काठमाडौं । बाणिज्य बैंकहरूले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका २० बाणिज्य बैकहरूको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १३ दशमलव ४७ प्रतिशत घटेको छ ।
यी बैंकले गत आवमा रू. ४७ अर्ब १ करोड नाफा कमाएकोमा चालू आवमा रू. ४० अर्ब ६८ करोडमा सिमित भएको छ । आम्दानीको थुप्रै रकम प्रोभिजन गर्दा बैंकहरूको नाफामा दबाब परेको देखिएको छ । पछिल्लो समय बैंकहरूको खराब कर्जा बढ्दा आम्दानीमा असर परेको छ । आर्थिक मन्दी, सुस्त व्यापार, कर्जाको माग कम हुनुलगायतका कारणले बैंकहरूको वित्तीय अवस्था सन्तोषजन देखिएको छैन ।
सबैभन्दा बढी अगाडि नबिल बैंक रहेको छ ।यस बैंकले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ४ अर्ब ६६ करोड नाफा कमाएको हो । गत आवको तुलनामा भने यस बैंकको नाफा ८ दशमलव ७६ प्रतिशत घटेको छ । त्यस्तै दोस्रोमा ग्लोबल आइएमई बैंकले रू. ३ अर्ब ३० करोड नाफा कमाएको हो ।
सञ्चालित २० बाणिज्य बैंकहरूमध्ये ६ बैंकको नाफा बढेको छ भने बाँकी १३ बैंकहरूको नाफा घटेको हो । सबैभन्दा बढी कृषि विकास बैंकको नाफा गत आवको तुलनामा चालू आवमा ९७ दशमलव २२ प्रतिशत वृद्धि भएको छ । बैंकले गत आवमा रू.१ अर्ब ४ करोड नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ अर्ब ५ करोड भन्दा बढी पुगेको हो ।
त्यस्तै गत आवको तुलनामा चालू आवमा सबैभन्दा बढी नाफा नेपाल बैंकको ९२ दशमलव ६८ प्रतिशत घटेको छ । गत आवमा यस बैंकले रू. १ अर्ब ७८ करोड नाफा कमाएकोमा चालू आवमा घटेर रू. १३ करोडमा सिमित भएको हो ।