार्फत नेपालले खानेपानी, फोहोर व्यवस्थापन, ऊर्जा र विद्युत, ‘डिजिटलाइजेसन’, मौसम विज्ञान, स्वास्थ्य सेवा प्रविधि, विपद् व्यवस्थापन र उद्धार सामग्रीलगायत विविध सामाजिक–आर्थिक पूर्वाधारमा लगानी गर्न सक्ने जनाइएको छ ।
आर्थिक परिचालन प्रक्रिया सार्वजनिक क्षेत्र लगानी सुविधा मार्गदर्शनद्वारा निर्देशित हुनेछ । जुन आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ढाँचामा आधारित छ । नेपाल अतिकम विकसित देश (एलडीसी) को सूचीमा परेकाले ५० प्रतिशत आर्थिक सहायता अनुदानको रुपमा उपलब्ध गराइनेछ । कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले यो सम्झौता नेपालको आर्थिक सामाजिक क्षेत्रको पूर्वाधार विकासका लागि महत्वपूर्ण उपलब्धी हुने बताए । फिनल्याण्डका विकासमन्त्री ताभियोले सार्वजनिक लगानी परिचालन नेपाल र फिनल्याण्डबीच आर्थिक सहकार्य विकासका लागि महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरेका थिए।
उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच शिष्टाचार भेट
यता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङबीच पनि शिष्टाचार भेटर्वाता भएको छ । आज मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले नेपाल र दक्षिण कोरियाबीच रहेको सौहार्दपूर्ण सम्बन्ध पछिल्ला वर्षमा थप प्रगाढ र सुमुधुर बन्दै गएकामा खुसी व्यक्त गर्दै दुई देशका साथै जनस्तरमा मित्रता, समझदारी र आपसी सहयोग निरन्तर अभिवृद्धि भइरहेको बताएका थिए ।
नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तार र प्रवर्द्धन गर्न कोसेढुङ्गा सावित गरेको मन्त्री भण्डारीले उल्लेख गरे । “नेपालको सामाजिक तथा आर्थिक विकासका क्षेत्रमा दक्षिण कोरिया महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको छ”, उनले भने, “नेपालमा कृषि, उद्योग, पर्यटन, निर्यात प्रवर्द्धन र जलविद्युत् विकासका लागि कोरियन अनुभव, ज्ञान र सीपबाट हामी थप लाभान्वित हुन चाहन्छौँ ।”
कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स र हुन्डाइ मोटर्सले नेपालमा ‘असेम्बलिङ’ प्लान्ट स्थापना गरी टेलिभिजन र कार उत्पादन गरिरहेकामा खुसी व्यक्त गर्दै मन्त्री भण्डारीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले कोरिया सरकारमार्फत लगानी बढाउन आग्रह गरे ।
“पछिल्लो समयमा केही कोरियाली बहुराष्ट्रिय कम्पनीले नेपालमा लगानी विस्तार गरेकामा हामीलाई खुसी लागेको छ । लगानीका क्षेत्रमा दुई मुलुकबीच अपेक्षित रूपमा सहकार्य विस्तार हुन सकेको छैन, तसर्थ आगामी दिनमा नेपालमा कोरियाली लगानी थप विस्तार भई उत्पादन तथा रोजगारी अभिवृद्धि हुँदै जानेमा विश्वास लिएका छौँ”, मन्त्री भण्डारीले भने । राजदूत तेयोङले नेपालमा कोरिया सरकारले लगानी बढाउन चाहेको बताए ।
उनले अहिलेसम्मका लगानी मात्र पर्याप्त नभएको उल्लेख गर्दै नेपालका जुनसुकै क्षेत्रमा लगानी बढाउन कोरिया सरकार तयार रहेको मन्त्री भण्डारीलाई जानकारी दिनुभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । तेयोङले उत्पादन तथा रोजगारी अभिवृद्धि गर्ने ठाउँ पाए दक्षिण कोरिया सरकारले लगानी बढाउँदै जाने बताए । रासस