काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट नगद लाभांश मात्र वितरण गर्ने भएको छ ।
आज (आइतवार) बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट करसमेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले नगद लाभांश वितरण गर्न लागेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यस वर्ष कम्पनीको लाभांश घटेको हो ।
गत वर्ष कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ९५ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, सानिमा बैंक लिमिटेडले आगामी मंसिर ४ गते २०औं वार्षिक साधारण सभा गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लाभांश स्वीकृत गरेको भोलिपल्ट (कात्तिक १० गते)को कम्पनीको सञ्चालक समिति बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
सभा विहान ११ बजे आम्रपाली बैङक्वेट, भाटभटेनी , काठमाडौंमा शुरू हुनेछ । सभाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको करसमेत ५ दशमलव २६ प्रतिशत नगद लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको अघिल्लो कारोबार दिन कात्तिक २२ गते बिहीवार छठको सार्वजनिक बिदा परेकाले कात्तिक २१ गते बुधवारसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
यस वर्ष कम्पनीले ११ वर्षपछिकै कम लाभांश वितरण गर्न लागेको हो । कम्पनीले यसअघि आर्थिक वर्ष ०६७/६८ मा ६ दशमलव ५ प्रतिशत र ०६८/६९ मा ५ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिका वर्ष कम्पनीले १० प्रतिशतभन्दा बढी नै लाभांश वितरण गर्दै आएको थियो ।
गत वर्ष कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ दशमलव ७ प्रतिशत नगद लाभांश गरी कुल १४ दशमलव ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा ७१ करोड ४८ लाख २२ हजार रुपैयाँ बराबर करसमेत नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।
यसअघिको ११ वर्षको तथ्यांकलाई हेर्दा कम्पनीले अधिकतम २१ दशमलव शून्य ५ प्रतिशतसम्म लाभांश वितरण गरेको अवस्था छ ।
आर्थिक वर्ष ०७१/७२ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट पनि १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ दशमलव शून्य ५ प्रतिशत गरी कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।