काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ ले असोज महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले असोज मसान्तमा रू. १९ करोड ७१ लाख नाफा कमाएको छ । यो नाफा भदौ महीनाको तुलनामा ५५ दशलमव ९२ प्रतिशत वृद्धि भएको हो ।
भदौ महीनामा फण्डले रू. १२ करोड ६४ लाख नाफा कमाएको थियो । असोज महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
भदौ मसान्तमा फण्डको जम्मा आम्दानी रू. १३ करोड ११ लाख रहेकोमा असोजमा बढेर रू. २० करोड ३८ लाख पुगेको छ ।
नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ)मा वृद्धि भएको छ । भदौ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ०१ पैसा रहेकोमा असोज मसान्तमा बढेर ११ रुपैयाँ ५७ पैसा पुगेको हो ।
त्यस्तै फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । भदौ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब १ करोड रहेकोमा असोज मसान्तमा बढाएर रू. १ अर्ब ९ करोडभन्दा बढी पुर्याएको हो ।