नेपाल वन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताका लागि विश्वमा नै धनी मुलुकका रूपमा परिचित छ । नेपालले जम्मा शून्य दशमलव १ प्रतिशत भूभाग मात्र ओगटेको छ भने यहाँ विश्वमा पाइने वनस्पति र वन्यजन्तुमा ३ दशमलव २ प्रतिशत वनस्पति र १ दशमलव १ प्रतिशत वन्यजन्तु पाइन्छन् । ती वन्यजन्तु तथा वनस्पतिसँग सम्बद्ध जैविक विविधताको वैज्ञानिक, सांस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट समेत महत्त्व बढ्दै गएको छ । तसर्थ तिनको संरक्षण गर्नु हाम्रो प्रमुख दायित्व हो ।
वासस्थानको क्षति, अन्तरराष्ट्रिय बजारमा रहेको उपयोगको उच्च माग, अधिक प्रयोग, चोरी शिकारी, बेरोजगारी तथा अज्ञानता तिनीहरू लोप हुनुको प्रमुख कारण हुन् । वैज्ञानिक, सांस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट वन्यजन्तु तथा वनस्पतिहरूको महत्त्व भएकाले तिनको संरक्षण गर्न आवश्यक छ । अन्तरराष्ट्रिय माग पूरा गर्न हुनसक्ने अधिक संकलन र व्यापारलाई नियन्त्रण तथा नियमन गर्दै उक्त प्रजातिको संरक्षण गर्नु आवश्यक छ ।
संरक्षित क्षेत्रको स्थापनाले वन्यजन्तु, वनस्पति, सिमसार र प्राकृतिक वनक्षेत्रको संरक्षण भएको छ । यिनीलाई प्राकृतिक रूपमा बचाइराख्नु सभ्य समाजको पहिचान र तपार्इं हामी सबैको जिम्मेवारी पनि हो । संरक्षित क्षेत्रको आवश्यक व्यवस्थापन भई भावी पुर्खालाई प्राकृतिक स्रोत जस्ताको त्यस्तै हस्तान्तरण गर्न मद्दत पुग्छ । प्राकृतिक सन्तुलन कायम हुन नसकेमा मानिस स्वयम्कै उन्नति तथा प्रगतिमा प्रतिकूल असर पर्न जान्छ । जलवायु परिवर्तन न्यूनीकरण गर्न र प्राकृतिक प्रकोप रोक्न पनि संरक्षित क्षेत्रको अहम् भूमिका रहन्छ ।
संरक्षित क्षेत्रबाट मनोरञ्जन पनि प्राप्त हुन्छ । उक्त क्षेत्रको भ्रमणले स्वदेशी एवं विदेशी पर्यटकलाई अपूर्व मनोरञ्जन प्रदान गर्न मद्दत गर्छ । संरक्षित क्षेत्र दृश्यावलोकनका निम्ति र विभिन्न अध्ययन अनुसन्धानका लागि लाभदायक हुन्छन् । संरक्षित क्षेत्रमा वन्यजन्तु, वनस्पति र प्राकृतिक वनक्षेत्र, हावापानी र भूबनोट, सुरक्षित रहने हुँदा वैज्ञानिक अध्ययन साथै नयाँ आयामहरू उपलब्ध हुने मौका प्राप्त हुन्छ ।
मानव जाति तथा जीवित प्राणीको कल्याणमा सहयोग पुर्याउने गतिविधिका लागि निकुञ्ज, आरक्षित र संरक्षित क्षेत्रको ठूलो योगदान रहन्छ । संरक्षित क्षेत्रबाट देशको आर्थिक कारोबार पनि बढ्छ । संरक्षित क्षेत्रमा आउने पर्यटकसँग लिइने शुल्क तथा अन्य शीर्षकबाट उठाएको रकमबाट राजस्व वृद्धि हुन्छ । यस्तो कार्यबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले हुँदै आएका विभिन्न गतिविधि पर्यटन, विकास निर्माण आदि कार्यबाट स्थानीय स्तरमा रोजगारीका अवसरहरू प्राप्त भई स्थानीयहरूले रोजगारी पाउँछन् ।
संरक्षित क्षेत्रले जीविकोपार्जनमा सुधार ल्याउँछ । निकुञ्ज र आरक्षको मध्यवर्ती क्षेत्र एवं संरक्षण क्षेत्रमा बसोवास गर्ने मानिसका लागि संरक्षण तथा सामुदायिक विकासका कार्यक्रमहरू परिचालनबाट उनीहरूको जीविकोपार्जनमा सुधार भई आर्थिक समुन्नतिका लागि मद्दत पुर्याउँछ ।
आआफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भूराजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ ।
विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण र आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि प्राप्त गर्नुपर्ने अवस्था छ । बेरोजगारीको समस्या समाधान गर्न पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ । त्यसका लागि संरक्षित क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी संरक्षित क्षेत्रबाट पर्यटन प्रवर्द्धन गर्न सक्ने ठूलो सम्भावना रहेको छ ।
अतः पर्यटन प्रवर्द्धन दिगो विकास र वातावरण संरक्षण कार्यमा संरक्षित क्षेत्रको अहम् भूमिका हुन्छ । वन्यजन्तु तथा वनस्पति संरक्षण हुनु नै वनजंगल संरक्षण पनि हो । यो संरक्षणबाट प्राप्त हुने अपार वातावरणीय सेवाहरूले सबैलाई फाइदा गर्छ । यो क्षेत्रबाट कृषिभूमिको उत्पादकत्वमा वृद्धि, कृषिभूमिलाई आवश्यक मलजलको उपलब्धता, संरक्षण कार्यबाट बढी पहिरोको रोकथाम, जलाधार क्षेत्रको संरक्षण भई जनताको आर्थिक विकासमा टेवा पुर्याउँछ । राष्ट्रिय निकुञ्ज तथा आरक्षमा आम्दानी हुने राजस्वको ३०–५० प्रतिशत रकमबाट स्थानीय जनतालाई प्रत्यक्ष फाइदा पुग्ने हुन्छ । प्रत्यक्ष आर्थिक आर्जन भई विभिन्न सेवा सञ्चालन जस्तै होटल, लज सञ्चालनबाट वर्षेनि ठूलो धनराशी आम्दानी हुन्छ । त्यसबाट देशको कुल गार्हस्थ्य उत्पादनमा समेत योगदान पुग्छ ।
नेपालमा आउने पर्यटकको ६० प्रतिशतले संरक्षित क्षेत्रको अवलोकन भ्रमण गर्छन् । त्यसकारण संरक्षित क्षेत्र हाम्रो राष्ट्रका लागि अमूल्य सम्पत्ति हो । संरक्षित क्षेत्रमा भ्रमण गर्ने आन्तरिक तथा बा⋲य पर्यटन र राजस्व परिचालन विगत दशकमा क्रमशः वृद्धि भएको छ ।
अनादि कालदेखि नै मानिस, वन्यजन्तु तथा वनस्पतिबीच घनिष्ट सम्बन्ध रहिआएको छ । वन्यजन्तु तथा वनस्पतिको संरक्षणप्रति चासो देखाउनु मानव जातिको समुन्नतिप्रति चासो देखाउनु हो । मानिस, वन्यजन्तु तथा वनस्पतिहरू सबैको जीवनचक्रमा खलल पर्नासाथ अरूहरूको जीवन चक्रमा पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा खलल पर्न थाल्छ । उदाहरणका लागि कुनै बिरुवा अथवा वन्यजन्तुको प्रजाति लोप भयो भने तिनीहरूको शृंखलामा विनाशकारी प्रभाव पर्न जान्छ । यसबाट मानिसको अस्तित्वसमेत खतरामा पर्न सक्छ ।
वन्यजन्तु तथा वनस्पति महत्त्वपूर्ण प्राकृतिक स्रोत हुन् । अतः ती नभई हाम्रो जीवनचक्र चल्न सक्दैन । वातावरणलाई सन्तुलित राख्न वन्यजन्तु तथा वनस्पतिले ठूलो भूमिका खेल्छन् । वातावरणमा ह्रास आएमा सर्वप्रथम मानिस नै प्रभावित हुन्छ । त्यसकारण संरक्षित क्षेत्र जोगाउन जनसहभागिताले अहम् भूमिका खेलेको छ । यी क्षेत्र विभिन्न मुलुकका पर्यटकका लागि महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा रहेका छन् । अन्तरराष्ट्रिय जगत्मा नेपाललाई चिनाउने प्रमुख निधिका रूपमा रहेकाले संरक्षित क्षेत्रलाई संरक्षण तथा प्रवर्द्धन गरी पर्यटन विकास गरे राष्ट्रिय अर्थतन्त्रसमेत सबलीकरण हुनेछ ।
लेखक गुणस्तरीय जीवन विषयमा विद्यावारिधि हुन् ।