नेपालमा कमोडिटी बजार विस्तार हुँदै गएको छ । भविष्यमा नेपाली उत्पादनसमेत यो बजारमार्फत विक्रीवितरण हुन सक्यो भने उत्पादक र उपभोक्ता सबैलाई फाइदा पुग्ने कुरामा दुईमत छैन । देशमा लगानीको वातावरण सङ्कुचित बन्दै गएको अवस्थामा यो बजारले लगानीकर्तालाई लगानीको राम्रो अवसर पनि दिएको छ । श्रम समस्या, बिजुलीको अभाव छँदाछँदै पनि यो बजारमा लगानी गर्न समस्या नहुने र लगानीको सुरक्षित प्रतिफल पाउने भएकाले कमोडिटी बजार लगानीकर्ताको रोजाइमा पर्ने गरेको छ । आगामी दिनमा यसप्रतिको आकर्षण बढ्दै जाने देखिन्छ ।
बजार विकसित भइरहेको अवस्थामा पनि सरकारले नीतिनियमको समयमै व्यवस्था गर्न सकेको छैन । यसले गर्दा बजारप्रति लगानीकर्तामा अविश्वास पैदा भएको छ । तर, बिस्तारै यो बजारप्रति सरकारको सकारात्मक सोच विकास भएको छ । यसको परिणाम नै भन्नुपर्छ, नेपाल धितोपत्र बोर्डमार्फत तीन चरणमा आवश्यक कानून निर्माण गरी अनुगमन गरिने कुरा आएका छन् ।
बोर्डको सक्रियता हेर्दा यस वर्षभित्रमा अनुगमनको प्रक्रिया शुरू हुने र यसले बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । यस वर्षदेखि केही एक्सचेञ्जले मासिक नाफामा मात्र पूँजीगत लाभकर लगाउन थालेका छन् । यसले पनि लगानीकर्ताको मनोबल क्रमिक रूपमा बढ्दै गएको छ । लगानीकर्ता पनि थपिइरहेका छन् ।
वर्ष ७, अंक ३५१, आइतवार १७ भदौ, २०६९