सरकारले पर्यटकको बसाइ अवधि र खर्च बढाउने नीति लिए पनि खासै सफलता प्राप्त हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा विदेशी पर्यटकको औसत बसाइ र खर्चमा झीनो सुधार देखिएको छ । पर्यटकको बसाइ शून्य दशमलव ८ प्रतिशतले बढेर १३ दशमलव २ दिन पुगेको छ भने थोरै सुधारका साथ दैनिक खर्च ४१ डलर पुगेको छ । तर, यसलाई उल्लेख्य सफलता मान्न सकिँदैन ।
नेपालमा पर्यटक आगमन संख्यादेखि, तिनको औसत बसाइ र खर्चका बारेको ठोस तथ्यांक पाइँदैन । यसो हुनुको कारण पर्यटकको अभिलेख सही ढंगमा नराखिनु हो । पर्यटकको वास्तविक संख्या र तिनले गर्ने खर्च आदिको सही जानकारीका लाग स्याटलाइट एकाउन्टिङ (पर्यटकले गर्ने कारोबारलाई अभिलेख गर्ने एकीकृत सूचना संकलन प्रणाली) लागू गर्ने भनिए पनि त्यसको कार्यान्वयन भएको पाइँदैन ।
यो प्रणालीमा पर्यटकलाई एउटा चिट दिइएको हुन्छ र त्यही चिटबाट पर्यटकले गर्ने हरेक कारोबार अभिलेख हुन्छ, जसले गर्दा पर्यटकले गर्ने खर्चको वास्तविक अंक जानकारी हुन्छ । पर्यटनमा सही जानकारी नभएकै कारण पर्यटनले कुल गार्हस्थ्य उत्पादनमा कति प्रतिशत योगदान दिएको छ, कति रोजगारी सृजना गरेको छ भन्ने कुराको समेत सही तथ्यांक पाइँदैन । अनुमानको भरमा काम गर्नुपर्ने अवस्था छ । सरकारले कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ दशमलव २ प्रतिशत रहेको बताएको छ । तर, विश्व बैंकले भने दोब्बरभन्दा बढी ६ दशमलव ७ प्रतिशत योगदान रहेको तथ्यांक दिएको पाइन्छ । त्यसैले सरकारले पर्यटनको वास्तविक तथ्यांक पत्ता लगाउने प्रणाली तयार पार्न ढिला भइसकेको छ ।
पर्यटनसम्बन्धी सही तथ्यांकको अभावमा पर्यटन क्षेत्रमा नयाँ लगानी आकर्षित गर्न कठिन हुन्छ । त्यस्तै केकस्ता पूर्वाधार बनाउने हो भनेर निर्णय गर्न पनि पर्यटनको सही तथ्यांक आवश्यक पर्छ । निजीक्षेत्रले यही तथ्यांकलाई हेरेर लगानीको निर्णय गर्छ । सरकारले बनाउने पर्यटनसँग सम्बद्ध सबै नीति, कार्यक्रम आदिका लागि पनि सही तथ्यांक आवश्यक पर्छ ।
कोरोना कालमा थलिएको पर्यटन अहिले बिस्तारै सुधारोन्मुख देखिन्छ । संख्याका आधारमा हेर्दा सन्तोषजनक नै मान्नुपर्ने हुन्छ किनभने २०२३ मा नेपाल आउने पर्यटकको संख्या १० लाख नाघ्यो । संख्यात्मक हिसाबले पर्यटन क्षेत्रको पुनरुत्थान भएको देखिन्छ तर पर्यटन व्यवसायीहरू भने पर्यटक बढे पनि आमदानी नबढेको गुनासो गरिरहेका छन् । यसको अर्थ पर्यटकको बसाइ र खर्च कम हुनु हो । अर्थात् नेपालमा गुणस्तरीय पर्यटक ल्याउन थुप्रै काम गर्न बाँकी छ । २०२२ मा विश्वको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ९ दशमलव १ प्रतिशत रहेको वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिलले जानकारी दिएको छ । नेपालको निजीक्षेत्रले पनि सरकारी तथ्यांकप्रति अविश्वास व्यक्त गरेको छ । सरकारले भनेको भन्दा दोब्बर बढी योगदान पुगेको हुनुपर्ने निजीक्षेत्रको आकलन छ । हुन पनि पर्यटन क्षेत्रले १० लाखभन्दा बढीलाई रोजगारी दिएको छ । पर्यटन व्यवसायसँग हस्तकला उद्योग पनि जोडिएको छ । पर्यटकले उपहारका रूपमा नेपाली हस्तकलाका सामान लैजाने गरेका छन् । स्थानीय अर्थतन्त्रमा पनि पर्यटनको योगदान हुन्छ । यसमा आन्तरिक पर्यटकको योगदान अलग छ । त्यसो हुँदा सरकारी तथ्यांक सही नै हो भन्न सकिँदैन । वास्तविकता जे भए पनि सही तथ्यांकका लागि आवश्यक प्रक्रिया र पद्धतिको निर्माण गर्न आवश्यक छ । यही तथ्यांकमा टेकेर पर्यटन क्षेत्रको योगदानको समीक्षा गर्न सकिन्छ ।
विश्वका प्रमुख सञ्चारमाध्यमले घुम्नै पर्ने विश्वका उत्कृष्ट मुलुकको सूचीमा विभिन्न वर्गमा नेपाललाई पार्ने गरेका छन् । अर्थात् विश्वका प्रमुख उत्कृष्ट गन्तव्यमध्ये नेपाल पनि पर्ने गरेको छ । हिमाल आरोहण र पदयात्राका अतिरिक्त विभिन्न ठाउँ उत्कृष्ट पर्यटकीय प्रडक्ट मानिन्छन् । यी सबै क्षेत्रमा पर्यटकले बिताउने दिन औसत १३ भन्दा निकै बढी हुन्छ । त्यसो हुँदा नेपालले पर्यटकको औसत बसाइ र खर्च बढाउन विभिन्न नीति लिन आवश्यक छ ।
नेपालले पर्यटकको संख्या बढाउन जोड दिने कि गुणस्तरीय पर्यटनमा जोड दिने भन्नेमै विवाद छ । नेपालमा आएको पर्यटकमध्ये १ प्रतिशत पर्यटक लगेर भुटानले पर्यटनबाट राम्रो आमदानी लिएको छ । भुटानमा जाने पर्यटकले धेरै शर्त पालना गर्नुपर्छ नेपालको दाँजोमा । त्यस्तै प्रतिपर्यटक प्रतिदिनको खर्च पनि भुटानमा निकै बढी छ । भुटानको सरकारले थोरै पैसा खर्च गर्ने झोले पर्यटकलाई भिसा नै दिँदैन ।
तर, नेपालमा भने पर्यटकको संख्या बढाउन भिसा शुल्कसमेत मिनाहा गरिएको छ । विदेशी वायुसेवाबाट आएका पर्यटकको खर्च नेपालमा केही पनि नरहने, तिनले भिसा शुल्क पनि तिर्न नपर्ने र यहाँ आएर आफ्नै देशको कम्पनीलाई आफ्नै देशको भुक्तानी प्रणालीबाट भुक्तानी गर्न पाउने अवस्थामा यस्ता पर्यटकबाट नेपालले के लाभ लिन सक्छ ? त्यसैले नेपालले पर्यटक आगमन बढाउने नीतिमा कस्ता पर्यटक नेपालको प्राथमिकता हो भनेर स्पष्ट पार्नुपर्ने पनि देखिएको छ ।
नेपालमा अहिले जसरी पर्यटन क्षेत्रमा लगानी भइरहेको छ त्यो हेर्दा संख्या र गुणस्तर दुवैमा जोड दिनुपर्ने देखिन्छ । गुणस्तरीय अर्थात् खर्चालु पर्यटकमात्रै ल्याउने भनियो भने कम खर्चालु पर्यटकलाई लक्षित गरी बनाइएका पर्यटकीय प्रडक्ट र तिनमा भएको लगानी खेर जान सक्छ । त्यसैले पहिलो त सरकारले पर्यटकको सही तथ्यांक निकाल्नु पर्छ भने अर्कोचाहिँ थोरै पर्यटकबाट बढी लाभ लिने गरी नीति बनाउन पनि उत्तिकै जरुरी देखिन्छ ।