काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्थाहरूलाई बीमालेख विक्री गर्न रोक लगाएपछि बीमा कम्पनीहरू व्यवसाय विस्तारमा लागि सहकारी संस्थाहरूमा केन्द्रित भएका छन् । कम्पनीहरूले सहकारीका संघ तथा संस्थाहरूसँग सम्झौता गरी बीमालेख विक्रीमा जोड दिएका हुन् । बैंक, वित्तीय संस्थाहरूले संस्थागत अभिकर्ता बनेर बीमालेख विक्री गर्दै आए पनि राष्ट्र बैंकले आर्थिक वर्ष (आव) २०७६/७७ को मौद्रिक नीतिमार्फत यसमा रोक लगाएको छ । बैंकहरूले ऋण लिँदा ग्राहकलाई अनिवार्य रूपमा बीमा गर्न बाध्य पारेको गुनासो बढेपछि राष्ट्र बैंकले रोक लगाएको हो ।
तत्कालीन बीमा समितिले २०७८ सालमा एउटा निर्देशिका जारी गरी कुनै पनि कम्पनी तथा संस्थालाई संस्थागत एजेन्ट बनाई बीमालेख विक्री गर्न पाउने व्यवस्था गरेको छ । संस्थागत बीमा अभिकर्तासम्बन्धी निर्देशिका–२०७८ मा प्रबन्धपत्र तथा नियमावलीमा बीमा अभिकर्ताको काम गर्ने प्रावधान उल्लेख भएको कम्पनीलाई संस्थागत अभिकर्ता बनाउन सकिने उल्लेख छ । तर, हालसम्म राष्ट्र बैंकले यस्तो सेवा दिन अनुमति दिएको छैन । बीमकहरूले यो प्रतिबन्ध खुला गर्न लबिइङ गर्दै आएका छन् । राष्ट्र बैंकले कडाइ गरेपछि बीमा कम्पनीहरूले सहकारीलाई प्राथमिकता दिएका हुन् ।
बचत तथा ऋण सहकारीहरूको केन्द्रीय छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले सिटिजन लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्ससँग सम्झौता गरेको छ । यसैगरी, नेपाल कृषि केन्द्रीय सहकारी संघले पनि सानिमा रिलायन्स इन्स्योरेन्ससँग यस्तो सम्झौता गरेको छ ।
संघहरूका अतिरिक्त बीमा कम्पनीहरूले प्रारम्भिक सहकारी संस्थाहरूसँग पनि बीमालेख विक्रीको लागि सम्झौता गर्दै आएका छन् ।
नेपाल जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल सहकारीका सदस्यहरूको बीमा गर्न सम्झौता गरिएको बताउँछन् । बैंक, वित्तीय संस्थामार्फत गरिएको बैंकास्योरेन्सलाई पनि निरन्तरता दिनुपर्ने उनको तर्क छ । ‘बैंकास्योरेन्समा कसैले गलत काम गरेको भए कारबाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भने, ‘तर, कसैले गलत गर्यो भनेर कार्यक्रम नै बन्द गर्नु गलत हो ।’
राष्ट्र बैंकले भने बैंकहरूले कर्जा प्रवाहका क्रममा ऋणी स्वयंले छनोट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरूप राखिएको सम्पत्तिको मात्र बीमा गराउन पाउने व्यवस्था गरेको छ । यसैगरी विनाधितो व्यक्तिगत जमानीमा प्रवाह भएका कर्जाको हकमा कर्जा अवधिसम्मका लागि ऋणीको आवधिक जीवन बीमासमेत गराउन निर्देशन गरेको छ ।
सहकारीहरूले बचत तथा ऋणका अतिरिक्त विप्रेषण बीमाजस्ता कारोबार गर्दै आएका छन् । कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठक संघ एजेन्ट भएर बीमा गर्दा संस्थाहरूलाई कारोबार गर्न सजिलो र सहज भएको बताउँछन् । एजेन्टबापत प्राप्त हुने कमिसन संघको आम्दानी हुने र यो संस्थाहरूको क्षमता विकासमा खर्च गरिएको उनले बतए ।
प्राधिकरणको निर्देशिकामा संस्थागत अभिकर्तालाई बीमा प्रस्तावको फारम भर्ने, आवश्यक कागजपत्र संकलन गर्ने, बीमाको सेवा शर्तबारे जानकारी दिनेजस्ता जिम्मेवारी तोकिएको छ । यसैगरी बीमाशुल्क भुक्तानी लिने र अवधि समाप्त भएपछि नवीकरणका लागि सहयोग गर्ने तथा दाबी भुक्तानीका लागि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने व्यवस्थासमेत
गरिएको छ ।