काठमाडौं। मारूती सिमेन्ट्स लिमिटेडले कात्तिक ११ गतेका लागि बोलाएको साधारण सभा कात्तिक २३ गतेका लागि सारेको छ ।
कात्तिक ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चाडपर्वकाबीच शेयरधनीहरूको उपस्थिति नहुने देखिएकाे भन्दै कात्तिक २३ गते बिहान ११:३० बजे विराटनगरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा ३० औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा करसमेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि कम्पनीले गरेको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरेको एक लाख रुपैयाँभन्दा माथिका रकम अनुमोदन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।
विभिन्न बैंकहरूबाट लिइएको ऋणको अनुमोदन पनि सभाले गर्नेछ । यस कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासनको प्रस्ताव भने कम्पनीले गत वर्ष कात्तिक २१ गते सम्पन्न २९औं वार्षिक साधारणसभामार्फत पारित गरिसकेको छ ।