काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १८ दशमलव २५ अंक अर्थात् शून्य दशमलव ३४ प्रतिशत घटेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६१७ दशमलव ९५ विन्दुमा झरेको छ । आजसँगै नेप्से लगातार तीन कारोबार दिन घटेको छ । यो अवधिमा नेप्से १ दशलमव ७८ प्रतिशत घटेको छ ।
बजार घट्दा कारोबार रकमसमेत घट्दै गएको छ । अघिल्लो कारोबार दिन रू. ५ अर्ब ४१ करोडभन्दा बढीको कारोबार भएकोमा आज ४ अर्ब ७३ करोडमा झरेको छ ।
'प्यानिक सेलर' सकिएकाले कारोबार सुस्त भएको अनुमान गरिएको छ । विक्री गर्नेले थप मूल्य घटाउन नचाहेको र खरीद गर्नेले पनि हतार नगर्दा कारोबार रकम प्रभावित भएको जानकारहरू बताउँछन् ।
आज ३२० धितोपत्रको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयर ५६ हजार ६४६ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपाल, रिभर फल्स पावर र माई खोला हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो ।
आइतवार नेपाल एसबिआई बैंकका शेयरधनीले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ७९ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४९४ मा झरेको छ । यो सूचीमा रहेको दोस्रोमा प्राइम कमर्सियल बैंकको शेयर मूल्य ४ दशलमव १७ प्रतिशत घटेर रू. २७७ दशमलव ९० कायम भएको हो ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा आइसिएफसि फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. ३२ करोड ६४ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८०१ दशमलव १० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको नेपाल एसबिआई बैंकको रू. २१ करोड ६२ लाख बराबरको भएको छ ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये पाँच समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । तीमध्ये जीवन बीमा समूहको सूचक सबैभन्दा बढी १ दशलमव १५ प्रतिशत वृद्धि भएको छ भने बैंकिङ्ग समूहको सूचक सबैभन्दा बढी १ दशमलव ३० प्रतिशत घटेको छ ।