बाबुराम श्रेष्ठ
अध्यक्ष, नेपाल धितोपत्र बोर्ड (सेबोन)
चालू आवमा कमोडिटी बजार नियमनका लागि आवश्यक कानून निर्माण गरिसक्छौं
सरकारले विगत २ वर्षदेखि नै नेपाल धितोपत्र बोर्डद्वारा कमोडिटी बजार नियमन गरिने बताउँदै आएको छ । आजसम्म किन शुरू हुन नसकेको ?
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कमोडिटी बजारलाई नियमन गर्ने भन्ने नियम अझै बनिसकेको छैन । गतवर्ष यस सम्बन्धमा नेपाल धितोपत्र बोर्डले अध्ययन गरेर आवश्यक प्रतिवेदन तयार पार्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार हामीले परामर्शदाता (कमोडिटी बजारका स्वतन्त्र विज्ञहरू) लगाएर अध्ययन गर्यौं । उक्त प्रतिवेदन केही समय हाम्रो वेबसाइटमा पनि राख्यौं । त्यसमा जानकार व्यक्तिले दिएको टिप्पणीअनुसार प्रतिवेदन परिमार्जन गरेर सरकारसमक्ष गतवर्ष नै पेश गरेका छौं । उक्त प्रतिवेदन स्वीकृतिको प्रक्रियामै रहेको जानकारी पाएका छौं । यस्तै, चालू आवको बजेट वक्तव्यमा पनि सेबोनले कमोडिटी बजरको अनुगमन गरिने विषय समेटिएको छ । तर, उक्त विषय आर्थिक अध्यादेशमा समेटिएको छैन । यद्यपि, अर्थ मन्त्रालयले हामीलाई आवश्यक कानून निर्माण गर्न निर्देशन दिएको छ । सोहीअनुसार काम पनि भइरहेको छ । निर्देशनअनुसार कानून निर्माणका लागि बोर्डअन्तर्गतको कानून प्रबलीकरण समितिले काम गरिरहेको छ ।
कानून निर्माण गर्ने प्रक्रिया अहिले कहाँ पुगेको छ ?
वस्तुबजार नियमनका लागि त्यससम्बन्धी छुट्टै ऐन चाहिन्छ । सरकार र बोर्डले यो महसूस गरिसकेको छ । त्यसैले, नियमन गर्ने सम्बन्धमा ऐन नै बनाउने तयारीमा छौं । तर, अहिले संसद् नभएको अवस्थामा ऐन बन्न सक्ने अवस्था छैन । तर, कमोडिटी बजारको नियमन जनचासोको विषय भएकाले अहिले अध्यादेशमार्फत ऐन निर्माण गर्नेबारे पनि छलफल भइरहेको छ । अझ स्पष्ट रूपमा भन्नुपर्दा कानूनी प्रबलीकरण समितिले अध्यादेशको ‘रोडम्याप’ तयार पारिरहेको छ । यसअन्तर्गत सम्बन्धित निकाय तथा विज्ञहरूसँग छलफल गर्नेछौं । त्यस विषयमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञसँग पनि हामी छलफल गर्ने तयारीमा छौं । यसैगरी थप जानकरी लिन भारत र अन्य सम्बन्धित मुलुक भ्रमण गर्ने योजना पनि बनाएका छौं ।
धितोपत्र बोर्डले कहिलेदेखि नियमनको कार्य शुरू गर्ला ?
यो समयदेखि नियमन शुरू गर्छौं भनेर मिति तोकिहाल्ने अवस्था बनिसकेको छैन । तर, चालू आर्थिक वर्षभित्रमा नियमनका लागि आवश्यक कानून निर्माण प्रक्रिया पूरा गर्ने योजना छ । यसको अर्थ चालू आवको अन्त्यसम्ममा आवश्यक कानून ल्याइसक्छौं । त्यो अध्ययादेश वा अन्य प्रक्रियाबाट पनि हुन सक्छ । त्यसपछि ती ऐनकानूनकै आधारमा यो बजारका सरोकारवाला व्यवसायीलाई निवेदनका निम्ति आह्वान गर्नेछौं । यदि कुनै किसिमले चुनावअघि त्यो काम गर्न नसकेको अवस्थामा पनि त्यसपछि त्यसलाई प्राथमिकताका साथ संसद्मा लैजाने किसिमले सरकारलाई अनुरोध गर्नेछौं ।
पछिल्लो समय बोर्डले ब्रोकर कम्पनीमा सुपरिवेक्षण तीव्र पारेको छ ? स्थिति कस्तो पाउनुभयो ?
हामीले बजार चुस्तदुरुस्त रूपमा सञ्चालन भएको छ वा छैन भनेर अनुगमन गरेका हौं । करीब २ महीनाको अवधिमा ५० ओटा नै ब्रोकर कम्पनीमा हामीले सुपरिवेक्षण गरिसकेका छौं । बजारमा हामीले तीनजना अधिकृतको एक टोली बनाएर खटाएका थियौं । सुपरिवेक्षणका क्रममा धितोपत्रसम्बन्धी बनेका ऐन, त्योभित्र बनेको विनियम र निर्देशिकामा भएका व्यवस्थाको पालना सम्बन्धमा हामीले अनुगमन तथा निरीक्षण गरेका थियौं । अनुगमनलाई चार क्षेत्रमा केन्द्रित गरेका थियौं । विशेषतः उसले राख्नुपर्ने विवरण र जानकारी चुस्तदुरुस्त छ कि छैन, कारोबारसँग सम्बन्धित विषय र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय रहेका थिए । तीमध्ये पनि सम्पत्ति शुद्धीकरणको विषयलाई बढी प्राथमिकता दिएका थियौं । यसका लागि ब्रोकरहरूले आन्तरिक कार्यविधि ल्याउनुपर्थ्यो । तर, अधिकांश कम्पनीले कार्यविधि निर्माण नगरेको पाइयो । अनुसन्धानकै क्रममा त्यस्तो कार्यविधि निर्माण गर्न अनुरोध दिइसकेकाले हालसम्म धेरै कम्पनीले कार्यविधि निर्माण गरिसकेको जानकारी प्राप्त भएको छ । तर, यसलाई कार्यान्वयन गरेका छन् वा छैनन् भन्ने विषयमा हामीले पुनः अनुगमन गर्ने तयारीमा छौं । यसैगरी, ब्रोकरहरूले अनुपालन अधिकृत नियुक्ति पनि विरलै गरेको पाइयो । हामीले त्यस्ता व्यक्ति नियुक्ति गर्ने विषयमा मौखिक र लिखित निर्देशन दियौं । यसपछि भने नियुक्ति गर्छौं भन्ने प्रतिबद्धता ब्रोकरहरूले जाहेर गरेका छन् ।
१९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न पाउने व्यवस्थाले नेप्से घटाएको हल्ला पनि छ, वास्तविकता के हो ?
त्यो सत्य होइन । यसलाई मैले बजारमा फैलिएको एकप्रकारको भ्रमका रूपमा हेरेको छु । हाम्रोजस्तो वित्तीय साक्षरता कम भएको समाजमा यस्ता ‘अफवाह’ले बजारलाई छिट्टै प्रभाव पार्छन् । तर, यो दिगो विषय होइन । किनकि, यो एकैपटक १९ प्रतिशत परिवर्तन आउनै होइन । तर, संस्थापक शेयर सर्वसाधारणमा परिणतको पनि आफ्नो प्रक्रिया हुन्छ । यसको अर्थ सबै शेयर (१९ प्रतिशत नै) एकैपटक परिवर्तन हुने होइन । त्यसका लागि समय लाग्छ । त्यसैले, लगानीकर्ताले बाहिरी हल्लाभन्दा पनि वास्तविक सूचना लिनु आवश्यक छ । यथार्थ सूचना लिएर ढुक्क भई लगानी गर्न म आह्वान गर्न चाहन्छु ।
नेप्सेलाई पूर्ण स्वचालित गर्न र सीडीएसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन बोर्डले कस्तो पहल गरिहरेको छ ?
बजारमा सेबोन, नेप्से र सीडीएसबीचको सम्बन्धको विषयमा अन्योल रहेको पाइएको छ । सेबोन भनेको राज्यको स्वायत्त निकाय हो, जुन ऐनद्वारा निर्माण भएको छ । यो नाफामूलक संस्था होइन । यसले सूचीकृत कम्पनीलाई नियमन गर्ने काम गर्छ । तर, नेप्से भनेको नाफामूलक कम्पनी हो । यो नेपाल सरकारद्वारा स्थापित कम्पनी हो र रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छ । यो पूर्ण व्यावसायिक कम्पनी हो । त्यसैगरी, सीडीएस पनि व्यावसायिक कम्पनी हो । यसले बजारलाई गति दिन सघाउँछ । सीडीएस नेप्सेको लगानीमा स्थापित भए पनि छुट्टै विशेषता भएको कम्पनी हो । यी दुवै अलगअलग व्यावसायिक कम्पनी हुन् । यिनीहरूको काम पनि फरकफरक रूपमा हुनुपर्ने हो, जुन हुन सकेको छैन । त्यसैगरी, नेप्सेको ‘सेमी अटोमेटेड’ प्रणालीले अहिले उपत्यकाका चक्रपथभित्रका लगानीकर्तालाई सेवा दिन सकेको छ । त्यसैले, यसलाई पूर्ण स्वचालित बनाउन आवश्यक छ । यसका लागि सेबोनले बारम्बार निर्देशन दिँदै आएको छ । तर पनि नेप्सेले आवश्यक पहल नगरेको पाइयो । अहिले नेप्सेमा नयाँ महाप्रबन्धक आउनुभएको छ । त्यसैले, उहाँबाट नयाँ योजना आउन सक्छ भनी हामीले पर्खिएका छौं । उहाँले आगामी केही दिनमै नेप्सेलाई पूर्ण स्वचालित बनाउने विषयमा तयारी गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ । त्यसका लागि नेप्सेलाई सबै किसिमको सहयोग गर्न हामी तयार छौं । यसैगरी, सीडीएसलाई पनि पूर्ण सञ्चालनमा ल्याउन सेबोनले आवश्यक निर्देशन दिइरहेको छ । आउँदा दिनमा पनि त्यसलाई निरन्तरता दिनेछ ।
सेबोनका गतवर्षका प्रमुख उपलब्धि केके हुन् ?
गतवर्ष हामीले थुप्रै उपलब्धि हासिल गरेका छौं । धितोपत्र ब्रोकर सङ्ख्या २३ बाट ५० पुर्याएका छौं । सीडीएस सञ्चालनमा अएपछि ‘टी प्लस थ्री’मै शतप्रतिशत राफसाफ हुँदै आएको छ । यस्तै, दुईओटा सामूहिक लागानी कोष र एउटा क्रेडिट रेटिङ एजेन्सीले पनि काम शुरू गरिसकेका छन् । गत आवमा अन्य उपलब्धि पनि हासिल गरेका छौं ।
चालू आवमा बोर्डका नयाँ योजना के छन् ?
सबैभन्दा महत्वपूर्ण योजना त आवश्यक नीतिगत व्यवस्था गरेर कमोडिटी बजारको नियमन शुरू गर्ने हो । साथै, विगत केही वर्षयता सेबोनको कार्यक्षेत्र तीव्र रूपमा विस्तार भएको छ । सोहीअनुरूप आफ्नो कार्यदक्षता बढाउन तथा कामकारबाही प्रभावकारी बनाउन बोर्डमा नयाँ सङ्गठनात्मक संरचना लागू गर्ने, कर्मचारीको दक्षता वृद्धि गर्न विभिन्न तालीम–प्रशिक्षण सञ्चालन गर्ने, नेप्सेलाई पूर्ण स्वचालित बनाउन पहल गर्ने, सेबोनको भवन निर्माण गर्ने, लगानी जनचेतनाका लागि माग भएबमोजिमको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, सूचीकृत सङ्गठित संस्थाहरूका लागि संस्थागत सुशासन निर्देशिका बनाई लागू गर्ने, कमोडिटी बजारको नियमन व्यवस्था लागू गर्न आवश्यक पहल गर्नेलगायत काम हाम्रो प्राथमिकतामा रहनेछन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.