ठूलो जीउडाल भएका र शरीरका विभिन्न भागमा ट्याटु खोपेका प्रदीप कुमार बाउन्सरको काम गर्न सबैरै मोटरसाइकलमा घरबाट निस्कने गर्छन् । तर, उनी कुनै नाइटक्लब अथवा डिस्कोमा बाउन्सरको काम गर्न नभई अस्पतालको ड्युटी पूरा गर्न काममा गएका हुन् ।
अस्पतालमा पुगेपछि प्रदीप कुमार र उनका अन्य बाउन्सर साथीहरूले बिरामी र रोगीहरूले खचाखच भरिएको अस्पतालका विभिन्न विभागहरूमा अनुशासन कायम राख्ने काम गर्छन् । उनीहरू नाइटक्लब अथवा डिस्कोमा कार्यरत रिसाहा बाउन्सरहरूभन्दा निकै फरक छन् । कतिपय अवस्थामा राम्रो उपचार नपाएको भन्दै आक्रोश पोख्ने मानिसलाई नम्र तरीकाले सम्झाईबुझाई गर्ने गर्छन् ।
प्रसङ्ग हो– नयाँ दिल्लीको, जहाँका अस्पतालहरूले अहिले धमाधम बाउन्सरहरू भर्ना गर्न थालेका छन् । बिरामी, रोगी र घाइतेहरूको उपचार गर्ने मानवीय सेवामा लागेका त्यहाँका अस्पतालहरू हिंसाले ग्रस्त बन्न थालेपछि बाउन्सर भर्ना गर्न थालिएको हो । बाउन्सर भर्ना गर्ने कार्यको शुरुआत सर्वप्रथम दिल्लीस्थित दीनदयाल उपाध्याय अस्पतालले गरेको छ, जहाँ प्रदीप कुमार कार्यरत छन् ।
त्यहाँका चिकित्सक, नर्सलगायत मेडिकल कर्मचारीले प्रत्येक महीनाजसो अस्पतालमा आएका मानिसबाट धेरैपटक आक्रमणको सामना गर्नुपरेको थियो । यसरी आक्रमणहरू हुन थालेपछि आफ्नो ज्यानको सुरक्षा माग्दै त्यहाँ कार्यरतहरूले ६ वर्षको अवधिमा २० पटकभन्दा बढी हडताल गरिसकेका छन् । अस्पतालमा यस्ता अवाञ्छित गतिविधिहरू शृंखलाबद्ध रूपमा हुन थालेपछि प्रशासनले बाउन्सर भर्ना शुरू गरेको हो ।
वर्ष ८, अंक ८, मंगलवार २६ भदौ, २०६९