विश्वमा दिन प्रतिदिन वित्तीय अपराधका घटनाहरू बढिरहेका छन् । र, विश्वव्यापी रूपमा नै वित्तीय अपराध नियन्त्रणका लागि प्रविधि तथा मानव पूँजीको क्षमता अभिवृद्धिमा बृहद् धनराशी खर्च हुँदै पनि आएको छ । त्यसका अतिरिक्त अनुपालना नगरिएको भनी नियामकीय निकायहरूले तिराएको जरीवानासमेतलाई जोड्ने हो भने यसका लागि भएको कुल खर्चको राशी वार्षिक औसतमा ५ अर्ब डलरभन्दा बढी हुन्छ । यी तमाम लगानी र प्रयास हुँदाहुँदै पनि वित्तीय अपराधको राशी भने विश्वव्यापी रूपमा नै घटेको देखिँदैन । वित्तीय अपराधको बहु आयामका बारेमा अध्ययन गर्ने लेक्सिसनेक्सिस जस्ता संस्थाले प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०१७ मा विश्वव्यापी रूपमा २२ खर्ब डलर बराबरको वित्तीय अपराध भएकोमा २०२३ मा त्यो राशी बढेर ३१ खर्ब डलर पुगेको देखिन्छ ।
यसै पनि वित्तीय अपराधका बहुआयामिक प्रभावहरू रहन्छन् नै । यसले सामाजिक मूल्य र मान्यतामा पार्ने नकारात्मक प्रभाव त छँदै छ, राष्ट्रिय अर्थतन्त्रलाई समेत गम्भीर रूपमा आघात गर्छ । त्यसका अलावा बढ्दो वित्तीय अपराधले यस्ता अपराधको निगरानी गर्ने प्रयोजनका लागि नियुक्त अनुपालना अधिकारीहरूलाई समेत नकारात्मक रूपमा प्रभाव पारेको कुरा हालै गरिएका केही अध्ययनहरूले देखाएका छन् ।
हालै मात्र सार्वजनिक भएको बेलायती संस्था जीबी ग्रूपको ग्लोबल फ्रड रिपोर्ट २०२४ अनुसार ठगीजस्ता वित्तीय अपराध नियन्त्रणसम्बन्धी पेशामा लागेका व्यक्तिमध्ये ७५ प्रतिशत पेशाकर्मी विश्वमा दिनानुदिन बढ्दै गरेको वित्तीय अपराधका कारण आफ्नो कामबाट विरक्तिएका छन् र ठूलो मात्रामा तनावग्रस्त छन् ।
अहिलेका अधिकांश वित्तीय अपराध नियन्त्रणका लागि विकास गरिएका उपायहरू अपराधीहरूको कार्यपश्चात् प्रतिक्रियात्मक रूपमा विकास गरिएका छन् । त्यसैले अपराध प्रवृत्तिको पूर्वानुमानसहित सोहीअनुरूप अपराधपूर्व नै नियन्त्रण पद्धतिको विकास गर्नु चुनौतीपूर्ण छ ।
अमेरिका, यूरोप तथा एशिया प्रशान्त क्षेत्रका विभिन्न निकायमा जोखिम तथा अनुपालना तथा ठगी नियन्त्रणसँग सम्बद्ध क्षेत्रमा कार्यरत १ हजार २०० भन्दा बढी उच्च पदस्थ अधिकारीसँग गरिएको उक्त सर्वेक्षणले यस्तो तथ्य सार्वजनिक गरेको हो । सर्वेक्षण गरिएकामध्ये ९६ प्रतिशत अनुपालना अधिकारीहरूले त ठगीकर्मले संगठनिक रूप लिँदै गएकोमा त्यसले आफूलाई झन् असुरक्षित तथा तनावग्रस्त बनाएको बताएका छन् । खास गरी सन् २००७ को विश्वव्यापी वित्तीय संकटपछि अनुपालना अधिकारीहरूमा यस प्रकारको तनाव दिन प्रतिदिन बढ्दै गएको बताइन्छ ।
अनुपालना–तनावका असर
अनुपालना तनाव बहु–आयामिक प्रभावहरू निम्त्याउने गर्छ । प्रत्यक्ष रूपमा तनावग्रस्त व्यक्तिहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने भएकाले उनीहरूले कार्यालयमा दैनिक उपस्थिति जनाउन नसक्ने अवस्था हुन सक्छ । दैनिक काम नै तनावपूर्ण हुने भएपछि कर्मचारीहरू कार्यालय जान उत्प्रेरित हुनुको बदला सकेसम्म जान नपरे हुन्थ्यो भन्ने मनोविज्ञानमा रहन्छन् । यसबाट उनीहरूको उत्पादकत्वमा असर त गरेको हुन्छ नै, तनावपूर्ण कामको विकल्पमा अर्को अपेक्षाकृत कम तनावपूर्ण काम पाउनेबित्तिकै त्यस्ता कर्मचारी विद्यमान पद तथा पारिश्रमिकभन्दा कम पारिश्रमिकयुक्त पदमै भएसम्म उतै जाने सम्भावना रहन्छ । यसबाट संस्थामा कर्मचारीहरू आउने जाने प्रवृत्ति बढ्दो हुन्छ ।
जब कर्मचारीहरूको यस्तो प्रवृत्ति बढी हुन्छ, त्यस्तो अवस्थामा कर्मचारीको उत्पादकत्व औसतभन्दा माथि नहुने जोखिम रहन्छ । यसबाट संस्थाको आय तथा नाफा आर्जनमा प्रत्यक्ष प्रभाव त पर्छ नै त्यसले अनुपालना जोखिम पनि बढाउने हुन्छ । त्यसैले अनुपालना तनावको अवस्था कुनै कर्मचारी विशेषका लागि मात्र अहितकर हुने होइन कि संस्था स्वयंका लागि पनि त्यो हानिकारक हुन्छ ।
अनुपालना–तनावका लक्षण
कुनै पनि संस्थाको अनुपालना तनावको अवस्था केही संकेतहरूको आधारमा अनुमान गर्न सकिन्छ । जस्तो कि कुनै संस्थामा कर्मचारीको टर्न ओभर बढी छ भने त्यहाँ यस्तो तनावको मात्र बढेको हुन सक्छ, ठीक त्यसै गरी नियामकीय जरीवाना, मिडियामा आइरहने नकारात्मक समाचार आदिले पनि संस्थागत तनावको अवस्थालाई झल्काउने गर्छ ।
व्यक्तिको हकमा हेर्ने हो अनुपालना तनावले ग्रस्त कर्मचारीहरूमा बढी नै थकानको महसूस हुने, टाउको दुख्ने जस्ता लक्षणहरू देखिन्छन् । कसै कसैलाई ग्यास्टिकको तथा छालाको समस्या समेत देखिने बताइन्छ । गहिरो निद्रा नपर्ने, सपनामा पनि कार्यालयकै काम देख्ने तथा अचानक निद्राबाट ब्युँझने र त्यसपछि फेरि कार्यालयको काम नै सम्झने प्रवृत्ति पनि अनुपालना तनावका लक्षण मानिन्छन् । एक सर्वेक्षण प्रतिवेदनअनुसार अनुपालनासँग सम्बद्ध करीब ६० प्रतिशत अधिकारीहरूले आफूले यस्तो अनुभव गरेको बताएका थिए ।
कतिपय मनोवैज्ञानिक लक्षणहरूले पनि व्यक्तिगत अनुपालना तनावको स्तरलाई झल्काउँछ । चिडचिडोपन, अवसादपूर्ण मुहार, सहयोगको भावनामा कमी, कुनै विषय वा कामप्रति ध्यान केन्द्रित गर्न नसक्नु, निर्णय क्षमतामा ह्रास देखिनु, अलमलिएको जस्तो देखिनु, कुरा र काममा तादात्म्य नदेखिनु, आफ्नै गतिविधिहरूमा संगति नहुने आदि यस्ता केही मनोवैज्ञानिक लक्षणहरूले पनि व्यक्तिको अनुपालना तनावको मात्रालाई प्रतिबिम्बित गर्छ ।
साथै छिनछिनमा मूड परिवर्तन हुने, अधैर्य भएको महसूस गर्ने, एक्लोपनको आभास हुने, कुनै पनि कुराप्रति चाह नहुने, आक्रामक भाव पलाउने, सृजनशीलतामा कमी आउने, कुण्ठा विकसित हुनेजस्ता भावनात्मक पीडाहरू पनि अनुपालना तनावका लक्षण मानिन्छन् ।
कर्पोरेट कम्प्लाइन्स इन्साइटले गरेको एक सर्वेक्षणअनुसार करीब ४३ प्रतिशत अनुपालना अधिकारीहरूले आफूहरू यस्तै प्रकारका पीडा भोगिरहेको बताएका थिए ।
तनावका प्रमुख कारक र व्यवस्थापन
अहिले वित्तीय अपराध नियन्त्रणका लागि दिन प्रतिदिन नयाँनयाँ चुनौती थपिँदै गएका छन् । प्रविधिको विकासले एकातिर यस्ता चुनौतीको सामना गर्न मद्दत त गरेकै छ, साथसाथै त्यही प्रविधिका कारण अपराधीहरूले पनि वित्तीय अपराधका लागि भिन्नभिन्न उपायहरू अवलम्बन गर्न सकेका छन् । जसै अपराधीहरू नयाँनयाँ प्रविधिको माध्यमबाट अपराधकर्म गर्दै जान्छन् त्यसपछि मात्र नियमन एवं नियन्त्रणकारी निकायहरू त्यसको निराकरण तथा नियन्त्रणको प्रयास गर्छन् । उनीहरूको यो प्रयास विकसित हुन नपाउँदै अपराधीहरूले अर्को उपायको विकास गरिसकेका हुन्छन् । एक किसिमले भन्ने हो भने अहिलेका अधिकांश वित्तीय अपराध नियन्त्रणका लागि विकास गरिएका उपायहरू अपराधीहरूको कार्यपश्चात् प्रतिक्रियात्मक रूपमा विकास गरिएका छन् । त्यसैले अपराध प्रवृत्तिको पूर्वानुमानसहित सोहीअनुरूप अपराध पूर्व नै नियन्त्रण पद्धतिको विकास गर्नु चुनौतीपूर्ण छ ।
त्यसैगरी संस्थासँग आबद्ध सबैलाई वित्तीय अपराधका विविध आयामहरूका बारेमा सचेत गराउनुका अतिरिक्त तिनलाई पहिचान तथा नियन्त्रण गर्ने गरी सक्षम बनाउनु पनि कम चुनौतीपूर्ण छैन । यसका लागि संस्थाभित्र अनुपालना संस्कृतिको विकास अपरिहार्य हुन्छ, तर विडम्बना, यस्तो अनुपालना संस्कृति कुनै एक व्यक्ति तथा विभागको प्रयासले मात्र रातारात विकास गर्न सकिँदैन । लामो समयसम्मको निरन्तरको प्रयास र अभ्यासले मात्र त्यो सम्भव हुन्छ ।
त्यसैगरी नियामकीय प्रावधानहरूमा एवं राजनीतिक रूपमा हुने परिवर्तनले समेत कतिपय अवस्थामा चुनौतीलाई नै थपिरहेको हुन्छ । दिन प्रतिदिन विकसित हुँदै गरेका जटिल प्रकृतिका वित्तीय कारोबार, अभौतिक एवं अनलाइनका माध्यमहरूको व्यापक प्रयोग एवं द्विपक्षीय एवं बहुपक्षीय रूपमा भइरहेका सामरिक अभ्यास, युद्ध जस्ता विषयहरूले विश्वव्यापी रूपमा नै थप नियमनको प्रबन्ध गर्न नियामकहरू बाध्य भएका छन् । यस्ता कतिपय नियमन क्षेत्र विशेषका लागि लक्षित हुन सक्छन् । यसरी क्षेत्र तथा देश विशेषमा थपिने नियमनकारी प्रावधानहरूले सीमापार कारोबारलाई थप जटिल एवं दुरुह बनाएको छ र तिनलाई पालना गराउनु अनुपालना अधिकारीहरूका लागि थप चुनौतीको रूपमा देखापरेको छ ।
कुनै घटना हुन सक्ने पूर्वानुमान गरेर पहिले नै त्यसअनुरूपको नियन्त्रणको परिपाटी विकास गर्ने हो भने धेरै हदसम्म जोखिमबाट मुक्ति पाइने सम्भावना हुन्छ । तर, जहिले पनि घटना भइसकेपछि मात्र त्यस्ता घटनाका बारेमा विश्लेषण गर्दै नियन्त्रणका उपायहरू खोज्ने परिपाटीले पनि अनुपालना तनावलाई प्रोत्साहित गरेको हुन्छ ।
‘कर्पोरेट कम्प्लाइन्स इन्साइट’ले गरेको एक सर्वेक्षणअनुसार करीब ६९ प्रतिशत अनुपालनासँग सम्बद्ध अधिकारीहरूले नियमनसँग सम्बद्ध प्रावधानहरूमा हुने निरन्तरको परिवर्तनले उनीहरूको तनावलाई उल्लेख्य मात्रामा बढाएको छ ।
यस प्रकारको अनुपालना तनावको केवल अनुपालनामा प्रत्यक्ष संलग्न अधिकारीहरू मात्र होइन, अपितु सञ्चालक समितिका सदस्यहरू, उच्च कार्यकारीहरू, संस्थाको व्यवसायमा दैनिक प्रत्यक्ष रूपमा संलग्न हुने मध्यम तहका व्यवस्थापकहरू पनि उत्तिकै मात्रामा शिकार भएका छन् ।
उल्लिखित चुनौतीका अतिरिक्त अनुपालना तनावका लागि अन्य विभिन्न तत्त्वहरू पनि जिम्मेवार हुन्छन् । तीमध्ये प्रमुख भनेको अनुपालनाको जिम्मेवारी सम्बद्ध सबै कर्मचारी तथा विभागहरूले बराबर रूपमा महसूस नगर्नु हो । अरू विभागलाई फेल हुने छूट हुन्छ तर अनुपालनासँग सम्बद्ध विभागलाई त्यसको पनि अनुमति छैन भनिने कारणले पनि तनावको पारो बढ्छ । अर्को शब्दमा भन्ने हो भने अनुपालनालाई कार्य संस्कृतिको अभिन्न अंग नबनाउने प्रवृत्तिले पनि यस प्रकारको तनावलाई प्रोत्साहित गरेको देखिन्छ । यस्तो अवस्थाबाट पार पाउन कार्य–सम्पादन मूल्यांकनमा अनुपालनाको स्तरलाई पनि एक प्रमुख आधार मान्नुपर्ने हुन्छ । यसो भयो भने संस्थामा बिस्तारै अनुपालना संस्कृतिको विकास हुँदै जाने र जिम्मेवारी पनि एकै ठाउँमा केन्द्रित नहुने कारणले सबै पक्षले अनुपालना तनावबाट उल्लेख्य मात्रामा मुक्ति पाउने सम्भावना रहन्छ ।
अनुपालना तनावको अवस्थामा वृद्धि हुनका लागि अर्को जिम्मेवार कारण भनेको प्रतिक्रियात्मक निरोधको अभ्यास पनि हो । कुनै घटना घट्न सक्ने पूर्वानुमान गरेर पहिले नै त्यसअनुरूपको नियन्त्रणको परिपाटी विकास गर्ने हो भने धेरै हदसम्म जोखिमबाट मुक्ति पाइने सम्भावना हुन्छ । तर, जहिले पनि घटना घटिसकेपछि मात्र त्यस्ता घटनाको बारेमा विश्लेषण गर्दै नियन्त्रणका उपायहरू खोज्ने परिपाटीले पनि अनुपालना तनावलाई प्रोत्साहित गरेको हुन्छ ।
यस्तो प्रकारको तनावलाई व्यवस्थापन गर्न जोखिम व्यवस्थापनसम्बन्धी कार्यक्रमहरूको आवधिक रूपमा मूल्यांकन गर्ने मात्र होइन कि सम्बद्ध सबै पक्षले प्रमुख जोखिम क्षेत्र पहिचान गरी पहिले नै तिनका निराकरणका लागि उपयुक्त नीति, प्रक्रिया एवं पद्धति अवलम्बन गर्नु पर्छ । साथै त्यस्ता नीति, प्रक्रिया एवं पद्धतिको उपयुक्तता र पर्याप्तताको बारेमा समेत समय समयमा समीक्षा गर्ने व्यवस्थाले पनि तनावको तहलाई उल्लेख्य रूपमा घटाउन मद्दत पुर्याउँछ ।
अनुपालना तनावको अर्को प्रमुख कारण प्रविधिसँग सम्बद्ध छ । अनुपयुक्त, असक्षम र अविश्वासिलो प्रविधिमाथि निर्भर हुनुपर्ने कारणले पनि अनुपालना तनावलाई बढाउँछ । यस्तो प्रकारको प्रविधिको प्रयोगले समयको बर्बादी हुनुका साथै तिनले उपलब्ध गराउने ‘अपरिपक्व’ एवं ‘संदिग्ध’ तथ्यांकलाई आधार मानेर निर्णय लिँदा तिनको विश्वसनीयतामा सन्देह पैदा हुन्छ र त्यसले पनि प्रत्यक्ष रूपमा तनावको अवस्था सृजना गर्छ ।
यसका अतिरिक्त अनुपालना तनावलाई व्यवस्थापन गर्न केही उपाय अवलम्बन गर्न सकिन्छ । ती उपायहरूमा सामूहिक क्रियाकलापहरूको आयोजना गर्ने र एकआपसमा घुलमिल गर्ने, सामाजिक गतिविधिमा संलग्न हुने, संस्थाको अवस्था र कार्य प्रकृतिअनुसार कतिपय अवस्थामा कार्य वातावरणलाई परिवर्तन गर्ने, लचिलो समय निर्धारण गर्ने आदि उपायहरू अवलम्बन गरेर पनि यस्तो समस्यालाई सम्बोधन गर्न सकिन्छ । यी सामान्य उपायद्वारा अनुपालना तनावको व्यवस्थापन गर्न नसकिने भएमा तनाव व्यवस्थापनसँग सम्बद्ध विज्ञसँग परामर्श सेवा लिनुपर्ने पनि हुनसक्छ ।
लेखक सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।