नवलपुर (नवलपरासी) । नेपाल धितोपत्र बोर्डका निर्देशक विनोद पौडेलले बजारको अनियन्त्रित गतिविधिलाई बोर्डले नियन्त्रणमा राख्न सक्रिय रहेको र लगानीकर्ताको हित र बजार प्रवर्द्धनमा विशेष ध्यान दिइरहेको बताएका छन् । उनले लगानीकर्तालाई समेत गहन अध्ययनपछि मात्र शेयर खरिद गर्न र ठगी भएमा नेपाल धितोपत्र बोर्डमा उजुरी दिन आग्रह गरे।
विश्व लगानी सप्ताह २०२४ को अवसरमा नेपाल धितोपत्र बोर्ड र जिल्ला उद्योग वाणिज्य संघ नवलपुरले शेयर बजारमा लगानीकर्तालाई सचेत गराउने उद्देश्यले आयोजित सचेतना कार्यक्रममा बोल्दै उनले ब्रोकरहरूले पनि चार दिनभित्र भुक्तानी गर्ने दायित्व पालन गर्नुपर्नेमा जोड दिए ।
शेयर बजारका विश्लेषक एवं स्टक मार्केट अनुसन्धानकर्ता कुलचन्द्र पण्डितले शेयर बजारमा चाँडो मुनाफा कमाउने सोच जोखिमपूर्ण हुने र दीर्घकालीन लगानीमा मात्र लाभदायी हुने धारणा राखे। पाँच वर्षको अध्ययन अनुसार, बजारमा टिकेका तीन प्रतिशतले मात्र नाफा कमाउने तथ्यसहित उनले अनुसन्धानबिना लगानी गर्दा घाटा बेहोर्नुपर्ने सम्भावना उच्च हुने बताए। बजारमा शेयरको मूल्य हल्लाका कारण पनि घटबढ हुने र राजनीतिक स्थिरताले बजारमा स्थायित्व ल्याउन सहयोग गर्ने उनको तर्क थियो।
नेप्से ब्रोकर सनी सेक्युरिटिज लिमिटेडको सहकार्यमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सम्पन्न यस कार्यक्रममा, सुरक्षित लगानीका तरिका र बजारको ज्ञानबारे जानकारी दिइएको थियो । गैँडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले पनि शेयरमा लगानी गर्न वा उद्यमशीलता बढाउन नगरवासीलाई प्रेरित गर्दै बैंकमा पैसा राख्नुभन्दा शेयर बजार वा व्यवसायमा लगानी गर्न सुझाव दिए। कार्यक्रममा लगानीकर्ताका विभिन्न जिज्ञासाहरूको समाधान नेपाल धितोपत्र बोर्डका निर्देशक पौडेलले गरेका थिए, जसमा गैँडाकोट क्षेत्रका उद्यमी तथा लगानीकर्ताको सहभागिता रहेको थियो।