सिद्धपोखरी भक्तपुर शहरको पश्चिम दिशामा अवस्थित मानव निर्मित पोखरी हो । यसलाई स्थानीय भाषामा त: पुखु भनेर चिनिन्छ । सिद्धपोखरी भक्तपुर नगरपालिका, वडा नं. १ मा अवस्थित छ । यो भक्तपुर जिल्लाकै सबैभन्दा ठूलो पोखरी हो । यो पोखरीको क्षेत्रफल ११ हजार ३ सय ७६ वर्गमिटर छ । नेपाल संवत् २३९ मा राजा इन्द्रदेवले यो पोखरी बनाउन लगाएको गोपाल राजवंशावलीमा उल्लेख भएको पाइन्छ भने वि.सं. १९३६ को शिलापत्र अनुसार वि.सं. १८२१ मा भीमसेन थापाद्वारा जीर्णाेद्वार गरिएको देखिन्छ । त्यस्तै, वि.सं. १९३५ सालमा रणोद्दीप सिंहबाट सो पोखरीको पर्खाललगायतका संरचनाको मर्मतसम्भार भएको थियो । यो पोखरीको पूर्वमा नव पोखरी, दक्षिणमा भाजु पुख पोखरी, पश्चिममा न्हु पोखरी र उत्तरमा अचा पुख पोखरी छन् ।
केही वर्ष अघिसम्म भक्तपुरस्थित खँचा पुखु (ऐनापोखरी) मा प्रसिद्ध पाँचतले मन्दिर न्यातपोलको प्रतिविम्ब देखिन्थ्यो । घनाबस्तीका कारण न्यातपोलको प्रतिविम्ब अहिले देखिन्न तर यहाँका जीवन्त पोखरीमा भक्तपुरको कला, संस्कृति र जीवनशैलीसँग सिङ्गो शहरको प्रतिविम्ब भेटिन्छ । संस्कृतिविद्का अनुसार यहाँका पोखरीसँग कला र संस्कृतिको प्रगाढ सम्बन्ध छ । मानव जीवनशैलीसँग जोडिएका यी पोखरीहरूमा सिङ्गो भक्तपुर प्रतिविम्बित हुन्छ । भक्तपुर नगरभित्रका टोलबस्तीमा रहेका धेरैजस्तो पोखरीहरूले परापूर्वकालदेखि नै यहाँका स्थानीय बासिन्दाहरूको धर्मकर्म तथा संस्कृतिसित अभिन्न सम्बन्ध गाँस्दै आएको पाइन्छ । लिच्छवीकालदेखि नै भक्तपुर नगरको सौन्दर्य बढाउन पोखरी बनाउन थालिएको इतिहास भेटिने संस्कृतिविद्हरू बताउँछन् । नान्यदेवका पालामा मिथिलासँग भक्तपुरको सम्बन्ध बढेसँगै भक्तपरमा पोखरी बन्ने क्रम वृद्धि भएको पाइन्छ ।
पर्यटनको माध्यमबाट रोजगारी सृजना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै भक्तपुरलगायत देशभरी बसोबास गर्ने मानिशहरूको जीवन स्तरमा सुधार ल्याउन सकिन्छ ।
बिहान उठ्नासाथ स्नान गर्ने, मुख धुने, तर्पण दिने, देवदेवीलाई शुद्ध जल चढाउने जस्ता कार्यमा पोखरी उपयोग हुँदै आएको पाइन्छ । भक्तपुरका विभिन्न जात्रा तथा पर्वमा पोखरी प्रयोजनमा आउने गर्दछन् । सिद्धपोखरीमा इन्द्रजात्राको भोलिपल्ट विशेष मेला लाग्ने गर्दछ । इन्द्रायणीलाई सिद्धपोखरीमा लगेर पूजाआजा गरी पोखरीमा मेला लाग्ने भएकाले यसलाई सिद्धपोखरी मेलाको रूपमा पनि लिइन्छ । संस्कृतिविद्का अनुसार सिद्धपोखरी मेला इन्द्रजात्राकै एक शिलशिला हो । रोपाइँ सकेर पानी पर्न पुग्यो भनेर इन्द्रलाई सन्देश पुर्याउने रूपमा यो इन्द्रायणी मेला हुने गरेको पनि बताइन्छ । सिद्धपोखरी घुम्न प्रत्येक दिन हजारौँ प्रकृतिप्रेमी आउने भएकाले पर्यटन प्रवर्द्धनमा यस पोखरीले ठूलो भूमिका खेलेको छ ।
विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पूँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलत: प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पूँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको शुरूदेखि नै सूचना र प्रविधिको साथ सेवामूलक व्यवसाय र स्वदेशी तथा विदेशी पूँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गरेका छन् । यसका लागि प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र सहयोगी बन्दै आएको पाइन्छ ।
आआफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भूराजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिंदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ ।
समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोशाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेश एवं जन्मभूमिमा नै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भूधरातल, वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयाम दिनुपर्छ । कृषिपछिको मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु आजको आवश्यकता हो ।
नेपालमा तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पूँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट आर्थिक, सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्न सकिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । यसबाट यहाँको मानिसको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्दछ ।
सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र स्वदेशी तथा विदेशी पूँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गरेका छन् । यसका लागि प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र सहयोगी बन्दै आएको पाइन्छ ।
सिद्धपोखरी प्राकृतिक, सांस्कृतिक एवम् धार्मिक पर्यटकीय सम्पदाको केन्द्र भए पनि व्यवस्थित रूपमा आन्तरिक तथा बाह्य पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार अपेक्षित लाभ लिन नसकेको अवस्था छ । भक्तपुरभित्र विभिन्न प्राकृतिक, धार्मिक एवम् ऐतिहासिक पर्यटकीय स्थल हुँदा हुँदै पनि व्यवस्थित रूपमा पर्यटकीय सर्किटको विकास हुन नसकेको भान भएको छ ।
सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण भक्तपुर नगरपालिकालगायत देशका विभिन्न क्षेत्रहरूमा आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस्ता क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण तथा नगर पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवद्र्धन गर्नु आवश्यक छ । त्यस्तै प्राकृतिक तथा ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो ।
हुन त सोह्रौं योजनाले पर्यटन क्षेत्रको विकास र सुदृढीकरणको लागि पर्यटन उपजहरूको विकास गरी प्रचार प्रसार एवम् आतिथ्य व्यवस्थापनमा सुधार, पर्यटन प्रवर्द्धन मार्फत पर्यटक आगमन संख्यामा वृद्धि गरी नेपाल बसाइको अवधि लम्ब्याउने, पर्यटकको दैनिक खर्च रकममा वृद्धि, रोजगारीको अवसरमा वृद्धि गर्र्ने नीति लिएको छ । यसका लागि पर्यटनमा स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गरी पर्यटन क्षेत्रको समग्र विकासको लागि पर्यटकीय पूर्वाधारको विकास, धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण तथा संवद्र्धन गरी थप आकर्षण गन्तव्यको पहिचान र विकास गर्नुपर्छ । प्रमुख पर्यटकीय स्थललाई अन्य पर्यटकीय गन्तव्यसँग जोडी आर्थिक लाभ हुने अवस्थाको सिर्जना गर्नुपर्छ ।
पर्यटनलाई सांस्कृतिक सम्पदासँग जोड्ने, सार्वजनिक, निजी, साझेदारी, भारत चीनलगायत अन्य मुलुकका पर्यटकलाई लक्षित गरी पर्यटन प्रवर्द्धनकारी कार्यक्रम सञ्चालन गर्ने लगायतका काम गर्न जरुरी देखिन्छ । स्थानीय उत्पादनलाई पर्यटकीय उपजको रूपमा प्रवर्द्धन गरी अग्र र पृष्ठ सम्बन्ध विकास गर्नु आवश्यक छ । स्थानीय तहको समन्वयमा ग्रामीण पर्यटन विकास, मुलुकभरका पर्यटकीय सम्पदा, स्थानीय समुदायको सक्रियता र सहभागीताको सम्मान गर्दै पर्यटनबाट भएको आम्दानीको यथोचित सुव्यवस्था, बाँडफाँट तथा वितरण गर्नुपर्छ । पर्यटन उद्यममा पिछडिएका समुदाय, महिला, दलित तथा आदिवासी जनजातिको संलग्नतालाई प्रोत्साहन तथा क्षमता विकास गर्ने कार्यक्रम पनि रहेको पाइन्छ ।
अत: प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख पर्यटकीय सम्भावना बोकेका देशहरूमध्ये नेपाल पनि पर्दछ । सिद्धपोखरी र देशभित्रका अन्य त्यस्तै नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्त्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गरी सोह्रौँ योजनाको लक्ष्य हासिल गर्न आवश्यक छ । पर्यटनको माध्यमबाट रोजगारी सृजना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै भक्तपुरलगायत देशभरी बसोबास गर्ने मानिशहरूको जीवन स्तरमा सुधार ल्याउन सकिन्छ ।
लेखक नेपालमा गुणस्तरीय जीवनसम्बन्धी विषयमा विद्यावारिधि हुन् ।