काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ । कम्पनीको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ सूचीकृत भएको हो । अब यो शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारयोग्य हुनेछ ।
कम्पनीको एफपीओ गत साता शुक्रवार बाँडफाँट भएको थियो । यस आधारमा कम्पनीको एफपीओ बाँडफाँट भएको एक साताभित्रै सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण तर्फकाे शेयर संरचना मिलाउन फागुन १८ गतेदेखि २१ गतेसम्म १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गरेको थियो ।
आज (बिहीवार) धितोपत्रको दोस्रो बजारमा यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९६५ कायम रहेको छ । चैत ७ गते अर्थात् आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार अन्तिम १५ मिनेटको कारोबारमा हुने शेयरको अन्तिम भारित औसत कारोबार मूल्य अन्तिम मूल्य हुनेछ । सोही आधारमा यस कम्पनीको कायम औसत भारित मूल्यको आधारमा आइतवारदेखि शेयर कारोबार खुल्नेछ ।