काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले आगामी कात्तिक १४ गते २७ औं वार्षिक साधारण सभा बोलाएको छ । असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल क्रिस्टल पशुपति, गौशाला, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि गरेको छ ।
बोनस शेयर वितरणपछि कम्पनीको जारी र चुक्तापूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । लिखु खोला जलविद्युत् आयोजनाको निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ५ गते एक दिनका लागि बुक क्लोज गर्ने तयारी गरेको छ । बुक क्लोजको आधारमा कात्तिक ४ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।